काठमाडौं । राजश्व अनुसन्धान विभागले २०८१ साउन यता ७४ करोड १९ लाख राजश्व सरकारी खातामा दाखिला गरेको दावी गरेको छ । भन्सार जाँचपासमा सेटि¨ मिलाएर अर्बौंको तस्करी, चोरी पैठारी गर्दा व्यापक रुपमा राजश्व चुहावट हुने गरेको सुरक्षा निकायको दावी रहेको छ । चोरी पैठारीको आशंकामा विभागले अनुसन्धान गरी जरिवाना र धरौटीवापत उक्त रकम सरकारी खातामा जम्मा गर्न सफल भएको स्रोतले जानकारी दिएको छ । विद्युतीय चुरोट भेपको २० करोड धरौटी कटाउँदा यो अवधिमा विभागले कुल रु. ५४ करोड राजश्व दाखिला गरेको विभाग स्रोत बताउँछ ।
यसअघि पूर्व अर्थसचिव रामेश्वर खनालले विभाग स्थापनाको औचित्य पुष्टि हुन नसकेको भन्दै खारेज गर्नुपर्ने सुझाव सरकारलाई दिएका थिए । ७४ सालमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अर्थ मन्त्रालयमातहत रहेको विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगत राखेका थिए । त्यसबखत महानिर्देशक भएर काम गरेका सहसचिव दीर्घराज मैनालीले २९ महिना बिताएका थिए । त्यसपछि खटिएका सहसचिवहरुले प्रधानमन्त्री कार्यालयको स्पिरिटअनुसार काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । अचम्मको कुरा चाहिं राजश्व अनुसन्धान विभागले राजश्व छलीमा जाँगर नचलाउने गरेको गुनासो सुनिन्छ ।
बेकामे जस्तो बनेको राजश्व अनुसन्धान विभागमा सरुवा हुने महानिर्देशक भएकाहरुले राजश्व अनुसन्धान सम्बन्धमा अनुसन्धान गर्ने जाँगर चलाएर काम पनि गरेका छैनन् । राजश्व अनुसन्धान चुहावटको मुख्य जिम्मेवारी पाएको यो विभागले ठुलो परिमाणमा राजश्व मार्ने ठुला व्यवसायीहरुको कारवारमा आफ्नो नजर समेत पु¥याएरको देख्नसुन्न पाइँदैन ।
सरकार परिवर्तन भएसँगै नयाँ महानिर्देशक खटाएर आफूअनुकूल प्रयोग गर्दा विभागको शाखसमेत गिर्न पुगेको छ । २०८१ साउनमा प्रधानमन्त्री कार्यालयले सहसचिव चण्डीप्रसाद घिमिरेलाई विभागको नेतृत्वमा खटाएको थियो ।
त्यसयता विभागबाट सम्पादित काम कारवाहीप्रति खासै गुनासो बाहिर आएको छैन । प्रधानमन्त्री कार्यालय, मुख्यसचिव, विभाग हेर्ने जिम्मेवारी पाएका महाशाखा प्रमुख एवम् सचिवलेसमेत विभागको नेतृत्वलाई काम गर्न दवाव बाधा नपु¥याएको स्रोतले दावी गरेको छ ।
विभागले स्वतन्त्र ढंगले राजश्व छली, चुहावटमा गंभीर ढंगले अनुसन्धान गरेको कारण नै यतिवेला विभागले आफ्नो औचित्य सावित गर्न सफल भएको स्रोतले दावी गरेको छ । यो अवधिमा विभागले रु. २ अर्व ६ करोड विगो असुलीको लागि २९ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । विदेशी बिनिमय सम्वन्धी ५९ वटा मुद्दा विभिन्न जिल्लामा दर्ता गरिसकेको बताइएको छ । जुन जिल्लामा सो रकम बरामद गरिएको हो तीनै जिल्लामा आरोप पत्र दायर गर्नुपर्ने कानूनी प्रावधान रहेको विभाग स्रोतले बताएको छ ।
राजश्व अनुसन्धान विभागमा घाम झुल्केपछि...!
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ०८१ चैत ४ गते टोखा नगरपालिका वडा नम्वर २ झोरबाट अवैध रुपमा अमेरिकी डलर र युरोसहित ट्रकचालक पक्राउ गरेको थियो । उक्त डलर र युरो नेपाली २५ करोड भन्दा बढी हुने बताइन्छ । सो रकमका मालिक को हुन भन्ने पहिचान गर्न विभागको नेतृत्व सफल भएको छ । १५ दिनको अनुसन्धानपछि सो रकमका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल रहेको विभाग स्रोतले चैत २० गते बुधवार जानकारी दिएको हो ।
२०८१ चैत ४ गते सो रकम र ट्रक चालकसहित पक्राउ गरेर प्रहरीले विभागमा बुझाएको थियो । प्रहरीले विदेशी मुद्रासहित अनुसन्धानका लागि विभागको जिम्मा लगाएसँगै अनुसन्धान अगाडि बढाइएको थियो । यो अवधिमा विभागको नेतृत्वले गंभीर ढंगले अनुसन्धान गरी सो रकमका मालिक भने पौडेल नै रहेको खुलासा गरेको छ । विभागको टोलीले करिब १५ दिन गंभीर ढंगले अनुसन्धान गर्नुपरेको दावी गरेको छ ।
त्यसपछि उक्त रकमका मालिक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्वर ४ का ३५ वर्षीय स्थायी बासिन्दा पौडेल रहेको जानकारी फेला परेको दावी विभागले गरेको छ । प्रहरीले अन्सन्धानका लागि चालकसहित ट्रक र विदेशी मुद्रा विभागसमक्ष बुझाएसँगै सो रकम कसको थियो भन्ने पहिचान गर्नुपर्ने चुनौती थपिएको थियो । लगत्तै विभागको टोलीले भिडियो फुटेज, चालकको मोवाइलमा गरिएको कुराकानीका आधारमा अनुसन्धान अगाडि बढाएको बताएको छ । यस घटनालाई राजश्व अनुसन्धान विभागमा बल्ल घाम झुल्केछ भनेर ब्यंग्य पनि गरिदैछ ।
मालिक पहिचान गर्न विभागको नेतृत्वसक्षम भएको महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिएका छन् । यति ठूलो मात्रामा विदेशी रकम पक्राउ परेसँगै संघीय संसदमासमेत सांसदहरुले प्रश्न उठाएका थिए । त्यसकारण पनि सो रकमको मालिक को थिए भन्ने कुरा पत्ता लगाउनका लागि विभागका लागि ठूलो चुनौती रहेको महानिर्देक घिमिरेले बताए ।
सो रकमका मालिक टोखा नगरपालिका वडा नम्वर १० महादेवटार हाइटस्थित बसोबास गर्दै आएको पाइएको छ । सो घर भने पौडेलको आमाको नाममा रहेको खुलेको छ । पौडेलको योजनामा नै यो रकम ट्रक चालक कुसाङ लामामार्फत चीनतर्फ लैजान लागेको अनुसन्धानबाट खुलेको विभागको भनाई रहेको छ । त्यही कारण पौडेलले आफ्नै पालिकाका चालक लामालाई भरियाको रूपमा प्रयोग गरेको पाइएको छ ।
भरियाको रूपमा प्रयोग भएका लामाको घर पनि सोही जिल्लाको भोटेकोशी गाउँपालिका १ रहेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ । ४३ वर्षीय फुच्चे भनिने लामा भने माथि उल्लेखित रकमहित २०८१ चैत ४ गते नै पक्राउ परेका थिए । चालक लामाको आपराधिक पृष्ठभूमिबारे पौडेल राम्रोसँग जानकार रहेको भन्दै सोही कारण जिल्लावासी उनलाई डलर र युरो रकमसहित चीन तस्करी गरेर सुन आयात गर्न खोजेको आंशका विभागका अधिकारीहरुले गरेका छन् ।
ना.७ ख १६५२ नम्बरको कन्टेनरसहित पक्राउ गरेर लामालाई प्रहरीले विभागको जिम्मा लगाएको थियो । विभागले सीसीटीभी फुटेज, कल डिटेल तथा एनालाइसिस, डिजिटल डिभाइसको अध्ययनका आधारमा मालिक पहिचान गर्न सफल भएको जनाएको छ । साथै, प्राप्त सूचनाका आधारमा सो रकम पौडेलकै रहेको निष्कर्ष विभागको रहेको छ । पौडेलकै संलग्नतामा पाँच, दुई र १ सय दरको जम्मा १३ लाख ७५ हजार १ सय ५० युरो ट्रकमा फेला परेको थियो ।
यसैगरी, एकसय, पचास दरका ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलर अर्थात २५ करोड १९ लाख २४ हजार ९ सय ५० नेपाली रुपैयाँ ट्रकमा लोड भएको अवस्थामा फेला परेको थियो । प्रहरीले २०८१ चैत ४ गते ट्रकचालक र सो रकम पक्राउ गरेसँगै मालिक पौडेल भने फरार भएको बताइन्छ ।
यति ठूलो रकमको मालिक पौडेल नै भएको पुष्टि विगतमा उनले गरेको क्रियाकलाबाट पहिचान भएको बिभागस्रोत बताउँछ । साथै, पक्राउ परेका चालक लामामाथिको अनुसन्धान र सीसीटीभी फुटेजबाट प्रमाणित भएको समाचार स्रोतले दावी गरेको छ । रकम पौडेलको नै भएको पहिचान भएसँगै पक्राउको लागि उनलाई अदालतबाट पुर्जीसमेत लिइसकेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । (साँघु साप्ताहिक, २०८१ चैत २५)
प्रतिकृया दिनुहोस