• सोमबार-चैत-२५-२०८१

साँघु सम्पादकीय : थाइल्याण्डसँग पर्यटन र व्यापारमा सहकार्य

 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ चैत १९ गतेदेखि २३ गते(अप्रिल १ देखि ५, २०२५ सम्म) थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान शिनावात्राको निमन्त्रणामा गरेको थाइल्याण्डको पहिलो औपचारिक भ्रमण भव्य रूपमा सम्पन्न भएको छ ।  थाइल्याण्डका राष्ट्र प्रमुख राजा, राजपरिवारसँग पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाट भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक गर्ने नेपालको  पहिलो सरकार प्रमुखको इतिहास कायम गरेका छन् । यस औपचारिक अनि ऐतिहासिक भ्रमणका क्रममा नेपाल र थाइल्याण्डबीच पर्यटन, संस्कृति, कृषि, व्यापार, लगानी, स्वास्थ्य सेवा, र सेवा उद्योगलगायतका क्षेत्रमा सहयोग विस्तार गर्न आठवटा समझदारीपत्रहरूमा हस्ताक्षर भएका छन् । 


२०२५ अप्रिल ४ अर्थात २०८१ चैत २२ गते शुक्रबार थाइल्याण्डमा छैठौं बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बे अफ बंगाल इनिसीएटिभ फर मल्टिसेक्टोरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेसन–बिमस्टेक) शिखर सम्मेलनको आयोजना भएको थियो । सो शिखर सम्मेलनमा सहभागी हुन बिमस्टेक राष्ट्रका सरकार प्रमुख वा राष्ट्र प्रमुखहरुले थाइल्याण्डको भ्रमण गरेका छन् । बिमस्टेकको छैठौं शिखर सम्मेलनमा सहभागी हुने क्रममा नै प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको पहिलो औपचारिक भ्रमण समेत भएको छ ।


यसअघि, १२ मे २०१७ मा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न थाइल्याण्डको भ्रमण भएको थियो । तर, त्यसबेलाको भ्रमण शोक व्यक्त गर्ने उद्देश्यले मात्र भएको हुँदा सो भ्रमणलाई पहिलो औपचारिक वा राजकीय भ्रमणको रूपमा हेरिदैन । त्यसैले प्रधानमन्त्री ओलीको अहिले यही २०२५ अप्रिल १ देखि ५ सम्म अर्थात २०८१ चैत १९ देखि २३ सम्म भएको थाइल्याण्ड भ्रमणलाई नै नेपालका सरकार प्रमुख वा राष्ट्रप्रमुखबाट थाइल्याण्डमा भएको पहिलो औपचारिक भ्रमणको रुपमा लिनुपर्ने हुन आउँछ ।

 


भ्रमणको अवसरमा नेपाल  र थाइल्याण्डको बीचमा सरकारी तवरबाट संस्कृति सम्बन्धी समझदारीपत्र  र पर्यटन सहयोग सम्बन्धी सम्झौतापत्र समेतका दुइवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । गैह्रसरकारी क्षेत्रबीच हस्ताक्षर भएका ६ वटा समझदारीपत्रमा–नेपाल उद्योग वाणिज्य महसंघ (एफएनसीसीआई) र थाइल्याण्डको बोर्ड अफ ट्रयाड्को बीचमा एउटा, नेपाल उद्योग परिसंघ (सीएनआइ) र थाई उद्योग महासंघ(एफटिआई)को बीचमा एउटा र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र टुरिज्म काउन्सिल अफ थाइल्याण्डको बीचमा एउटा समझदारीपत्र उल्लेखनीय छन् ।

 

 संयुक्त पत्रकार सम्मेलनमा थाइ प्रधानमन्त्री सिनावात्राबाट भविश्यमा थाइल्याण्ड र नेपालको बीचमा उर्जा, पर्यटन र व्यापार क्षेत्रमा बलियो सहकार्य हुने विश्वास समेत प्रकट भएको थियो । नेपाल र थाइल्याण्डको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षमा नेपालका प्रधानमन्त्रीबाट भएको यो पहिलो औपचारिक भ्रमणपछि भएको पत्रकार सम्मेलनमा थाइल्याण्डबाट लुम्बिनीमा सिधा हवाई उडान प्रारम्भ गर्न थाई सरकार तयार रहेको अभिव्यक्ति थाई प्रधान मन्त्रीबाट आएको कुरालाई पनि महत्वपूर्ण अभिव्यक्तिका रुपमा लिनुपर्छ । भ्रमणपछि नेपालको उर्जा, पर्यटन, व्यापार तथा व्यावसायिक र सांस्कृतिक क्षेत्रमा थाई लगानी आकर्षित हुन सक्यो भने त्यसबाट नेपालको विकासमा सार्थक योगफान तथा टेवा पुग्न सक्छ ।


दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ बर्षपछि भएको नेपालका प्रधान मन्त्रीको पहिलो औपचारिक भ्रमणमा दुई मुलुकबीच भएको भेटघाट र समझदारीलाई निश्चय नै उपलब्धिपूर्ण मान्न सकिन्छ । (साँघु साप्ताहिक, २०८१ चैत २५)

प्रतिकृया दिनुहोस