काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थाइल्याण्डमा भएको भेटले नेपाल भारत सम्बन्धमा आइसब्रेक गरेको विश्लेषण भइरहेको छ । करिब ४५ मिनेट लामो भेटघाटले विगतमा तिक्तता मेटाएर नयाँ ढंगले अघि जानुपर्ने संकेत गरेका छन् । तर, स्रोतहरुको भनाइमा कूटनीतिक र राजनीतिक सम्बन्ध विस्तारमा भने भारतीय प्रधानमन्त्री मोदीले खासै चासो दिएका छैनन् । त्यसैले, तत्काल प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने संभावना भने कम रहेको छ । अन्य सबैखाले सम्बन्धलाई कायम राख्ने, तर राजनीतिक सम्बन्धको हकमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउने मूडमा भने भारत नभएको कुरा भारतीय प्रधानमन्त्री मोदीले निम्ता नदिएबाट पनि स्पष्ट हुन्छ । यद्यपि, एमाले स्रोतहरुले २०८२ वैशाखमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने संभावना रहेको दावी गरिरहेका छन् ।
एमाले स्रोतको भनाइमा ओलीसँग मोदीले सिधा सम्पर्क गर्न चाहेका छन् । ओलीसँग सिधा डील गरेर ठूलो परियोजना हात पार्ने रणनीतिमा भारत रहेको चर्चा पनि काठमाडौंमा भइरहेको छ । परराष्टमन्त्री आरजु राणामार्फत होइन, सिधा ओली र मोदीवीच संवाद हुने अवस्था आएमा राजनीतिक परिवर्तनहरुमा पनि वातावरण सहज हुने बुझाइमा भारत रहेको विश्लेषण भइरहेको छ । एमालेनिकट स्रोतहरु पनि मध्यस्थर्ता आरजुबाट होइन सिधा संवादमा ओलीसँग मोदीले व्यवहार गर्न चाहेका छन् । त्यहीकारण थाइल्याण्डमा ओलीसँग एकल वार्ता लामो समय गरेको पनि बताइन्छ ।
स्रोतहरुका अनुसार, राजनीतिक सम्बन्ध सुधार भएको संकेत दिनका लागि २०८२ वैशाखभित्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन निम्तो आउनुपर्ने लाइनमा एमाले रहेको छ । त्यसमा भारतले ठोस जवाफ भने नदिएको स्रोतको दावी छ । तर, कांग्रेस र भारतीय एउटा पक्ष भने ओलीको भ्रमण गराउन नहुने लाइनमा रहेको छ । उनीहरु ओली र मोदीको सम्बन्ध सुधार नहोस् भन्ने चाहन्छन् । ओलीसँग दूरी राखेर नै राजनीतिक एजेण्डा अर्थात हिन्दु धर्मको मुद्दा काठमाडौंमा स्थापित गराउन सकिन्छ भन्ने बुुझाइमा पनि देखिएका छन् ।
यो समूहले पनि ओलीलाई भ्रमण गर्न रोकेर दबाब दिन खोजेको अर्थमा हेरिएको छ । यस्तो समूह नेपाल र भारत दुवैतिर रहेको पनि बताइन्छ । त्यसैले पनि पनि मोदीले ओलीलाई काठमाडौंमा राजतन्त्रवादी आन्दोलन भएको वहानामा भ्रमणका लागि नदिने यो समूहको तर्क रहेको छ । (साँघु साप्ताहिक, २०८१ चैत २५)
प्रतिकृया दिनुहोस