कञ्चनपुर, १५ माघ : कृषिमा आत्मनिर्भर बनाउन कञ्चनपुरको बेलौरी नगरपालिकाले दश वर्षे कृषि गुरुयोजना निर्माणको कार्य अगाडि बढाएको छ ।
कृषि क्षेत्रको समग्र पूर्वाधारको अवस्था, उपलब्ध स्रोत जमीन, सिँचाइ, जलवायु, साधन र मानवशक्तिको सदुपयोग गरी निश्चित विकासको लक्ष्य हासिल गर्न कृषि गुरुयोजना बनाउन लागिएको हो । नगरपालिकाले आफ्नो क्षेत्रको कृषि, पशुपालन, कृषि उत्पादन व्यवस्थापन तथा समग्र कृषि क्षेत्रको वैज्ञानिक विकासका लागि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने प्रदत्त अधिकार अनुसार प्रतिस्पर्धात्मक व्यावसायिक कृषि प्रणालीको विकासबाट रोजगारी अभिवृद्धि गर्न गुरुयोजना बनाउन लागिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए ।
“खाद्य तथा पोषण सुरक्षा, दिगो वातावरणीय संरक्षण, गरीबी न्यूनीकरण, दिगो उपभोग तथा उत्पादन प्रणाली सुनिश्चित गर्ने, जलवायु परिवर्तन र यसका प्रभावसँग जुध्न तत्काल कार्य अघि बढाउन गुरुयोजनाअनुरुप कार्य अगाडि बढाउँछौँ”, उनले भने । नगरपालिकाले बाली फस्टाउन सक्ने क्षेत्रको पहिचान गरी माटो परीक्षणको कार्य अगाडि बढाएको छ ।
गुरुयोजनाअनुरुप सबै वडामा कृषिसम्बन्धी भेला गरी जलवायु, सम्भाव्य बाली, कृषि आधुनिकीकरण, बजार, स्थानीय कृषि प्रजातिको संरक्षण र दक्ष तथा अनुभवी जनशक्तिको व्यवस्थाको कार्य अगाडि बढाइने कृषि विकास शाखाका प्रमुख रणबहादुर मल्लले जानकारी दिए ।
गोष्ठी, वडा भेला, लक्षित समूह छलफल आदि गरी व्यापक जनसहभागिता सुनिश्चित गरी कृषि विकास गुरुयोजनासम्बन्धी विश्लेषण गरी सोका आधारमा विज्ञको प्राविधिक सहयोग लिई योजना मस्यौदा तयार गरिने उनले बताए ।
प्राविधिकद्वारा प्रत्येक वडाका खेतीयोग्य क्षेत्रबाट माटो परीक्षणका लागि नमूना सङ्कलन गर्ने, कृषि पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, कृषि गुरुयोजना मस्यौदा तयार गर्ने, आवश्यक परिमार्जन तथा सुझाव सङ्कलन गर्ने, कृषि गुरुयोजनालाई अनुमोदन गर्ने लगायतका कार्य अघि सारिएको छ । (रासस)



