🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जसलाई अन्तर्राष्ट्रिय महिला दिवसले छोएन…

तानसेन (पाल्पा), २५ फागुन : बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उहाँको बाध्यता हो ।

झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा, बालुवा र माटोको काममा नै उहाँको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उहाँले बताउनुभयो । 

तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा उठाउँदै गरेको अवस्थामा भेटिनुभएकी कुमालले भन्नुभयो, “महिला दिवस हामीजस्ता दुःखीका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात । यो त राम्रो कमाउने र रमाउनेका लागि हो ।”

यस्तै डुम्रेकी रमिता विकको पनि उस्तै समस्या छ । तानसेनमा तरकारी र फलफूल बेचेरै उहाँले दैनिकी गुजारिरहनुभएको छ । “बिहानै गाउँमा गई तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु”, फागुन २४ गते शनिबार नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी नै हो ।”

तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आउनुभएकी घोरबण्डाकी ४९ वर्षीया मीना कुमाल सधैँजस्तै शनिबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किनुभयो । कुमाल तानसेनका किराना पसलमा भारी बोक्ने काम गर्नुहुन्छ । “भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ”, कुमालले भन्नुभयो ।

यस्तै, तानसेन अर्चेलेकी सुमित्रा पुन पनि तानसेनमै ज्याला मजदुरी गर्दै आउनुभएको छ । कैलाशनगरमा बारी खन्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले अन्तरराष्ट्रिय महिला दिवसबारे सुन्नुभएका छैन ।

“हामीलाई त कामबारे मात्रै थाहा छ”, उहाँले भन्नुभयो । महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आउनुभएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउनुहुन्छ ।

दिवसका बारेमा आफूलाई पूर्ण रूपमा जानकारी नभएको भन्दै उहाँ भन्नुहुन्छ, “महिला दिवसमा सबैले मीठो मसिना खाने र रमाइलो गरेर मनाउँछन् होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु ? एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।”

जिल्लामा सयौँ महिला मजदुर दैनिक मजदुरी गर्दै आएका छन् । शनिबार देशैभर विभिन्न कार्यक्रम गरी एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा जिल्लाका अधिकांश मजदूरी गर्ने महिलालाई भने यसले छोएन ।  श्रमिक महिला सधैँजस्तै भारी बोकिरहेका छन् । एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ ।
–––