• मंगलबार-फाल्गुण-१३-२०८१

फ्लड लाइट जडान ठेक्कामा १५ करोडको चलखेल  !

 

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लड लाइट जडान तथा प्यारापिट निर्माण गर्न लागिएको छ । सो कार्यका लागि शहरी विकास मन्त्रालयमातहको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरणले टेण्डर आव्हान गरेको थियो । ०८१ फागुन १ गते सार्वजनिक बोलपत्रको सम्झौता गर्दा निर्माणकर्तासँग मिलेमतोमा कर्मचारीहरुले करोडौं रकमको खेलोफड्को साथै चलखेल गरेको आरोप छ । कार्यालयका उच्च तहका कर्मचारीको मिलेमतोमा आफू निकट निर्माण कम्पनीलाई ठेक्का स्वीकृत गरेर अनियमितता गरिएको स्रोतले जानकारी दिएको छ ।


कार्यालयले २०८१ पुस ५ गते दुई वटा अलग अलग टेण्डर सूचना आव्हान गरेको थियो । फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चर कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का हात पारेको बताइन्छ । प्यारापिटका लागि भने बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगालले बिट गरेको ४३ करोड ७७ लाख ३० हजार १३ रूपैयाँको बोलपत्र स्वीकृत भएको कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८१ कार्तिकमा सरकारले सय दिन पूरा गरेको अवसरमा तीन सय दिनभित्र त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्नका निर्देशन दिएका थिए ।


प्रधानमन्त्री ओलीको सोही निर्देशन बमोजिम युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय खेलकुद परिषदले चार पटक २८ करोड लागतमा भारतीय र चिनियाँ गुणस्तरको फ्लड लाइट जडान गर्न ठेक्का लगाउन खोजेको थियो । तरपनि विवादका कारण ठेक्का लगाउन सकेको थिएन । त्यसपछि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार, तत्कालीन शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, प्राबिधिक सहसचिव पदम प्रसाद मैनाली र कार्यालयका  सिडिई गणेश कर्माचार्य, गणेश पाण्डे र कार्यालय प्रमुख सुई चक्रवर्ती कण्ठको मिलेमतोमा अगाडि बढाइएको थियो ।


कार्यालयको योजना मुताबिक युवा तथा खेलकुद मन्त्रालयबाट बजेट शहरी विकास मन्त्रालयमा तानेर व्यवस्थापन कार्यालयमार्फत ठेक्का लगाई क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापिट निर्माण गर्नेगरी टेण्डर आव्हान गरिएको थियो । सुरूमा टेण्डर सूचना निकाल्दा युरोपियन÷बेलायत÷अमेरिकी स्ट्यान्डर्डको फ्लड लाइट जडान गर्नेगरी ६२ करोड रूपैयाँ लागत स्टमेट तयार गरिएको स्रोत बताउँछ । स्रोत भन्छ ‘सोही बजेट अनुसारको स्पेक तयारी गरी टेण्डर पनि आव्हान गरियो । टेण्डर स्वीकृत भएको तीन महिना अर्थात् आगामी २०८२ बैशाखभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार इटाली वा जर्मनमा बनेका फ्लड लाइटको ढुवानी गर्नका लागि एयर कार्गाेको ढुवानी स्टिमेट गरेर ६२ करोड लागत तयार गरिएको थियो ।


कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार १० वटा कम्पनीले आवश्यकत कागजातसहित टेण्डर बिट गरेका थिए । जसमा पाँच वटा कम्पनी पूर्व योग्यतामा छनोट भएका थिए । कम्पनीको पूर्व योग्यता छनोट भएपछि टेण्डर खोल्नु एक साता अगाडि कार्यालयको नेतृत्वले भारतीय र चिनियाँ निर्माण र गुणस्तरका फ्लड लाइट जडान गर्दा पनि हुने भनेर युरोपियन, बेलायती र अमेरिकी गुणस्तर घटाइएको स्रोत बताउँछ । त्यसपछि नै सिनियर डिभिजन ईन्जिनीयर गणेश कर्माचार्य र प्रमुख कण्ठले सेटि¨ र मिलेमतोमा आफूनिकट विशन–ईश्वरी ज्वाइन्ट भेन्चर ललितपुरसँग ठेक्का संझौता गरेको बुझिएको छ ।


यसरी सुरूमा युरोपियन, बेलायती र अमेरिकी गुणस्तरको फ्लड लाइट जडानको स्टिमेट लागत तयार गरेर अन्तिममा भारतीय र चिनियाँ गुणस्तरको जडान गर्दा पनि हुनेगरी स्टिमेट किन र कसको स्वार्थमा संशोधन गरिएको भन्ने प्रश्नले यतिखेर चर्चा पाएको छ । कार्यालयका अर्का सिडिई गणेश पाण्डे, कर्माचार्य, कार्यालय प्रमुख कण्ठ, मन्त्रालयका सुई मैनाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले १५ देखि १७ करोड कमिशन हात पार्नका यस्तो खेलोफड्को गरेको दावी स्रोतले गरेको छ ।


राष्ट्रिय खेलकुद परिषदले भारतीय र चिनियाँ गुणस्तरको फ्लड लाइट जडान गर्दा रु. २८ करोडको स्टिमेट लागत तयार पारेको र निर्माण कम्पनीहरूले रु. २५ करोडमा बनाउने गरी टेण्डर बिट गरेका थिए । अहिले व्यवस्थापन कार्यालयका केही कमाउ धन्दामा रमाउँदै आएका कर्मचारीहरूले त्यही स्टिमेट लागतलाई ६२ करोड पु¥याएर अनियमितामा रमाउन खोजेको प्रष्ट देखिएको छ ।


नयाँ विशन ईश्वरी ज्वाइन्ट भेन्चर ललितपुरसंग ४२ करोड  १९ लाख ९१ हजार ६ सय ५३ रूपैयाँमा संझौता गरेका छन् । जबकि, भारतीय र चिनियाँ गुणस्तरको फ्लड लाइट २५ करोडमै जडान गर्न सकिन्छ । सिडिई गणेश कर्मचार्यले २५ करोडमा भारतीय र चिनियाँ स्ट्यान्डर्डको फ्लड लाइट जडान सम्पन्न गर्ने र त्योभन्दा माथिको १७ करोड १९ लाख ९१ हजार ६ सय ५३ रूपैयाँमा १३ प्रतिशत भ्याट रकम कटाएर कार्यालयलाई कमिशन बुझाउने शर्मामा सेटिङमा ठेक्का संझौता गरेको जानकार स्रोतले बताएको छ ।


कीर्तिपुर क्रिकेट मैदानको फ्लड लाइट जडान र प्यारापिट निर्माण कार्य फत्ते नभएसम्म सिडिई पाण्डे, कर्माचार्य, कार्यालय प्रमुख कण्ठलाई अन्य कुनै पनि निकयमा सरूवा नगर्ने शर्त रहेको बताइन्छ । कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापेट निर्माणको बजेट युवा तथा खेलकुद मन्त्रालयलाई शहरी विकास मन्त्रालयमार्फत पत्र लेखेर नै माग गरिएको स्रोतले दावी गरेको छ । खेलकुदबाट बजेट स्थानान्तरण गराउने काममा मन्त्रालयका सुई मैनाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालमार्फत जोडबल लगाएको स्रोतले दावी गरेको छ । यसअघि क्रिकेट मैदान त्रिभुवन विश्वविद्यालय मातहत नै रहेको थियो ।


तर, त्रिभुवन विश्वविद्यालयलाई बजेट नदिएर यसअघि पनि कमिशन खान राष्ट्रिय खेलकुद परिषद मार्फत निर्माण गर्न खोजिएको थियो । चार पटक टेण्डर लागेर पनि काम भने अगाडि बढ्न सकेको थिएन । कानूनी अड्चनकारण काम नहुँदा सुई मैनालीको पहलमा सरकारले नै शहरी मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको छ । नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ मा चार वर्षको मान्यता पाएपछि सरकारको ध्यान त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्नैपर्ने निश्कर्षमा पुगेको थियो । (साँघु साप्ताहिक, २०८१ फागुन १४)
 

प्रतिकृया दिनुहोस