काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई इमानदार र भद्रछविका नेता भनिन्छ । तर, उनले असक्षम सचिव गोकर्णमणि दुवाडीलाई मन्त्रालयमा भित्र्याएर काखी च्याप्दा भने गृहमन्त्री लेखक कार्यकुशलतामा असफल बन्दैछन् । विवादको कारण बन्न पुगेको छ, गृह मन्त्रालयको बेथिति । यस्तो गुनासो गृहकै कर्मचारीहरुले गरेका छन् ।
यतिखेर गृह मन्त्रालयमा मन्त्रीका प्रिय सचिव सचिव दुवाडीले एक दर्जन उपसचिव र सहसचिवहरूलाई जिम्मेवारीविहीन बनाएर महिनौदेखि बरण्डामा थन्काइएको गुनासोे पीडितहरुले गरेका छन् । मन्त्रालयले समयमा उनीहरुलाई जिम्मेवारीमा नखटाउँदा केही जिल्लामा शाखा अधिकृतहरूले निमित्त प्रमुख जिल्ला अधिकारीे भएर प्रशासन सञ्चालन गर्नुपर्ने बाध्यता आइलागेकोे अवस्था छ ।
केही दिन अगाडिसम्म मकवानपुर, ओखलढुंगा, खोटाङ र तेह्रथुम जिल्लाहरु लामो समय सिडिओविहीन हुन पुगेका थिए । तर, मन्त्रालयले नवलपरासी पश्चिम जिल्लाकी प्रजिअ स्कीम श्रेष्ठलाई आफ्नै माइती जिल्ला मकवानपुरमा सरूवा गरेको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिवको जिम्मेवारी उनले निर्वाह गरिसकेकी छिन ।
त्यसपछि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख हुँदै गृह मन्त्रालयमा प्रवेश गरेकी थिइन । उक्त मन्त्रालयमा प्रवेश गरेलगत्तै उनले विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी प्राप्त गरेकी थिइन । त्यसपछि भने उनलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रजिअमा खटाइएको थियो ।
गृह मन्त्रालयले अघिल्लो हप्ता मात्र उनलाई मकवानपुरमा खटाएर नवलपरासीमा भने रौतहटको प्रजिअ रहेका हिरालाल रेग्मीलाई सरूवा गरेको छ । यी दुई जिल्लामा नयाँ प्रजिअलाई खटाएपनि रौतहट, ओखलढुंगा र खोटाङ भने अझै प्रजिअविहीन रहेको बताइएको छ । मकवानपुरका तत्कालीन प्रजिअ रहेका सहसचिव तीर्थराज चिलवालको २०८१ माघ १८ अर्थ मन्त्रालयमा सरूवा भएको थियो ।
ओखलढुंगा जिल्लामा कार्यरत सिडिओ डा. नारायण ढकाल उमेर हदका कारण ०८१ माघ १८ गते अवकाशमा गइसकेका छन् । खोटाङमा सिडिओ रहेका शिव कुमार कार्की पनि २०८१ माघ १६ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकास गएका छन् । त्यसयता यी तीन जिल्ला प्रजिअविहीन रहेका छन् ।
असक्ष गृह सचिवकै कारण महिनौसम्म गृह मन्त्रालयले यी जिल्लाहरुमा नयाँ प्रजिअलाई खटाउन सकिरहेको छैन । प्रजिअ जस्तो महत्वपूर्ण पद निमित्तकै भरमा संचालन भइरहेका छन् ।
मन्त्रालयमा विगत पाँच महिनादेखि सहसचिव सूर्य सेढाई र शशीधर घिमिरे भने जिम्मेवारी नपाएर हाजिर गर्दै बरण्डामा बसेर सित्तैमा तलव पड्काइ रहेका छन् ।
विगत तीन सातादेखि सहसचिव बन्धु बास्तोला र प्रेम प्रसाद भट्टराईको पनि त्यस्तै हालत रहेको छ । विगत तीनसातादेखि सहसचिव नारायण रिसाल पनि जिम्मेवारविहीन अवस्थामा रहेका छन् ।
मन्त्रालयमा भित्रिएका र जिम्मेवारीविहीन रहेका सहसचिवहरुलाई सचिव दुवाडी र मन्त्री लेखकले किन व्यवस्थापन गर्न सकिरहेका छैनन् भन्ने प्रश्न उठ्ने गरेको छ । रमेश लेखकको नेतृत्वको गृह मन्त्रालयको प्रशासन चुस्तदुरुस्त हुनुपर्ने र कार्यसम्पादन पनि उत्कृष्ट हुनु पर्नेमा सिडिओको पदपूर्ति समेत लामो समय नगरेर यस्तो ‘लुते’ प्रशासनबाट ७७ जिल्लाका सेवाग्राहीले कस्तो सेवा पाइरहेका होलान् ?
अझ विभिन्न मन्त्रालय र निकायबाट २०८१ फागुन ४ गते गृहमा भित्रिएका नौ जना उपसचिवहरूले पनि कुर्सी पाएका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट उपसचिव राजेन्द्रप्रसाद कँडेल, निर्वाचन आयोगबाट यज्ञबहादुर बुढा र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट सुरेश सुनार गृहमा भित्रिएका छन् ।
कर्णाली प्रदेशबाट डिल बहादुर कार्की, जिल्ला समन्वय समिति बाँकेबाट भविश्वर घिमिरे, कोशी प्रदेशबाट सञ्जय कुमार पोखरेल र कर्णाली प्रदेशको उद्योग मन्त्रालयबाट उपसचिव पदमलाल लामिछाने मन्त्रालयमा सरुवा भएका छन् ।
त्यस्तै, गण्डकी प्रदेशबाट ऋषिराम सुवेदी र गोरखाको पालुङ्टार नगरपालिकाबाट उपसचिव कमान सिंह थापा मगर पनि सरूवा भएर गृहमा भित्रिएका छन् । उनीहरुलाई मन्त्रालयले मातहतका निकाय, विभाग, प्रजिअ र इलाका प्रशासन कार्यालयमा खटाउन सकिरहेको छैन । तर, प्रजिअविहीन रहेका जिल्लाहरुमा भने अधिकृतस्तरका कर्मचारी निमित्तको जिम्मेवारीसहित दैनिक प्रशासन संचालन गर्दै आएका छन् । यस्ता विषयमा मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजाल र सचिव दुवाडीको नजर जान सकेको देखिंदैन । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
प्रतिकृया दिनुहोस