• मंगलबार-फाल्गुण-१३-२०८१

प्रहरीका वरिष्ठ सईहरुको बढुवा रोकेर : आईजीपी कुँवर अवकास हुँदै ?

 

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको ५१ जना प्रहरी निरीक्षकको बढुवामा भीभीआईपीका जुनियर तर वरिष्ठ सई पिसिओहरूलाई बढुवा गर्न आईजीपी बसन्त बहादुर कुँवरमाथि चर्काे दबाब पर्ने गरेको बताइन्छ । त्यसकारण आईजीपी कुँवर वरिष्ठ सईहरुको बढुवा प्रकृया अगाडि बढाउनबाट पछि हटेको प्रहरी हेर्डक्वाटर स्रोतले जानकारी दिएको छ । ३० वर्षे सेवा अवधि कारण आइजीपी कुँवर २०८१ चैत ५ गते अनिवार्य अवकासमा जाँदैछन् ।  आईजीपी कुँवर चाहिं सोर्सफोर्सका आधारमा भन्दा वरिष्ठ  सईलाई बढुवा गर्ने पक्षमा उभिदै आएको बताइन्छ ।

 

तर, राजनीतिक दबाब भने व्याची टपेर जुनियर तर वरिष्ठ सईलाई गर्न दबाब परेको बताइएको छ । दुई दिन विदामा बसेका आईजीपी कुँवर २०८१ फागुन १० गते छोराको वैवाहिक कार्यक्रम सम्पन्न गरेपछि फागुन ११ गते आइतबार नियमित काममा फर्किएका छन् । तर, प्रहरी निरीक्षकमा बढुवा प्रक्रिया जति ढिला हुँदैछ, उत्ति नै पेचिलो बन्दै गएको स्रोत बताउँछ । नेपाल प्रहरीमा आन्तरिकतर्फ बढुवाका लागि ५१ इन्स्पेक्टरको दरबन्दी रिक्त रहेको छ ।


२०५५ कात्तिक १ मा भर्ना भएका असईमध्येबाट ५ जना र सोही वर्षको पुस १ मा भर्ना भएकाहरु मध्येबाट ३ जना बढुवाको लागि प्रतिस्पर्धामा रहेका छन् । त्यसपछि २०५८ सालमा असईमा भर्ना, २०६२ र ०६३ सालमा सईमा बढुवा भएका ९१ जना वरिष्ठ सई इन्स्पेक्टर बढुवाको  प्रतिस्पर्धामा रहेका छन् । उनीहरूलाई बढुवा नगरी २०६० सालमा असईमा भर्ना भएका १ सय २५ जनाको टोलीका वरिष्ठ सईहरुलाई बढुवा गर्न यतिखेर आइजीपी कुँवरमाथि चर्काे राजनीतिक दबाब पर्दै आएको स्रोत बताउछ । २०५५ सालमा भर्ना भएका  र २०६२÷६३ सालमा सई बढुवा भएका ९१ जना मध्येबाट बढुवा नगरी अरूलाई गर्दा घोर अन्याय हुने चर्चा छ ।


सईमा १८÷१९ वर्ष सेवा गरेकालाई बढुवामा छुटाउँदा उनीहरूले असन्तुष्टि जनाउदै सामुहिक रुपमा राजीनामा दिने चर्चा पनि छ । यस अघि नै बढुवा हुने लाइनमा उनीहरु रहेको र अधिकृतमा बढुवा हुन्छु भनेर संगठनमा दुःख गरेर बसिरहेका छन् । तर, राजनीतिक दबाबका कारण भने अरूले नै बढुवा हात पार्नेगरी चलखेल भइरहेको बताइन्छ । आईजीपी कुँवर वरिष्ठताका आधारमा २०५५ र ०५८ मा भर्ना भएका असईलाई प्राथमिकतामा राखेर बढुवा सूची प्रकाशित गर्नुपर्ने पक्षमा उभिएको प्रहरीको कर्मचारी स्रोत बताउछ ।


तर, यो भन्दापछिको टोलीलाई बढुवा गर्नुपर्ने उच्च राजनीतिक नेतृत्वको दबाबपछि कुँवर तनावमा परेको बताइन्छ । सेवाबाट अवकाश हुन लागेका आइजीपी कुँवर घर जाने बेलामा तल्लो दर्जाका अधिकृतको वरिष्ठता मिचेर बढुवा दिनुभन्दा उक्त बढुवालाई यथास्थितिमै राख्ने पक्षमा रहेको बुझिएको छ । अवकाशमा जाने बेलामा विवादमा पर्नुभन्दा त्यत्तिकै छाड्ने र भावी आईजीपीले बढुवा गरून् भन्ने पक्षमा रहेको स्रोत बताउछ । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
 

प्रतिकृया दिनुहोस