• मंगलबार-फाल्गुण-१३-२०८१

जसरी पनि राजतन्त्र फर्काउने प्रयास : दलहरुप्रति असन्तुष्ट भारतको रहस्यमय मौनता

राजावादीहरु भुटानी मोडलमा राजतन्त्र फर्काउन सहमत

काठमाडौं । नेपाली राजनीतिमा यतिबेला राजावादीहरुको सरगर्मी चढेको छ । मुख्यगरी पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले प्रजातन्त्र दिवसको अवसर पारेर २०८१ साल ७ फागुन गते विशेष विज्ञप्ति निकालेपछि राजनीतिक तरं निकै फैलिएको छ । राजतन्त्रका पक्षधर र विपक्षमा रहेकाहरु  तर्कविर्तकमा लागेका छन् । 

 

यसले देशको राजनीतिको तलाउमा केही  तरंग भने पैदा गरेको अर्थमा बुुझ्न सकिन्छ । विगतको तुलनामा केही कडा अभिव्यक्तिसहित राजनीति माहोल तताउन आईपुगेका ‘महाराज’ ज्ञानेन्द्र शाहका लागि यो अर्थपूर्ण बहसजस्तो देखिन्छ । 


एमाले  र कांग्रेससहित माओवादी केन्द्र पनि अहिले राजावादीहरुको तर्क र प्रयासमा अनदेखा गरिरहेका छैनन्, बरु सार्वजनिक रुपमा बोल्न भने थालेका छन् । यसले के संकेत गरिरहेको छ भने राजनीतिक रुपमा केही अप्ठ्यारो परिरहेको छ । 

 

राजनीतिक दलका नेताहरुले जे अप्ठ्यारो महसुुस गरिरहेका छन् र सतहमा राजावादीहरुको सक्रियता जुन स्तरमा बढेको छ, त्यसले शंका, आशंका भने उत्पन्न गराउँछ । अनि, ज्ञानेन्द्र शाहका देशदौडाहा होस् वा विदेश, त्यसले पार्ने प्रभाव दीर्घकालीन र योजनाबद्ध देखिन्छ । 

 

पछिल्ला दिनमा ज्ञानेन्द्र शाहले आफ्नो सत्ताको पुनप्र्राप्तिका लागि  राष्ट्रियबाहेक अन्तर्राष्ट्रिय शक्तिको पनि साथ सहयोग खोजिरहेका छन् । 

 

मुख्यगरी वर्तमान सत्तासँग अति असन्तुष्ट भारतको सहयोगमा राजतन्त्र फर्काउने प्रयासमा लागेको राजनीतिक विवश्लेषण हुने गरेको छ । र, दक्षिणतिर महत्वपूर्ण भेटघाट र सूचना आदानप्रदान पनि भइरहेको स्रोतको दावी छ । 


भारतीय चाहना के ?


 नेपालको राजनीतिमा सूक्ष्म व्यवस्थापनको प्रयास गर्दै आएको भारत कांग्रेस र एमालेको गठबन्धनलाई कत्ति पनि रुचाइरहेको छैन । त्योभन्दा पहिला पनि माओवादी र  एमालेको गठबन्धनलाई रुचाएको थिएन । नेकपा बन्दा पनि उसको तारोमा केपी ओली र प्रचण्ड नै थिए ।  

 

प्रचण्डले भारतसँग लाइन मिलाएको भनिएपनि एमाले अध्यक्ष ओली र ‘भारतका लागि विश्वासघाती र अविश्वासी’ प्रचण्डसँग अहिले पनि भारत रुष्ट रहेको नयाँ दिल्ली स्रोतले साँघुका विशेष संवाददातालाई बतायो ।

 

भारत चीनसँग नेपालले सम्बन्ध सुधार गरेको देख्न चाहँदैन । त्यसकारण भारत आफ्नो रुचीबाहेकमा नेपालले तलमाथि नगरोस् भन्ने चाहन्छ । त्यसकारणले राजनीतिक दलहरु भारतीय चाहना अनुसार चलिरहेको छैन भन्ने देखिन्छ । त्यसको अर्थ चाहिँ भारत फेरि पनि नियन्त्रित अस्थिरता चाहन्छ भन्ने विश्लेषण भइरहेको बुझिन्छ । 


  त्यही  क्रममा अहिले भारत राजतन्त्रलाई अगाडि सारेर आउन खोजेको छ भन्ने तर्क पनि भइरहेको छ । भारतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई गद्दीमा राख्ने प्रयासका लागि विभिन्न मोडालिटीमा छलफल गरेको चर्चा पनि भइरहेको छ । त्यसअनुसार भारतीय चाहना चाहिँ नेपालको परराष्ट्र र रक्षा नीति भारतीय छातामा रहने वा भनौ भुटानी रातन्त्रको मोडलमा नेपालमा राजतन्त्र फिर्ता गराउने प्रस्ताव रहेको विश्लेषण भइरहेको छ । त्यसलाई सरल भाषामा भन्दा भुटानी मोडल (पावर शेरिङ्ग ९एयधभच क्जबचष्लन० को शक्ति बाँडफाँडको रुपमा व्याख्या गरिदैछ । 


भारतीय संस्थापन लाइन अहिले त्यही अभ्यासमा सक्रिय रहेको पनि बताइन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीका सल्लाहकार अजित डोभालदेखि मुख्यमन्त्री योगी आदित्यनाथसमेत गुप्त वार्तामा सक्रिय रहेको विश्लेषण भइरहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको २०८१ असोज १७ गते बिहीबारदेखि असोज २० गते चार दिने भुटान भ्रमणलाई पनि त्यही अर्थमा विश्लेषण भइरहेको छ । ‘महाराज’ ज्ञानेन्द्र शाह पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पछिल्लो भारत भ्रमण पुस ७, २०८१ (डिसेम्बर २३, २०२४) मा गरेका थिए ।

 

यस भ्रमणमा उनले भारतको लखनउमा विभिन्न धार्मिक स्थलहरूको भ्रमण गरी पूजा अर्चना गरेका थिए । लखनउमा रहँदा उनले महात्वपूर्ण भेटवार्ताहरू पनि गरेका थिए । त्यतिबेला मुख्यमन्त्री आदित्यनाथ योगीहरुसँगको भेटमा राजतन्त्र पुनर्स्थापना सम्बन्धमा विशेष कुरा भएको चर्चा भइरहेको छ । त्यसबारे राजावादी दलका नेताहरुलाई समेत विस्तृत रुपमा जानकारी भने गराइएको छैनन् । तर, ससाना समूहमार्फत पनि पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा माहोल  बनाउने प्रयास भने भइरहेको छ । 


लम्पसार राजावादीहरु 


भारतले भुटानी मोडलको राजतन्त्र  फर्काउन प्रस्ताव गरेको विषयमा राजावादी पनि सहमत देखिएको बताइन्छ । तत्कालका लागि जस्तोसुकै मोडलमा भएपनि राजतन्त्र फर्काउने राजावादीहरुको सोच देखिन्छ । राजावादीहरु भुटानी मोडलमा राजतन्त्र फर्काउन सहमत भएपनि कसलाई राजा बनाउने भन्नेमा चाहिँ एक मत छैनन् ।

 

केही राजावादीहरु पूर्व राजा ज्ञानेन्द्र शाहलाई नै गद्दीमा फर्काउने सोचमा  छन् भने कतिपयले नाति हृदयेन्द्र शाहलाई राजा बनाउने बताइरहेका छन् । नातिलाई राजा  बनाउने हो भने राजतन्त्रको पक्षमा  माहोल छिटो बन्ने उनीहरुको तर्क रहेको छ ।   


पूर्व राजा ज्ञानेन्द्र शाह र पारसको  पक्षमा सार्वजनिक वृत्तमा  बलियो अभिमत नभएको र उनीहरुको छविमा प्रश्न रहेका कारणले पनि नातिमा जानुपर्ने एकथरीको तर्क रहेको छ । त्यही तर्क पूर्व राजा ज्ञानेन्द्र शाहसम्म पुुगिसकेको छ । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले भने त्यसमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

 

आफूबाटै राजतन्त्र समाप्त भएको र गद्दीबाट हटेकोले आफंलेै फर्काउने सोच पूर्व राजा ज्ञनेन्द्र शाहमा रहेको राजावादीहर बताउछन् । त्यसकारणले गर्दा पनि उनले मुख नखोलेका  हुनसक्छन् । तर,  पछिल्ला दिनमा राजनीतिक घटनाक्रम  र देशमा बढ्दो राजनीतिक निराशामा दलहरु भने फिक्का बन्दै गएका छन् र त्यसले यस्तै अस्थिर राजनीतिको संकेत गरिरहेको छ । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
 

प्रतिकृया दिनुहोस