काठमाडौँ, ३१ असोज । ''निर्वाचन सार्ने प्रपंच निर्वाचन आयोगमार्फत थाहा भएपछि माओवादीले सरकार छाड्ने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ '' –गृहमन्त्री जनार्दन शर्मा । गृहमन्त्री जनार्दन शर्माका अनुसार, आज असोज ३१ गते बिहान पार्टी अध्यक्ष प्रचण्डले सरकारबाट फिर्ता हुने विज्ञप्ति हस्ताक्षर गर्नै लाग्दा प्रधानामन्त्री शेरबहादुर देउवाबाट निर्वाचन सार्ने प्रपंच भएको जानकारी बैठक स्थलमै आयो ।
गृहमन्त्री जनार्दन शर्माले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भने ''यसर्थ हामीले सरकार नछाड्ने निर्णय गरेका छौ । निर्वाचन गर्नका लागि प्रधानमन्त्रीलाई सहज बनाउने उद्देश्यले मात्रै पटक पटकको पीमको आग्रह अनुसार सरकार छोड्ने तयारी भएको भए पनि निर्वाचन नगर्ने अबस्थामा हामीले सरकार छोड्ने कुरा आउदैन । निर्वाचन सार्ने काम भएमा त्यसप्रति माओवादीले पूराका पूरा असहमत हुने छ।''
स्रोतका अनुसार, माओवादीले सरकार छाड्ने निर्णयमा सही गर्नै लाग्दा मतपत्र बदरसम्बन्धी रिट सर्वोच्च अदालतमा परेको र त्यसैमा टेकेर चुनाव सार्न लागिएको सूचना निर्वाचन आयोगबाट आएसँगै माओवादीले सरकार नछाड्ने निर्णय गरेको हो।



