• मंगलबार-माघ-२९-२०८१

कीर्तिपुर क्रिकेट स्टेडियममा भ्रष्टको खेती : फ्लड लाइट जडान ठेक्कामा अनियमितता 

 

काठमाडौं । नेपालले पछिल्लो समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा राम्रो प्रदर्शन गरेर सफलता हासिल गरी पदक जित्दै आएको छ । यही परिपे्रक्षलाई मध्यनजर गर्दै सरकारले लोकप्रिय हुँदै गएको क्रिकेट खेललाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्न त्रिभुवन विश्वविद्यालय परिसरको कीर्तिपुर क्रिकेट स्टेडियमलाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक फ्लड लाइट जडान र प्यारापिट निर्माण गर्दै स्तरोन्नति गर्ने तयारी अगाडि बढाएको छ । 


यसका लागि शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरण काठमाडौंले २०८१ पुस ५ गते दुईवटा बोलपत्र आव्हान गरेको थियो ।
जसमा बोलपत्र नं. एफएससी एनसीवी डब्लू ८१/८२–११ बाट व्यवस्थापन कार्यालयले फ्लड लाइट जडान र एफएससी एनसीवी डब्लू ८१–११ बाट प्यारापिट निर्माणका लागि २०८१ पुस ५ मा दुई वटा टेण्डर प्याकेजको सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको अवधि भित्र फ्लड लाइट जडानका लागि १० वटा फर्म र कम्पनीहरूले पूर्व क्वालिफिकेशनका आधारमा आवेदन दिएका थिए । 


२०८१ माघ १८ गते पाँचवटा कम्पनी सुर्याेदय उर्जा–रोशन जेभी टोखा, रिलिगार कन्ट्रक्सन प्रा. लि.कुपन्डोल, विशन–ईश्वरी ज्वाइन्ट भेन्चर गुसिङ्गल, ललितपुर, उमा एण्ड कम्पनी प्रा. लि. नयाँबानेश्वर र गितान्जली–कार्की बन्धु ज्वाइन्ट भेन्चर मोरङले सहभागिता जनाएका थिए ।


उनीहरुको प्राविधिक प्रस्ताव मूल्यांकन गर्दा सारभूत रूपमा प्रभावकारी रहेको भनी कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ज) को उपनियम ५ को प्रयोजनका लागि सूचना प्रकाशित गरेको थियो । २०८१ माघ २५ गते शुक्रबार दिउँसो २ बजे कार्यालयमा आर्थिक प्रस्ताव खोल्ने जानकारी गराइएको थियो । उक्त दिन टेण्डर खोल्दा सुर्याेदय उर्जा–रोशन जेभीले ६१ करोड ८३ लाख, रिलिगार कन्ट्रक्सनले ५० करोड १३ लाख, उमा एण्ड कम्पनीले ६० करोड ४२ लाख, विशन–ईश्वरी ज्वाइन्ट भेन्चरले ३९ करोड ४२ लाख र गितान्जली–कार्की बन्धु ज्वाइन्ट भेन्चरले ३९ करोड ८७ लाख रूपैयाँको टेण्डर बिट गरेको पाइयो ।


जसमा पहिला टेण्डर खुलाउँदा र बोलपत्रको प्राविधिक प्रस्ताव मूल्यांकनमा युरोप, बेलायत र अमेरिकी गुणस्तरको इटली वा जर्मनीमा बनेका फ्लड लाइट जडान गर्नुपर्ने शर्त तोकिएको थियो । तर, टेण्डर खोल्नु भन्दा ७ दिन अगाडि मिलेमतो र सेटिङ गरेर कार्यालयले आफू अनुकूलका फर्म वा कम्पनीलाई निर्माण ठेक्का दिएर करोडौं कमिशन असुल्न चिनियाँ र भारतीय गुणस्तरको फ्लड लाइट जडान गरेपनि हुने भनियो । कार्यालयले पूर्ववत रुपमा राखेको गुणस्तरको शर्त घटाएर टेण्डर खुलाएको एक कम्पनीका प्रतिनिधिले नाम उल्लेख नगरिदिने शर्तमा बताए ।


टेण्डरको सूचना र प्राप्त कागजातले पनि सो तथ्यलाई पुष्टि गरेको छ । समाचतार स्रोतका अनुसार, उमा एण्ड, विशन–ईश्वरी ज्वाइन्ट भेन्चरले अहिलेसम्म रंगशालामा फ्लड लाइट जडान गरेको अनुभव हासिल गरेको देखिंदैन । त्यससम्बन्धी कागजात पनि पेश गर्न सकेका छैनन् । गितान्जली–कार्की बन्धु ज्वाइन्ट भेन्चरको युरोप, बेलायत र अमेरिकी गुणस्तरको फ्लड लाइट जडानको योग्यतामा पनि आशंका व्यक्त गरिएको छ । तर, सुर्याेदय उर्जा–रोशन जेभी र रिलिगार कन्ट्रक्सनको भने युरोपियन स्टैण्डरको फ्लड लाइट जडान गर्ने क्षमताको कम्पनी भएको तर, इटाली वा जर्मनीमा बनेका फ्लड लाइट जडान गर्ने क्षमता र गुणस्तर भएका यी दुई कम्पनीहरूलाई टेण्डर नदिने खेल भइरहेको आशंका गरिएको छ ।


चिनियाँ फ्लड लाइट जडान गर्न तारतम्य मिलाउने कार्य सिडिइ गणेश कर्माचार्य र गणेश पाण्डेले मिलाएको स्रोतले जानकारी दिएको छ । विशन–ईश्वरी ज्वाइन्ट भेन्चर वा गितान्जली–कार्की बन्धु ज्वाइन्टलाई ठेक्का दिइयो भने अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय र अदालतमा मुद्दा पर्ने र निर्धारित समयमा फ्लड लाइट जडान हुन नसक्ने चर्चा भइरहेको छ । कम रकम उल्लेख गर्ने कम्पनीलाई ठेक्का दिइयो र त्यस कम्पनीले भारती वा चिनियाँ उत्पादनका गुणस्तरमा आशंकित फ्लड लाइट ल्याएर चार–पाँच महिना ढिला जडान ग¥यो भने पनि एक–दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।


साथै, यी कम्पनीले ग्यारेन्टी नभएको चीनमा निर्माण भएको अति कम गुणस्तरको फ्लड लाइट जडान गर्ने र कम्तीमा पनि १५ करोड रकम कमिशनको खेती हुने आशंका गरिएको छ । भारतीय र चीनमा उत्पादित फ्लड लाइट स्थानीय तहहरूले टावर लाइटका रूपमा तराई मधेसका चोक र बजारहरूमा लगाउँदै आएका छन् । त्यहीस्तरको लाइट कार्यालयले कीर्तिपुर क्रिकेट मैदानमा जडान गर्न ठेक्का लगाउन लागेका छन् । यदि सेटि¨ र मिलेमतोमा सो कार्य गरियो भने रातिको समयमा खेल सञ्चालन गर्न अति जोखिम हुने बताइन्छ ।


युरोपियन, बेलायती र अमेरिकी गुणस्तरको फ्लड लाइट जडान गर्दा ५० करोड भन्दा कम मूल्यमा जडान हुन नसक्ने स्रोतले जनाएको छ । फ्लड लाइटको मास अर्थात् पोल गाड्न मात्र रु. २ करोड खर्च हुने र त्यो पोल गाड्नका लागि भारतबाट दुई करोड भन्दा बढी खर्च गरेर ठुलो क्रेन भाडामा ल्याउनुपर्ने स्रोत बताउँछ । यस सम्बन्धी अन्य प्राविधिकहरू पनि भारत वा युरोपबाट ल्याउनुपर्ने स्रोतले दावी गरेको छ । युरोपबाट एयर कार्गाे गरी फ्लड लाइटका सामग्री ल्याउने टेण्डरमा लागत जोडेर ६ वटा जडान गर्न ६० करोड लागत स्टिमेट गरिएको थियो ।


यसरी एउटा फ्लड लाइट जडान बापत १० करोड रूपैयाँ लागत अनुमान गरिएको छ । तर, अहिले अन्तिममा आएर चिनियाँ वा भारतीय  गुणस्तरको भएपनि हुने भनी गुणस्तर घटाएर कम रकमको टेण्डर हाल्ने विशन–ईश्वरी ज्वाइन्ट भेन्चर र गितान्जली–कार्की बन्धु ज्वाइन्ट भेन्चरलाई दिने तारतम्य गरेर अनियमिता गर्न खोजिएको जानकार स्रोत बताउँछ । टेण्डर हाल्ने बेलामा युरोपियन गुणस्तरको भनेर सार्वजनिक सूचना निकाल्ने, त्यही अनुसारको डकुमेन्ट पेश गरी कम्पनी छनोट गर्ने अनि टेण्डर खुलाउनु भन्दा सातदिन अगाडि सेटि¨ गरेर सुनियोजित रूपमा गुणस्तर घटाएर टेण्डर खोल्ने कार्य मिलेमतोकै आधारमा भ्रष्टाचार गर्न खोजिएको बताइन्छ ।


  सेटि¨ र मिलेमतोमा संलग्न अधिकारी र कर्मचारीविरूद्ध केही निर्माण कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालत जाने तयारीमा गरेका छन । प्रि–बिड बैठकमा सहभागी सबै कम्पनीका प्रतिनिधिहरूलाई कार्यालयका सिडिई कर्माचार्य, पाण्डे र सुई चक्रवर्ती कण्ठले युरोपियन स्ट्यान्डर्डको फ्लड लाइट ३५०० ९धबततबनभ० गिगाह मात्र क्वालिफाइ हुने भनेका थिए । भारत र चीनमा निर्मित कम्पनीका कुनै पनि फल्ड लाइट स्वीकृत नहुने कुरा जोडदार रूपमा राखेका पनि थिए । तर, पछि टेण्डर खोल्नु ७ दिन अगाडि नियोजित तवरले मिलेमतो गर भारतीय वा चिनियाँ बजारको फल्ड लाइट  लाइट लगाउन सकिने गरी नीतिगत निर्णय गरेका थिए । जुन कार्यले नीतिगतरुपमै ठुलो भ्रष्टाचार गर्न खोजेको आशंका गरिएको छ ।


३५०० गिगाह जडान गर्ने डिपीआर तयार पारी युरोपियन स्ट्यान्डर्डको रेट ६० करोड बनाइएको थियो । २०८२ बैशाख २४ गते भित्र फल्ड लाइट  जडान गरिसक्ने योजना बनाएर युरोपबाट छिटो माध्यमबाट सामान ल्याउन एयर कार्गाे चार्ज समावेश गरी इष्टिमेन्ट मूल्य उच्च बनाइएको थियो । तर, पछि त्यही मूल्यमा भारतीय वा चिनियाँ कम्पनीको पनि प्रयोग गर्न सकिने गरी  चलखेल गरिएको स्पष्ट भएको छ । भारतीय वा चिनियाँ लाइट जडान गर्ने भए करिब ६० प्रतिशत मूल्यमा काम सम्पन्न हुने स्रोतको भनाई रहेको छ । जसमा ४० प्रतिशत बढी किन स्टिमेट मूल्य कायम गरियो भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।


भारतीय र चिनियाँ  कम्पनीबाट उत्पादित लाइट प्रयोग गर्ने भए पहिलेको युरोपियन गुणस्तरको स्टिमेटबाट त्यो मूल्य किन घटाइएन ? यस विषयमा अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट छानबिन हुनुपर्ने माग भइरहेको छ । रोचक कुरा त के छ भने टेण्डर निकाल्दा इलेक्ट्रिकल इन्जिनियर र लाइटिङ सम्बन्धी विज्ञ, जानकार प्राविधिक पनि राखिएको छैन ।


 फल्ड लाइट सम्बन्धी टेक्निकल मूल्यांकन हचुवाको भरमा सिडिई कर्माचार्य, पाण्डे र सुई कण्ठले गरेका छन् । उनीहरूको मिलेमतोमा क्वालिटी नहुने आफू अनुकूलका निर्माण कम्पनीलाई क्वालिफाई गराई कमसल गुणस्तरको सामग्री प्रयोग गरी निर्माण सम्पन्न गर्नेतर्फ कार्यालय आकर्षित भएको देखिन्छ । यी र यस्तै कारणले राष्ट्रिय खेलकुद परिषदले चार पटक टेण्डर आब्हान गर्दा पनि फल्ड लाइट जडान गर्न सकेको छैन । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ कार्तिकमा सरकारले सयदिन पूरा गरेको अवसरमा सम्बोधन गर्नेक्रममा कीर्तिपुरको क्रिकेट मैदानमा फल्ड लाइट जडान र प्यारापिट निर्माण गर्न शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिने घोषणा गरेका थिए ।


परिषदले विगतमा भारतीय र चिनियाँ कम्पनीबाट उत्पादित फल्ड लाइट जडान गराउन २८ करोड लागतको डिपिआर तयार पारी टेण्डर आब्हान गरेको थियो । अहिले त्यही भारतीय र चिनियाँ कम्पनीको गुणस्तरको फल्ड लाइट जडान गर्न ६० करोडको लागत मूल्य तयार पारी टेण्डर खोलिएको छ । साथै, कार्यालयका कर्मचारीले नै मिलेमतो र सेटिङ्गको आधारमा नै गुणस्तरहीन काम गराउने चाँजोपाँजो मिलाएको आशंका गरिएको छ ।


फ्लड लाइट स्थायित्वका लागि महत्वपूर्ण पक्ष 
अल्मुनियम हल्का केसः लाइटका केसहरू प्रायः उच्च गुणवत्ता भएका अल्मुनियम सामग्रीबाट बनेका हुन्छन् जसले तापमानको नियन्त्रण र सस्तो वजन सुनिश्चित गर्छ ।

फिन कूलिंग प्रणालीः लाइटलाई लामो समयसम्म काम गरिराख्न कूलिङ सिस्टम अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।


विशेषताहरूः
Dimming Capabilities : स्टेडियम फ्लड लाइटहरूले लाइटको तीव्रता कम गर्न र आवश्यकताअनुसार सेट गर्न सक्नुपर्छ ।
Smart Control Integration : केही यूरोपियन स्टेडियम फ्लड लाइटहरू स्मार्ट नियन्त्रण प्रणालीसँग इंटिग्रेट गर्न सक्छन् (जस्तै DALI, 0-10V, DMX512) जसले लाइटको स्थिति र तीव्रता सजिलै नियन्त्रण गर्न मद्दत पु¥याउँछ ।
टाइमर र स्वचालित सञ्जालः लाइटहरूको लागि स्वचालित टाइमर सेट गर्न सकिन्छ जसले समय बचत र व्यवस्थापनलाई सहज बनाउँछ ।


ब्राण्डः
Philips, Osram, Cree, Zumtobel जस्ता प्रमुख ब्राण्डहरू यूरोपियन स्टेडियमहरूका लागि उच्च गुणस्तरीय फ्लड लाइट उत्पादन गर्छन् । Musco Lighting  जस्ता विशेष स्टेडियम लाइटिङ समाधानहरू पनि उपलब्ध छन्, जसले अतिरिक्त गुणस्तर र स्थायित्व सुनिश्चित गर्छ ।


यस प्रकारको फ्लड लाइटले स्टेडियमको लागि उत्तम र गुणस्तरीय उज्यालो व्यवस्था सुनिश्चित गर्न मद्दत पु¥याउँछ, जसले खेलको दृश्यता र सुरक्षा बढाउने दावी विज्ञहरुको रहेको छ  । (साँघु साप्ताहिक, २०८१ माघ २८) 

प्रतिकृया दिनुहोस