• मंगलबार-माघ-२९-२०८१

बीमा प्राधिकरणको अध्यक्ष सिफारिसमा ढिलाई ?

 

काठमाडौँ । अर्थ मन्त्रालय मातहतको निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष सिफारिसमा ढिलाई भैरहेको गुनासो बाहिर आएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा अध्यक्ष छनोट सिफारिस समिति गठन गरिएको थियो । गठित समितिले आवश्यक प्रक्रिया पूरा गरी अध्यक्षको लागि निवेदन माग गरेको थियो । स्रोतका अनुसार, १२ जनाले आवेदन दिएका छन् । कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चीरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको र्अथ मन्त्रालयले जनाएको छ । तरपनि योग्यता, क्षमता, दक्षता, अनुभवका  आधारमा पाँच जनाको सर्टलिष्ट सूची तयार गर्न सिफारिस समितिले ढिलाई गरेको बताइन्छ ।


आयोगका उपाध्यक्ष डा. अधिकारी विदेश भ्रमणमा गएकाले सर्टलिष्ट तयार गर्न ढिला भएको स्रोतले बताएको छ । सर्टलिष्टमा पर्न पूर्व राजस्व सचिव रामशरण पुडासैनी, स्वास्थ्य बीमा समितिका पूर्व कार्यकारी निर्देशक डा. दामोदर बसौला, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, निक्षेप सुरक्षण केन्द्रका पूर्व महाप्रबन्धक विष्णुबाबु मिश्रले जोडवल गरिरहेको बताइएको छ । यस्तै, प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी र नागरिक लगानी कोषका पूर्व कार्यकारी निर्देशक रमण नेपालले पनि रहर गरिरहेको बताइएको छ । 


 अवसरवादी र द्वैध चरित्रका कारण मिश्र सर्टलिष्टमा पर्ने सम्भावना नरहेको स्रोत बताउँछ । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङमार्फत प्राधिकरणको अध्यक्ष बन्नका लागि अर्थ मन्त्री विष्णुप्रसाद पौडेल निकट हुन खोजिरहेको स्रोतले दावी गरेको छ । उता, चापागाईं भने माओवादी केन्द्र निकट रहेकोले सर्टलिष्टमा सिफारिस हुने संभावना निकै कम रहेको बताईन्छ ।
सर्टलिष्टको सूचीमा पर्नका लागि पूर्व सचिव पुडासैनी, स्वास्थ्य बीमा बोर्डका निवर्तमान कार्यकारी निर्देशक बसौला, रेग्मी, नेपाल सिफारिसमा पर्नसक्ने संभावना रहेको स्रोतको दावी छ । सर्टलिष्ट पर्नका लागि निवेदन दिएकाहरुले ठूलै कसरत गरिरहेका छन् । सर्टलिष्टमा परेकाहरु उम्मेदवारको कार्यपत्र प्रस्तुतिका आधारमा अन्तिममा भने पुडासैनी, बसौला र रेग्मी तीनजना नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस हुने सम्भावना रहेको स्रोतले बताएको छ ।


कार्यकारी निर्देशकमा सुवेदी
यसैबिच, बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा भने सुशील देव सुवेदीले बाजी मारेका छन् । प्राधिकरणको पदपूर्ति समितिले ०८१ माघ २३ गते कार्य सम्पादन मूल्याङ्कनका आधारमा सबैभन्दा बढी अंक प्राप्त गरेका सुवेदीलाई कार्यकारी निर्देशकको पदमा बढुवा गर्न सञ्चालक समितिसमक्ष सिफारिस गरेको छ । सुवेदीसँगै प्राधिकरणका कार्यकारी निर्देशकको लागि कमल प्रसाद रेग्मी र पुजन ढुंगेल पनि प्रतिस्पर्धामा गरेका थिए । ०८१ जेठ १२ गते तत्कालीन कार्यकारी निर्देशक राजुरमण पौडेलले अनिवार्य अवकाश पाएका थिए । त्यसपछि प्राधिकरणको उक्त पद रिक्त रहँदै आएको थियो । यसअघि बीमा प्राधिकरण सञ्चालक समितिको सचिव र प्रवक्ताको जिम्मेवारीमा रहेका सुवेदी प्राधिकरणका कामकाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ । (साँघु साप्ताहिक, २०८१ माघ २८)

प्रतिकृया दिनुहोस