• मंगलबार-माघ-२९-२०८१

दशौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

रामेछापमा १२औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु


म्याग्दी, २९ माघः बेनीमा माघ २८ गतेबाट दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो ।

 

    जिल्लामा रहेका स्थानीय तहहरूमा पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरमा प्रतियोगिता आयोजना गरिएको हो ।

 

प्रतियोगितामा जिल्लामा रहेका छ स्थानीय तहबाट छनोट भएका छ सय खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्टतर्फ ९० पदकमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

 

    प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रदेशस्तरमा हुने खेलका लागि खेलाडी छनोट गर्न र विद्यार्थीमा खेल क्षमता विकास गरी प्रतिस्पर्धा बनाउन प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।  

 

    प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विद्यालय तहमा पहिचान हुने प्रतियोगिताले विद्यार्थीको खेल क्षमता र प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउन सघाउने बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ सिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

    जिल्लाबाट उत्कृष्ट भएका खेलाडीले आगामी फागुनको ५ र ६ गते गोरखामा हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागिता जनाउने समितिका कोषाध्यक्ष योगेन्द्रमान गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्सलआर्टबाट ३६ र एथलेटिक्सबाट २४ खेलाडीहरू छनोट हुनेछन् ।

 

    रामेछापमा १२औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

 

    रामेछापको मन्थलीमा माघ २८ गतेदेखि जिल्लास्तरीय १२औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका सात पालिकाबाट विद्यार्थी खेलाडी सहभागी भएका छन् ।

 

    प्रतियोगितामा छात्रछात्रातर्फ भलिबल, एथलेटिक्स, मार्सलआर्ट, कबड्डीलगायत खेल खेलाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार माघ २८ गते प्रतियोगितको उद्घाटन बागमती प्रदेशसभाका सांसद आनन्दकुमार श्रेष्ठले गर्नुभएको थियो ।
---

 

प्रतिकृया दिनुहोस