• मंगलबार-माघ-२९-२०८१

सूर्यकुमारीको बारीमा १६ किलोको लौका !


सुदूरपश्चिम, २८ माघ : कैलालीको गौरीगङ्गा नगरपालिका–११ पिरेनी गाउँकी सूर्यकुमारी चौधरीको बारीमा १६ किलोग्रामको एउटै लौका फलेको छ । 
 
गत जेठमा रोपिएको स्थानीय जातको लौकाको लहरामा कुनै रासायनिक मल र विषादी प्रयोग नगरेरै सो लौका फलाएको उहाँले बताउनुभयो । “रासायनिक मल र अन्य विषादी केही प्रयोग गरिएन, केवल गोबर मल प्रयोग गरेर लौका फलाइएको हो”, चौधरीले भन्नुभयो ।   
 

गौरीगङ्गा नगरपालिका–९ मा सञ्चालित एकता जैविक संरक्षण कृषि सहकारी (बीउ बैंक)की सदस्यसमेत रहनुभएकी चौधरीले आफ्नै संस्थाबाट लिएको रैथाने जातको लौकाको बीउ रोप्नुभएको थियो । 

 

संस्थाका अध्यक्ष भक्तिराम सापकोटाले संस्थाले रैथाने जातको धान, गहुँ, सिमी, तरकारीलगायत बालीको बीउ संरक्षण गरी किसानलाई बिक्री वितरण गर्दै आएको बताउनुभयो । “हाइब्रिड जातको बीउको तुलनामा रैथाने जातको बीउबाट उत्पादकत्व केही कम हुने गरेको छ तर रैथाने जातको बीउबाट खेती गर्दा लागत खर्च कम र रोगकिराको समस्या पनि कम हुन्छ । कुनै विषादी वा रासायनिक मल प्रयोगबिना उत्पादित कृषिउपज मानव स्वास्थ्यका लागिसमेत हानिकारक हुँदैन । त्यही भएर हामीले यस्तो कार्यलाई प्रोत्साहन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

 
धनगढीमा लागेको प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेलामा प्रदर्शनीका लागि राखिएको यो लौका अवलोकन गर्नेहरूको भिड लाग्ने गरेको छ । मेलामा रैथाने जातका अन्नबाली, तरकारीको बीउबिजनका साथै कृषिजन्य सामग्री तथा उपकरण पनि प्रदर्शनीमा राखिएका छन् । 

 
कृषि निर्देशनालय दीपायलको पहलमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणमा टेवा पु¥याउने लक्ष्यसहित धनगढीमा चारदिने प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१ सञ्चालन भइरहेको छ ।
---

 

प्रतिकृया दिनुहोस