ताइवानका एक प्लास्टिक सर्जनले आफ्नो शल्यक्रिया आफैले गरेका छन् र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा समेत राखेका छन् । ओडिटी सेन्ट्रल न्यूजका अनुसार, चेन वेई–नोङ नामक चिकित्सकले आफ्नो बन्ध्याकरण (भ्याक्सेटोमी) आफैंले गरेका हुन् । उनी प्लास्टिक सर्जन हुन् । उनका ३ सन्तान छन् । उनले यो शल्यक्रियालाई भिडियोमा रेकर्ड गरेर फेसबुकमा समेत पोस्ट गरेका थिए ।
यस शल्यक्रियाको सम्पूर्ण प्रक्रियामा कुल ११ चरणहरू थिए । चेनले आफैलाई स्थानीय एनेस्थेसिया दिए र शल्यक्रिया सुरु गरे । आफैंले आफ्नो शल्यक्रिया गर्न सजिलो हुँदैन, त्यसैले सामान्यतया १५ मिनेट लाग्ने शल्यक्रिया चेनले १ घण्टामा पूरा गरे । शल्यक्रिया सफल पनि भयो र चेनको स्वास्थ्य अहिले ठिक छ । चेनको भिडियो भाइरल बनेको छ र ४० लाख भन्दा बढी भ्यूजहरू प्राप्त भइसकेको छ ।
कतिपयले उनको साहस र श्रीमतीप्रतिको मायाको प्रशंसा गरेका छन् भने कतिले चिन्ता पनि व्यक्त गरेका छन् । मानिसहरूले यसो गर्नु सुरक्षित नभएको र ठूलो दुर्घटना हुन सक्ने पनि भनेका छन् । शल्यक्रिया गर्ने इजाजतपत्र भएका कारण पनि चेन कुनै कानूनी समस्यामा भने परेका छैनन् । (साँघु साप्ताहिक, २०८१ माघ १४)



