काठमाडौं । अघिल्लो साता एमालेको सचिवालय बैठकले दुुईवटा महत्वपूर्ण निर्णय लियो । एउटा निर्णय थियो, पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशित गर्ने र दुई जना नेतालाई निलम्बन गर्ने । दोस्रो, निर्णय चाहिँ केन्द्रीय कमिटीको बैठक राख्ने र सरकारको समीक्षा गर्ने ।
नेता रावललाई पार्टीबाट निस्काशित गर्ने निर्णयसँगै स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गर्ने निर्णय लियो । यसले एमालेमा तरंग पैदा गरेको छ ।
स्थानीय तहमा अपेक्षित परिणाम नआएको र सरकारले पनि प्रभावकारी कार्यसम्पादन गर्न नसकेको बेलामा एमालेले गरेको निर्णयलाई निकै महत्वका साथ हेरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको अहिलेको सरकारले पार्टीको भन्दा पनि कांग्रेसका चाहना र नीतिहरु हावी भइरहेको छ ।
ओली अहिलेको प्रधानमन्त्रीमा हराइरहेका छन् । अनि, धेरैजसो विवादमा पनि परिरहेका छन् । तर, कांग्रेस भने एमालेलाई अघि सारेर केपी ओलीमाथि दोष थुपारेर आफ्नो स्वार्थ पूरा गरिरहेको छ । त्यो विवादको केसमा कांग्रेसले फाइदा लिइरहेका कारण स्थानीय तहको उपचुनावमा मत एमालेले घटाएको छ । अहिलेको रावलमाथिको कारबाहीले झन् समस्या सिर्जना गरेको छ ।
पार्टी विभाजनको क्षतिले तङ्गरिन नपाएको बेलामा यसरी नेताहरुलाई रुष्ट बनाउँदै जाने हो भने एमालेको संगठनमा कति प्रभाव पार्छ भन्ने पनि चासोको विषय बनेको छ । त्यसो चासोकै कारण कारबाहीमाथि प्रश्न उठाउनेहरुको संख्यामा बढेको छ । एमाले विभाजन भएर नतंग्रिंदै फेरि पार्टीभित्र चर्किएको मतमतान्तर र कारवाहीले एमाले झन कमजोर हुने चिन्ता नेताहरूले व्यक्त गर्न थालेका छन् ।
प्रजातान्त्रिक पार्टी भन्ने अनि उत्तर कोरियाली शासन शैली अपनाउने भनेर मदन भण्डारीको जबजको स्मरण गर्ने कि ? भन्ने प्रश्न पनि उठेको छ । जनताको बहुदलीय जनवादले पार्टी विचार दर्शन र व्यवस्था सबैभन्दा माथि जनतालाई राख्नु नै जनवाद हो । राज्य वर्गीय हुनसक्छ । तर, राज्य निश्चित पार्टी या व्यक्तिको हुन सक्दैन भन्ने विचार रहेको छ ।
तर, अहिले त्यही जनवादको कुरामाथि प्रश्न उठ्न थालेको छ । अनि, जबजले फरक विचार र सोचलाई स्थान नदिने हो भने त्यस्तो राज्य सत्ता जनवादी हुनसक्दैन । तसर्थ, जनवादी राज्यसत्तामा विपक्षीको स्थान, फरक विचार राख्न पाउने अधिकार र फरक राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चितता अत्यावश्यक छ पनि भन्ने गरेको छ ।
अहिले रावल, पाण्डे र तिम्सिनालाई कारबाही गर्दा यो विचार परित्याग गरेको पनि देखिन्छ । त्यसले पनि एमालेलाई क्षति पु¥याउने संभावना रहन्छ । त्यो क्षति चाहिँ आउँदो ०८४ को चुनावमा अभिव्यक्त, हुनसक्छ ।
गुटबन्दी बढ्दो
एमाले अध्यक्ष केपी शर्मा ओलीले विगत केही साता यता निरन्तर रुपमा पार्टीभित्र गुटबन्दी भएको र त्यसले पार्टी जीवनमै समास्या पारेको बताइरहेका छन् । पार्टीका महासचिव शंकर पोखरेलले पनि संगठनमै अराजकता आएकोले राष्ट्रिय शक्ति बन्ने सपनामा तगारो आउने खतरा देखिएको सुनाइरहेका छन् ।
कार्यकर्ताको माझमा उनीहरुले उक्त कुरा सुनाएका छन् । र, कार्यकर्तालाई सुनाउने क्रममा एमाले अध्यक्ष ओलीले पार्टीभित्र शंकर पोखरेल वा विष्णु पौडेल भन्ने गुट नभएको र आफ्ना लागि दुवै नेता बराबर भएको समेत उल्लेख गरेका छन् ।
सार्वजनिक रुपमा पनि त्यही कुरा बोलेर ओलीले खासमा के सन्देश दिन खोजिरहेका छन् ? भन्ने चाहिँ चासोको विषय बनेको छ । केही समयदेखि भोकल भएर महासचिव शंकर पोखरेल सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चमा बोलिरहेका छन् । अनि, त्यसरी नै ओलीले पनि गुटबन्दीकै विषयमा बोलिरहेका छन् । त्यही बेलामा उपाध्यक्ष विष्णु पौडेल पनि पार्टीभित्र गुटबन्दी नभएको र आफ्नो र अध्यक्षको मनमुटाव भएको भन्ने कुरा मिथ्या भएको दावी गरिरहेका छन् ।
सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएर नै उपाध्यक्ष पौडेलले उक्त कुराको स्पष्टीकरण दिनुपर्ने अवस्था आउनुलाई पनि रहस्यको रुपमा हेरिएको छ । त्यसैले, पछिल्ला दिनमा उपल्लो तहका नेताहरुको तर्क, भनाई सुन्दा एमालेभित्र खिचडी पाक्न थालेको र केही उकुुसमुुकुस रहेको संकेत भने गरिरहेको छ ।
त्यसमा दुुईवटा कुराले एमालेलाई समस्यामा पारेको देखिन्छ । पहिलो त, केपी ओलीपछिको उत्तराधिकारी नेता को हुने भन्ने सँग जोडिएको छ । यो प्रसंगमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलवीच को नेता हुने भन्ने प्रतिस्पर्धा रहेको छ । दुवैले पार्टीभित्र आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका छन् ।
संगठनको जिम्मा महासचिवको भागमा परेका कारणले धेरैजसो जिम्मेवारी हेरफेरमा पोखरेल हावी भइरहेका छन् । आफ्नो गुट बलियो बनाउन पोखरेलले छानीछानी जिम्मेवारी दिइरहेका छन्, जसले एमालेभित्र असन्तुष्टि र असन्तुलन बढ्दै गएको छ । त्यो असन्तुष्टि तल्लो तहमात्र सीमित नभएर अध्यक्ष अोली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्म तानिएको छ ।
त्यसले गर्दा पार्टी असन्तुष्टहरुको पंक्ति भद्र व्यक्तित्वका धनी उपाध्यक्ष विष्णु पौडेलतिर गोलबद्ध भइरहेको छ । त्यसैले, अध्यक्ष ओलीको मुुखबाट त्यही समस्या प्रकट भएको भनिएको छ । त्यसो त, यही गुटका कारणले पनि ओलीको विकल्पमा पौडेल र पोखरेल नेता हुन नसक्ने अभिमत पनि प्रकट भइरहेको छ । त्यो आवाज विस्तारै बलियो बन्दै गएको छ । त्यो आवाज भने ओलीको विकल्पमा विद्या भण्डारीमा केन्द्रित हुन थालेको छ ।
एमाले नेताहरुकै भनाइमा पनि ओलीसँग रुष्टभएका देखि पोखरेलसँग रुष्ट भएका पनि भण्डारी निवास पुुग्न थालेका छन् । उनीहरुले भण्डारीलाई पार्टीमा निम्ता गरिरहेका छन् । जुन, भण्डारीको चाहनासँग पनि जोडिएको छ, तर भण्डारीलाई रोक्ने ओलीमात्र होइन, पोखरेल पनि लागेका छन् ।
महासचिव पोखरेल आफू अध्यक्ष हुने बेलामा भण्डारीले ओभरटेक गर्ने संभावना रहेको भन्दै विपक्षमा रहेको एमाले नेताहरु बताउँछन् । तर, पौडेल भने त्यस मानेमा मौन रहेको पनि बताइन्छ । त्यसैले, ओली र पोखरेलले पार्टीभित्र गुटबन्दी बढेको र पहिलो राष्ट्रिय शक्ति बन्ने सपना धरमरमा परेको बताउने गरेको एमाले स्रोतको दाबी छ । एमाले नेताहरुकै भनाइ मान्ने हो भने ओली अर्को कार्यकाल अध्यक्ष हुन खोजिरहेका छन्, त्यसकारणले भण्डारीको सक्रियता नहोस् भन्ने चाहिरहेका छन् ।
दोस्रो कुरा चाहिँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भूमिकासँग पनि जोडिएका छ । पछिल्ला दिनमा प्रचण्डले आफ्नो पार्टीभित्रमात्र होइन, एमालेभित्र पनि चलखेल बढाएका छन् । एमाले नेताहरुको बुुझाइमा प्रचण्डले एमालेमा आफ्नो प्रभाव विस्तार गर्न विद्या भण्डारीलाई उपयोग गरेको आरोप छ ।
उपाध्यक्ष विष्णु पौडेल र विद्या भण्डारीलाई उपयोग गरेर प्रचण्डले आफ्नो सुरक्षित स्थानको खोजी गरेका छन् । ०८४ को चुनावमा माओवादी बलियो शक्ति बन्ने संभावना कम रहेको छ । त्यसैले, एमालेसँग सहकार्य वा एकताको मुडमा प्रचण्ड हुनसक्ने भन्दै एमाले नेताहरु अहिले प्रचण्डले त्यसरी चलखेल गरेको बताउँछन् ।
एमालेभित्र चलेको चर्चा अनुसार प्रचण्डले उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउने प्रयास पनि त्यही रणनीतिसँग जोडिन्छ । उनीहरुका अनुसार प्रचण्ड दुुईवटा कुुरा चाहन्छ एमालेसँग । एक, सम्मानजनक एकता । दोस्रो एमालेको विभाजन । प्रचण्डले एमालेभित्र त्यही प्रयास गरिरहेका छन् भन्ने एमाले नेताहरुले चर्चा गरिरहेका छन् । त्यसैले पनि अहिले एमालेभित्र उकुुसमुुकसको अवस्था सिर्जना भइरहेको छ ।
त्यो बाहेक सरकारमा बसेर पनि प्रधानमन्त्री ओलीले काम गर्न नसकिरहेको भन्ने एमालेका केही नेताहरुको बुुझाइ रहेको छ । विगतमा परिणाम निकाल्ने गरी काम गर्ने नेता ओली अहिले कांग्रेसको दबाबमा परेको बुुझाइ रहेको छ । यसले गर्दा पनि समस्या भइरहेको एमाले नेताहरुले बताइरहेका छन् । (साँघु साप्ताहिक, २०८१ पुस १५)



