काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा असोज २७ मा पत्र पठाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
यसैगरी राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको छ । राप्रपाले मन्त्रिपरिषदमा सहभागी हुने नेताको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेको सो पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिएका थिए । मन्त्रीहरुको शपथ कार्यक्रम असोज २८ गते शनिबार हुने भनिए पनि अहिलेसम्म शपथको कार्यक्रम तय नभएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद विस्तारको प्रस्ताव राष्ट्रपतिबाट अस्वीकार भएको छ।
मन्त्रिमण्डल विस्तारबारे राष्ट्रपतिले परामर्श गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषदमा थप गर्न सिफारिश गरेको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गरिने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गरेको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो । कतिपय सञ्चारमाध्यममा असोज २८ गते शनिबार नै नयाँ मन्त्रीहरुको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।



