• सोमबार-मङ्सिर-१७-२०८१

भैरहवामा चार विमान कम्पनीको उडान : छैन सरकारी निकायको उपस्थिति

 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको नाममा दैनिक १० घण्टा बन्द गरिएसँगै प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गर्दै आएको छ । कतिपय अन्तर्राष्ट्रिय बिमान कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध विमानस्थलबाट उडान भरिरहेका छन । तरपनि सरकारले अध्यागनम, भन्सारलगायत आवश्यक सेवा सहज रुपमा उपलव्ध गराउन नसकेको गुनासाहरु बाहिर आएका छन । कतिपय अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले भैरहवा र जाने यात्रु नपाउँदा, भरपर्दाे सुरक्षा र हवाइ रूट पनि घुमाउरो रहेको गुनासो गर्दै आएका छन् ।


यस्तै कारण देखाउँदै केही विमान कम्पनीहरुले सो विमानस्थलबाट उडान भर्नसमेत आनाकानी गरिरहेको बताइएको छ । केही कम्पनीले भने परीक्षण  उडान रूपमा मात्र जहाज उडाएको बताइन्छ । बिमानस्थल संचालन भएसँगै सरकारी निकायले व्यवस्थापन गर्नपर्ने कार्य नगरिएकोले अझै पनि नियमित उडान हुने कुरामा आशंका हुँदै आएका छन । अर्काेतिर, कतिपयले प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि मर्मत गर्ने बहाना बनाएको आरोप पनि लगाएका छन् ।


गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेर प्राधिकरणले मर्मतको बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय बन्द गरेको आरोप लाग्दै आएको छ । प्राधिकरण स्रोतले भने रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर विमानस्थलको कार्यक्षमता २५ प्रतिशतले बढाउने कार्यको सुरुवात भइसकेको बताएको छ । यो योजना करिब ८ महिना अघि तय गरिएकोले यसलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर हेर्न नहुने स्रोतको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि यो काम विशुद्ध व्यावसायिक भएको र धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिएकाले यसमा कुनै पनि रणनीति वा राजनीति नभएको प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले भने गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दुवै सञ्चालनमा आएको खण्डमा हवाई भाडा पनि नियन्त्रणमा आउने अपेक्षा गरेको छ । नेपालको प्रचलित कानून विपरीत विमान कम्पनीहरूले भाडा रकम बढाएर टिकट बेच्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत कार्य अगाडि बढेसँगै गौतमबुद्ध विमानस्थलमा विमान कम्पनीहरुको चाप पनि बढदै गएको छ । वायुसेवा कम्पनीहरुले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेसँगै सो विमानस्थलको महत्व विश्वमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय रुपमा पनि बढ्न थालेको बताइन्छ ।


विमान कम्पनीलाई सहुलियत
भैरहवाका साथै पोखरा विमानस्थल सञ्चालनमा  सरकारले प्याकेज सुविधा दिएर अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न खोजेको छ । भैरहवा विमानस्थल सञ्चालनका लागि सरकारले सहुलियत व्यवस्था पनि गरेको छ । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि प्राधिकरणले चारवटा अन्तर्राष्ट्रिय विमान कम्पनीको उडान तालिका स्वीकृत गरेसँगै नियमित रुपमा उडान पनि सुरू भइसकेका छन् ।


प्राधिकरणले अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई पनि उडान भर्नका लागि आग्रह गरेको छ । गौतमबुद्ध विमानस्थलमा अहिलेसम्म चारवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान सुरू गरेका छन । जसमा थाई एयर एशिया, फ्लाई दुबई, कतार र जजिरा एयरलाइन्सले उडान भर्दै आएका छन । ती कम्पनीले एप्रोन पार्किङ, लोड अनलोड लगायतको दस्तुर पनि सुविधा पाएका छन । नेपाल वायु सेवा निगमले पनि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस