• सोमबार-मङ्सिर-१७-२०८१

एलन मस्कलाई नेपालबाट अन्त उड्न नदिउँ 

 

एलन मस्क वर्तमान विशवका सबैभन्दा धनी व्यक्तिसँग  ८ मंसिर २०८१ मा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग ११ मिनेट टेलिफोनमा कुराकानी भएको समाचार काठमाडौंका अखबारहरुमा पढें । एलन मस्क अन्तरिक्षमा पृथ्वीको परिक्रमा गरिरहने ४ हजार मानव निर्मित उपग्रह स्याटेलाइट बनाउने कम्पनी स्पेस एक्स साथै सामाजिक सञ्जाल ह् (एक्स) पहिलेको ट्वीटरका पनि मालिक हुन् । 


हाँक्नै नपर्ने, पुग्ने ठाउँ गन्तव्य बोलेर आटोमेटिक रुपमा बाटोमा हिँड्दै पुराइदिने विश्व चर्चित मोटर गाडी टेस्ला कारहरुका निर्माता पनि हुन् । एलन मस्कले उनको स्टारलिंक कम्पनीको नेपालमा पनि विस्तार खोजेको कुरा प्रधानमन्त्री ओलीको प्रेस कोअर्डिनेटर रामशरण बजगाईंले काठमाडौंको अंग्रेजी दैनिक रिपब्लिकालाई बताउनु भएको भन्ने समाचार पनि पढ्यौं । 


‘मस्क काठमाडौं आउने र प्रधानमन्त्री ओलीले उनको योजना सुनेर आवश्यक निर्णय गर्ने कुरा पनि त्यस समाचारमा उल्लेख छ । मौकाको पैतालामा पँखेटा हुन्छ । त्यसलाई छोपी हालेन भने त्यो उडेर अन्तै गैहाल्छ’ भन्ने अवसरको उखान छ । 


एलन मस्क २० जनवरी २०२५ (माघ ७ गते २०८१) मा दोस्रो पटक राष्ट्रपति पद सम्हाल्ने डोनाल्ड ट्रम्पको क्याबिनेट मन्त्री पनि हुनेछन् भनि अमेरिकन संचार माध्यमले बताइसकेको छ । त्यसैले त्यस अगावै नै नेपाल भ्रमणमा बोलाउनु हामीहरुको विचारमा उपयुक्त हुन्छ । २०८१ कात्तिक महिनामै मस्कको स्टार लिंकको टिम काठमाडौं आएर कुरा गरेर गइसकेको छ । 


हामीहरुको सोचाईंमा यो नेपालको वर्तमान र भविष्य दुबैका लागि उन्नति र फाइदा हुने कुरा हुन्छ । वर्तमान संचार सूचना क्रान्ति (इन्फरमेशन रिभोलुसन)को समय हो । ज्ञानको क्रान्तिको युग हो । हाम्रो देश ज्ञान, शिक्षा, सिपहरुको मानव संशासधनहरुको विकासमा संसारका धेरै देशहरुभन्दा पछौटे रहँदै आएको छ । आधुनिक वैज्ञानिक उच्च शिक्षाबाट अझै वञ्चित छन् हाम्रा बालबालिका, किशोर किशोरी, युवा युवतीहरु हाम्रो देशको भविष्य निर्माताहरु । 


आजभन्दा एक हजार वर्ष पहिले युरोप बेलायतमा सन् १०९६ (वि.सं. ११५३) मा अक्सफोर्ड युनिभर्सिटी स्थापित भएको थियो । अनि भारतको कोलकाता शहर सन् १८१७ मा (वि.सं. १८७४) प्रेसिडेन्सी युनिभरसिटी अफ क्यालकाटा स्थापित भएको थियो । त्यसको एक सय वर्ष पछि बल्ल नेपालमा सन् १९८१ मा त्रिचन्द्र कलेज स्थापित भएको थियो । तर तैपनि कुनै युनिभर्सिटी थिएन । एमए, एमएस्सी पढ्न बनारस, पटना, कलकत्ता इत्यादि जानु पर्दथ्यो । बल्ल २५ जुन १९५९ (२०१६ असार ११) मा त्रिभुवन युनिभर्सिटी स्थापित भयो । 


आज पनि उच्च वैज्ञानिक शिक्षा, ज्ञानबाट हामी नेपालका जनताका सन्तानहरु वञ्चित राखिएका छन् । उच्च वैज्ञानिक ज्ञान अन्तरिक्ष विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्सका ज्ञान इत्यादि हाम्रो देशमा छैन । त्यतिमात्र मेडिकल शिक्षा, उच्च प्राविधिक शिक्षा, उच्च तहको इन्जीनियरिङ शिक्षाको कमी, अपुरोपन र अभाव यति छ कि डाक्टरी पढ्न पनि बंगलादेश, चीन, भारतजस्ता छिमेकी देशहरुमा हजारौं नेपाली विद्यार्थीहरु छन् । दक्षिण कोरया, अस्ट्रेलिया, अमेरिका इत्यादिमा समेत विद्यार्थीहरुको पलायन छ । अर्काेतिर बडो बिजोगपूर्ण निराशा र उच्च शिक्षा पढ्ने साटो बेकारी, बेरोजगारी र गरिबीका कारण आफ्नो पापी पेट र परिवारको पालनका लागि पनि एसईई पढ्नासाथ श्रमिक बनेर युवाहरु मात्र होइन भर्खरका कलिला युवतीहरु समेत खाडीमा खत्तम मरुभूमि देश प्रचुर संख्यामा गइरहेका छन् । 


हामीहरुले कोभिड महामारीमा वर्षहरुमा देख्यौं स्कुल नगए पनि भर्चुअल कक्षा शिक्षा घरका कोठाहरुसम्म स–साना बालबालिकाहरुको हात, आँखा, कान र दिमागसम्म सोझौ पुग्न सकेको थियो । छिमेकी भारतमै खान सर भन्ने एक कुशल क्षिकले कम्युटरबाट गणित र विज्ञानको ट्युशन गाउँगाउँ र शहरसम्म कम्प्युटर माध्यमबाट पढाई भारु ८ करोड अर्थात हाम्रो नेपाली रुपैयाँ १२ करोड भन्दा बढी हरेक वर्ष कमाउँदै छन् ।

 

स्कुल जान नसक्ने, स्कुल भएपनि ५÷६ घण्टा हिँडेर स्कुले जाने विवशता भएका बालबालिकाले घरघरमै पनि शिक्षा दीक्षाको पहुँच पाउन सक्ने कुरा सम्भव छ भन्ने ज्ञान हामीहरुले कोभिड महामारीका ३÷४ वर्षहरुमा प्रत्यक्ष देखिसकेका छौं । मोबाइल र स्मार्ट फोन केटाकेटीदेखि वृद्धवृद्धासम्मको हातमा देखिरहेका छौं । एलन मस्कको नेपाल भ्रमण जति चाँडो सम्भव छ, त्यति चाँडो हुनु हाम्रो देश र जनताका लागि राम्रो हुनेछ भन्ने आशा छ । विदेशी र छिमेकीहरुको स्वार्थको पराधीनता होइन, आफ्नै राष्ट्रिय स्वार्थ र हितलाई हामीले अगाडि बढाउनुपर्छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १७)

प्रतिकृया दिनुहोस