० यतिबेला चुनावी गठबन्धनमा दलहरू लागेका छन् । त्यसले निकाल्ने परिणाम कति सकारात्मक हुन सक्छ ?
–नेपालको राजनीतिमा यो प्रवृत्तिलाई सहज र सकारात्मक रुपमा हेर्ने गरिएको छैन । मूलतः सत्तासंग जोडिने भएकोले दल र दलभित्रका केही नेताहरूको स्वार्थ र लोभी प्रवृत्तिले यस्ता गठबन्धन बन्ने गरेका छन् । हुन त चुनावी गठबन्धन अहिले बन्न लागेको नयाँ होइन तर ठूला दलहरू नै सहभागी भएकोले चर्चाको विषय बनेको हो । त्यस अर्थ यसलाई अहिले दुईवटा कोणबाट विश्लेषण गर्नुपर्छ । एउटा अहिलेको गठबन्धन सत्तास्वार्थसंग जोडिएको सन्दर्भ र अर्को चाहिं राष्ट्रिय स्वार्थ जोडिएको । यी दुईमध्ये बढी हावी छ भन्दा नेताहरूको सत्ता स्वार्थ । त्यसआधारले भन्दा दलहरूको चुनावी गठबन्धनले केही पनि दिदैन । नयाँ ढंगले दलका केही नेताहरू सत्तामा पुगिरहन्छन र फाइदा लिइरहन्छन् । तर, चुनावी गठबन्धनले राष्ट्रिय स्वार्थ बोक्यो भने चाहिं देशले राजीतिक स्थिरताको सुरुवात हुन्छ । हामीले चाहेको खासमा राजनीतिक स्थिरता र समृद्धि हो । त्यो यी दलका नेताबाट अपेक्षित छैन तर पनि आशा मारेर पनि केही हँुदैन ।
० राजनीतिक स्थिरताका लागि यस्ता गठबन्धनहरू प्रभावकारी हुन्छ भन्ने कुरा भारतकै उदाहरण पनि काफी छ । अब अलिक सकारात्मक ढंगले प्रेरित गर्ने हो कि ?
–भारतमा कांग्रेस आई र भारतीय जनता पार्टीको दुईवटा प्रमुख चुनावी गठबन्धन छन् । कांग्रेस आई नेतृत्वको गठबन्धनका प्रधानमन्त्री मनमोहन सिंहले देशलाई आर्थिक विकासमा गति दिए । उनको पालामा डबल डिजिटमा आर्थिक वृद्धिदर पु¥याए । दलहरू धेरै भएपनि सरकार अस्थिर भएन । अर्थात् हाम्रोजस्तो ९ महिने सरकार त्यहाँ भएन । त्यसको जस गठबन्धनलाई नै जान्छ । तर, हाम्रो समस्या भनेको मनोवृत्तिको समस्या हो । राजनीतिशास्त्रका सिद्धान्त र विचारभन्दा पनि नेताको मनोविज्ञानमा धेरै कुरा भर पर्छ । नेतालाई जे लाग्यो पार्टीमा त्यही निर्णय गराउँछन् । त्यसअर्थमा नेपालमा भारतको जस्तो सकारात्मक परिणाम ल्याउने गरी गठबन्धनले काम गर्दैन भन्ने लागको हो । यद्यपि हामीले दलहरूलाई गठबन्धनमा प्रेरित गर्न सक्यौं भने विस्तारै सुध्रिन्छन् ।
० अहिलेको चुनावी गठबन्धनले कुन दललाई कसरी फाइदा हुन्छ ?
मूलतः वाम गठबन्धनको कुरा गरौं ।यसमा सबैभन्दा बढी फाइदा बाबुराम भट्टराईलाई भयो । राजनीतिक जीवन नै समाप्तितिर लागेका बाबुरामले वास्तवमा यो गठबन्धनबाट वैतर्णी तर्ने मौका पाए । यसमा कुनै आश्चर्य मानेर ठूलै प्रगति भयो भन्ने अवस्था छैन । त्यसकारणले बाबुरामले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गरेर सांसद पद । त्यो बाहेक अहिले उनीसंग लिनुपर्ने र प्राप्त गर्नुपर्ने ठूलो कुरा नै यति हो । नयाँशक्ति एक्लैले केही गर्न सक्ने हैसियत थिएन जुन स्थानीय तहको निर्वाचनमा देखिइसकेको थियो । अर्को माओवादी केन्द्रलाई पनि फाइदा हुँदैछ । तेस्रो शक्तिका रुपमा निर्वाचनबाट आउन सक्थ्यो तर देशको सत्ता हातमा लिने गरी प्रचण्ड हावी हुने अवस्था आउन थिएन । एमालेमा सहभागी भएर निर्वाचन जाँदा शक्ति केन्द्रीकृत हुने भएकोले प्रचण्डले एक्लै प्राप्त गर्ने भन्दा पनि बढी सिट लिएर शक्तिमा आउँछन् । प्रचण्ड र माओवादीको राजनीतिक जीवन सुरक्षित त भयो तर तिनका कार्यकर्तामात्रै समस्या हो । एमालेको हकमा भने यो फाइदा भन्दा पनि बढी घाटा भयो । गठबन्धनबाट जति सीट जित्छ त्यति सिट त उसले एक्लै निर्वाचन लड्दा नि जित्ने अवस्था थियो । अर्थात आफ्नै भाग काटेर माओवादी र नयाँ शक्तिलाई एमालेले बाँडेको छ ।
० संविधान कार्यान्वयनमा चुनावी गठबन्धनले सहजीकरण त गर्छ नि ?
यसमा चाहिं मलाई शंका छ । नेपालमा संघीयतामाथि धेरै प्रश्न छन् जति धर्मनिरपेक्षताको सन्दर्भमा छन् । संघीयता तत्काललाई थाती राखेर जानुपर्ने तर्क बलियो थियो । त्यो अहिले सुषुप्त मात्रै भएको छ सकिएको छैन । ठूलो जनमन संघीयताको विपक्षमा नै छ । तर, अहिले जसरी गठबन्धन बन्दैछन् त्यसले संघीयता कार्यान्वयनमा प्रश्न उठाएको छ । किनभने दलहरू गठबन्धनमा जाने अनि शीर्ष नेताहरू प्रतिनिधिसभामात्रै निर्वाचित हुनेगरी सिफारिश भइरहेका घटनाले केन्द्र बहिलो हुन्छ । केन्द्र बलियो बनाउने कुराले संघीयता कार्यान्वनमा कसरी सहज हुन्छ । वास्तवमा अब संघीयता कार्यान्वयनमै समस्या आउँछ । सातवटै प्रदेशमा एउटै गठबन्धनको सरकार बन्ने अनि केन्द्रका त्यही गठबन्धनको सरकार बन्ने अवस्थामा कसरी संघीयता कार्यान्वयन हुन्छ ? अहिले जति व्याख्या भइरहेको छ त्यो राजनीतिक संस्कार नबुझेर भइरहेको छ ।
० यद्यपि, चुनावी तालमेलले वामपन्थी दलहरूलाई एकीकृत हुने वातावरण बनाएको छ । र, वामपन्थी जनमत पनि केन्द्रीकृत हुने देखिन्छ नि होइन ?
–वामपन्थी दलहरू एक भएको धेरै राम्रो । देश दुई दलीय गबठन्धनमा गएको अवस्थामा फाइदा नै हुन्छ । त्यसरी जाओस् भन्ने कामना पनि गरौं । एमाले र माओवादीको गठबन्धनमा सबै वामपन्थी र कांग्रेसको गठबन्धन राप्रपा, राजपा, लोकतान्त्रिक फोरमलगायतका दलहरू केन्द्रित भए हुन्थ्यो । सके पार्टी एकीकरण नसके पनि निरन्तरको चुनावी गठबन्धन बनाएर सरकारमा गए भने देशले राजनीतिक स्थिरता र समृद्धिको बाटो समात्छ । संविधानमा समानुपातिक निर्वाचन प्रणाली राख्ने अनि दलहरू गबठन्धनमा नजाने हो भने त देशले राजनीतिक अस्थिरता भोगिनै रहन्छ । राजीतिक स्थिरताका लागि कि संविधानबाट समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ, कि त दलहरू गठबन्धनमा गएर गठबन्धनको बहुमत आउनुपर्छ । तत्कालको उपाय भनेकै गठबन्धन हो र गठबन्धनले बहुमत ल्याउनु हो । जहाँसम्म वामपन्थी दल र जनमतको कुरा छ, यसमा केही समस्या छन् । वामपन्थी दलहरू निजी स्वार्थमा लाग्ने सानो चित्तका छन् । कतिबेला रिसाउछन् र पार्टी फुटाउँछन् भन्न सकिन्न । जनमत क्यालकुलेटरमा हिसाब गरेजस्तो सजिलो पनि हुन्न । यी दुई कुरामा ध्यान दिनुपर्छ । अर्थात वामपन्थी गठबन्धनमा जति सकिन्छ अन्तर्घात कम गर्ने नै हो । अब विपक्ष गठबन्धन वा आन्तरिक र बाह्यशक्तिले मुख्य रुपमा खेल्ने भनेकै वामपन्थी गठबन्धनभित्रको अन्तर्घातमा हो । यसतर्फ सचेत भएनन् भने कांग्रेसको गठबन्धनलाई फाइदा हुन्छ ।
० एमाले र माओवादी पार्टी एकताको कति नजिक कति टाढा छन् ?
–पार्टीको मूल आधार चुनावको परिणामले देखाउँछ । चुनाव अगाडि नै एकता भएको भए धेरै राम्रो हुने थियो । चुनावपछि एकता गर्ने भन्ने भएकोले चुनावमा कति अन्तर्घात हुन्छ, त्यसले भर गर्छ । अहिलेको स्थितिमा हेर्दा एकता अलिक गाह्रो नै देखिन्छ । तर, यी तीन वाम एकता भइदिए देशका लागि राम्रो हुन्छ ।



