• सोमबार-मङ्सिर-३-२०८१

दुई सांसदको पोल खोलाखोलः मन्त्री गुम्ने खतरा

 

काठमाडौं । कांग्रेसका दुईजना नेताहरुको झगडा सामाजिक सञ्जालहुँदै पार्टीको अनुशासन समितिसम्म पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध सामाजिक सञ्जालमार्फत विषवमन गर्दै आएका सांसद राजेन्द्र बजगाईविरुद्ध कारबाहीको माग भएको छ । पाण्डेले कारबाहीका लागि लिखित निवेदन नै दिएका छन् । 


जब बजगाईले आर्थिक लाभको भरमा मन्त्रालयमा निर्णय लिइरहेको भन्दै चर्को आलोचनामात्र होइन, सामाजिक सञ्जालमार्फत छताछुल्ल पारिदिएका थिए । पार्टीभित्रका केही नेताहरुलाई पाण्डेविरुद्ध कुरा पनि लगाएका थिए । 


पछिल्ला दिनमा यी दुईजनाको झगडाको कारण भने अहिलेसम्म खुलेको छैन । सुरुमा बजगाई आफै मन्त्री हुन चाहन्थे । शेखर कोइरालाको समूहबाट उनी मन्त्रीको दौडमा थिए तर महामन्त्री गगन थापासहितका नेताहरुले उनलाई रोकिदिए । उनलाई मात्रै रोकेनन थापाले पाण्डेलाई अघि सारेर जीवन परियारलाई रोके । कोइराला समूहबाट परियार मन्त्री बन्ने चर्चा थियो । तर थापाले प्रत्यक्ष निर्वाचितलाई मन्त्री बनाउने भन्दै पाण्डेलाई अघि सारे । त्यसो गर्नुको कारण चाहिँ पाण्डेले गुट परिवर्तन गरेर कोइराला समूह छोडेर थापा समूहमा गएको भन्दै बजगाईले नै भन्दै हिडेका छन्  ।त्यसैले पछिल्ला दिनमा कोइरालासँग पनि पाण्डेको दूरी रहेको दाबीहरु भइरहेका छन् । यद्यपी, पाण्डे भने थापा र कोइरालासँग समदुरीमै काम गरिरहेको कांग्रेसका नेताहरु बताउँछन् ।  त्यसरी आपूm मन्त्री हुन नपाएको झोँकसँगै पर्यटनसँग सम्बन्धी केही निर्णयमा पाण्डे र बजगाईको स्वार्थ बाझिएको स्रोतहरुको दाबी छ । 


भैरहवाको होटल टाइगर प्यालेस खरिद विक्रीमा बजगाईको स्वार्थ जोडिएको थियो । उक्त होटलको क्यासिनोमा पनि बजगाईको स्वार्थ थियो । त्यो स्वार्थ अनुसार मन्त्री पाण्डेले निर्णय लिएनन ।त्यसबाट बजगाई रुष्ट भएको पनि बताइन्छ । त्यसो त, बजगाईको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकिारीलाई हटाउने चाहना रहेको थियो । उक्त चाहना अनुसार प्रयासमा पनि गरेको तर पाण्डेले अन्तिम समयमा अधिकारीकै पक्ष लिएको बजगाईको दाबी छ । त्यसैले पनि मन्त्री पाण्डेविरुद्ध लागेको चर्चा रहेको छ ।

 

त्यसैगरी, काठमाडौंबाहिरका केही क्यासिनो सञ्चालन अनुमतिमा पनि मन्त्री पाण्डे र बजगाईवीच कुरा नमिलेको बताइन्छ । कतिपय क्यासिनो उनी आफै लिन चाहन्थे भने केही आफ्नो मान्छेलाई दिन चाहन्थे । त्यसमा मन्त्री पाण्डेले रुची देखाएनन । त्यसैले पनि उनीहरुको झगडा भएको बताइन्छ । सामाजिक सञ्जालमै मन्त्रीविरुद्ध लेख्ने काम भने बजगाईले अनुशासनहिन काम गरेको भन्दै आलोचना भइरहेको छ । पार्टीकै नेताहरुले पनि उक्त कदमको आलोचना गरेका छन् । त्यसैले कांग्रेसभित्र अहिले बजगाईले आफ्नो समर्थक पनि गुमाइरहेको बताइन्छ । मन्त्री पाण्डेले घुस खाएको भएपनि पार्टीभित्र भन्ने र त्यही कारबाही गराउन बजगाई सफल भएको भए राम्रो हुने थियो र भोलीका दिनमा मन्त्री हुने चाहना पुरा हुने संभावना हुन्थ्यो भन्ने पनि गरिएको छ । 


यता, पार्टी भने उनलाई कुनै न कुनै कारबाही गर्ने मनसायमा रहेको छ । कोइराला स्वयम्ले पनि बजगाईले गाली गर्न थालेका छन् । कोइरालाले गाली गरेपछि मन्त्री पाण्डेविरुद्ध लेखेका कतिपय स्टाटसहरु मेटाएका छन् । कोइरालामात्र होइन, आरजु देउवा राणासँग पनि निकट रहेका बजगाईले स्टाटस मेटाएपनि नेताहरुलाई कारबाही भए आफूले सांसद पद नै छोड्ने समेतको धम्की दिएका छन् । 


 भ्रष्टाचारविरुद्ध बोल्न नपाइने भए किन सांसद हुने भन्दै उनले सासदबाट राजीनामा दिने भन्दै नेताहरुलाई धम्की दिइरहेका छन् । यसले गर्दा एउटै गुटका दुई नेताहरुको जुँगाको लडाई अहिले  निकै पेचिलो भइरहेको छ । त्यसलाई शेरबहादुर देउवा र शेखर कोइरालाले कसरी व्यवस्थापन गर्छन् भन्ने चाहिँ चासोको विषय बनेको छ । बजगाई जसरी पनि पाण्डेलाई मन्त्रीबाट हटाउन चाहन्छन् भने पाण्डे जसरी पनि बजगाईलाई कारबाही गराउन चाहन्छन् । यी दुवैको चाहनावीच पार्टीले लिने कदम भने कांग्रेसका लागि रमाइलो बन्ने संभावना देखिएको छ । (साँघु साप्ताहिक, २०८१ मंसिर ३)

प्रतिकृया दिनुहोस