• सोमबार-मङ्सिर-३-२०८१

कहाँ कहाँ हुँदैछ मंसिर १६ गते उपनिर्वाचन ?

 

काठमाडौं । मुलुकका विभिन्न जिल्लाका ४४ स्थानीय तहमा २०८१ मंसिर १६ गते उप–निर्वाचन हुँदैछ । त्यसका लागि हिजो मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सम्पन्न भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । दुई जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र एकजना उपप्रमुखका लागि निर्वाचन हुने  आयोगले बताएको छ । । यस्तै, ३४ जना वडाध्यक्षसमेत गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुने आयोगको भनाई रहेको छ ।


आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वयसमितिका प्रमुखको लागि निर्वाचन हुँदैछ । काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखका लागि पनि निर्वाचन हुने बताइएको छ । मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाको रिक्त अध्यक्ष पदमा निर्वाचन हुन लागेको आयोगले जनाएको छ । दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुने भएको छ ।


यसैगरी, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ र झापाको कन्काई नगरपालिकाको वडा नं ६ मा पनि निर्वाचन हुँदैछ । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वडा नं ८, सुनसरी गढी गाउँपालिकाको वडा नं ६ मा पनि निर्वाचन हुँदैछ । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं १२ र बेलका नगरपालिकाको वडा नं ९ मा पनि निर्वाचन हुने आयोगले जनाएको छ । सप्तरीको डाक्नेश्वरी वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं १ मा पनि निर्वाचन हुने बताइन्छ  ।


महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नं २, रौतहटको ईशनाथ नगरपालिकाको वडा नं ७, राजपुर नगरपालिकाको वडा नं ६ र गढीमाई नगरपालिकाको वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुने आयोगले जानकारी दिएको छ । यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, वडा नं १ र ४ को वडा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ । काठमाडौं महानगरपालिकाको वडा नं १६ को अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । नुवाकोटको ककनी गाउँपालिकाको वडा नं २, मकवानपुरको हेटौंडास्थित उपमहानगरपालिकाको वडा नं १२ र गोरखाको गोरखा नगरपालिकाको वडा नं ५ को वडा अध्यक्ष पदमा निर्वाचन हुने भएको छ ।


यस्तै, गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिकाको वडा नं ४ र बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं ४ को वडा अध्यक्ष पदमा निर्वाचन गरिदैछ । रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिकाको वडा नं १ को वडाध्यक्ष पदमा पनि निर्वाचन हुने लागेको आयोगले जनाएको छ । दैलेखको दुल्लु नगरपालिकाको वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिकाको वडा नं ४ र जाजरकोट कुशे गाउँपालिकाको वडा नं ७ मा पनि निर्वाचन गरिदैछ ।


डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिकाको वडा नं ५, बझाङको सुर्मा गाउँ पालिकाको वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ६, दार्चुलाको दुहुँ गाउँ पालिकाको वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ६ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था रहेको छ । (साँघु साप्ताहिक, २०८१ मङ्सिर ३)
 

प्रतिकृया दिनुहोस