• शुक्रबार-कार्तिक-३०-२०८१

धनराजविरुद्ध गगन चर्किनुका दुई कारण 

 

काठमाडौं । कांग्रसका महामन्त्री गगन थापा खुलेर नै पछिल्ला दिनमा उपसभापति धनराज गुरुङलाई सहकारी ठगीमा अनुसन्धान गर्नुपर्ने बताइरहेका छन् । महामन्त्री थापाले आफ्नै पार्टीको त्यसमा पनि एउटै समूहका नेता धनराजलाई छानबिन गर्न माग गर्दा धेरैले सराहाना पनि गरेका छन् । थापाले आफ्नै पार्टीका उपसभापतिलाई नछोड्न भनेका छन् भनेर थापाको गुनगान गाउने प्रयास पनि भएको छ ।


तर, थापाले त्यसो भन्नुमा चाहिँ गम्भीर रहस्य रहेको बताइन्छ । थापाले दुईवटा कारणले धनराजको विषयमा बोलेको बताइन्छ । संसदीय दलको नेताको उम्मेदवार हुने बेलामा धनराजले थापालाई भन्दा पनि शेखर कोइरालालाई सहयोग गरेका थिए । थापालाई नेता स्वीकार गर्न सकिँदैन भनेर धनराजले कोइरालाको पक्षमा अड्डी लिएका थिए । तर, कोइरालाले नै खुट्टा नटेकेपछि धनराज ब्याक भएका थिए । त्यतिबेला धनराजले थापालाई भोट नै हालेनन् भन्ने चर्चा पनि चलेको थियो । त्यतिबेला उक्त चर्चा थापा समूहबाट नै चलाइएको थियो ।

 

त्यसैले, अहिले उक्त बेलाको बदला लिन खोजिएको पनि बताइन्छ । अर्को कारण चाहिँ कोइरालाको समूह कमजोर बनाउनका लागि पनि थापा समूहले धनराजलाई धेरै उचालेको पनि टिप्पणी रहेको छ । शेखर कोइरालालाई कमजोर बनाएपछि उक्त समूहबाट सभापतिको उम्मेदवार आफू हुने खेलमा थापा रहेका छन् । देउवा समूहबाट सभापतिको टिकट पाउने सम्भावना नभएका कारण शेखर समूहबाट सभापति उम्मेदवार हुनका लागि शेखर कमजोर हुनुपर्ने हुन्छ । शेखरलाई कमजोर बनाउने धनराजसहितका नेताहरुलाई समस्यामा पार्नुपर्ने भएकोले गगनले सार्वजनिक रुपमा बोलेको बताइन्छ । पछिल्ला दिनमा बद्री पाण्डे, जीवन परियारलगायतका शेखरका नेताहरुलाई गगनले हातमा लिइसकेको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६)

प्रतिकृया दिनुहोस