• सोमबार-मङ्सिर-३-२०८१

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१’ सम्पन्न



काठमाडौं । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त प्रयासमा ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाका साथ सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा  २०८१ सम्पन्न भएको छ । सोमबार एक विशेष समारोहकाबीच उक्त उद्धार यात्रा  २०८१ को ३८औँ  दिनमा आएर समापन भएको हो ।


बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको थियो ।


असोज २७ देखि मङ्सिर ३ सम्म पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको थियो । 


विगत वर्षहरुमा पुस÷माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडहरुलाई लक्षित गरी सञ्चालन गरिएको हो । अभियानमा करिब तीन सय जनाको उद्धार गरिएको वरिष्ठ समाजसेवी आनी छोइङ डोल्माले बताइन् । 


उनले भनिन्, ‘मानव सेवाभन्दा अर्को महान धर्म केही छैन । मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक हुने रहनेछन् ।’


साथै उनले सडकमा रहेका बालबालिकाहरुको लागि सरकारले अभिभावोकत्व निभाउन जरुरी रहेको बताइन् । मानव सेवा आश्रम देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन् । तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् ।

 

प्रतिकृया दिनुहोस