• शुक्रबार-कार्तिक-३०-२०८१

डिपी र स्वर्णिमको शीतयुद्धले रास्वपा थकित

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कलह मत्थर हुनेभन्दा पनि बढ्ने क्रममा रहेको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि उपसभापतिद्धय डीपी अर्याल र स्वर्णिय वाग्लेबीच मनमुटाव बढ्दै गएको हो । उनीहरुबीच बढ्दै गएको मनमुटावले कहाँसम्म लैजान्छ भन्ने प्रष्ट भइसकेको छैन तर अन्य प्रमुख दलहरुमाजस्तो द्वन्द्व व्यवस्थापनको कला र अभ्यास नभएका कारणले यो विवादले विकराल रुप लिन सक्ने आंकलन पनि हुन थालेको छ । सभापति लामिछानेपछि पार्टी कसले नेतृत्व गर्ने भन्नेमा अर्याल र वाग्लेबीच शीतयुद्ध भइरहेको छ ।

 

सभापति लामिछानेले कार्यवाहक नतोकेर नै पक्राउ परेका छन् । रास्वपाको विधान अनुसार कार्यवाहकको जिम्मेवारी सभापतिले दिने वा उपसभापतिमध्ये जो बढी उमेरको रहेको छ, उसैले पाउने भन्ने रहेको छ । 


उक्त विधानको व्यवस्था अनुसार सभापति लामिछानेले कार्यवाहक तोकेका छैनन् । उनी प्रहरी हिरासतमा भएका कारणले कार्यवाहक तोक्ने सम्भावना पनि रहेको छैन । त्यसैले, अहिले को कार्यवाहक हो भन्नेमा रास्वपाभित्र विवाद रहेको छ । विधानलाई मान्ने हो भने कार्यवाहकको जिम्मा वाग्लेले पाउनुपर्ने थियो । उनी डीपी अर्यालभन्दा करिब ६ महिना जेठो रहेको बताइएको छ । तर, अहिलेसम्मका सबै केन्द्रीय समिति र अन्य वैठकमा अर्यालले ने नेतृत्व गरेका छन् । पछिल्ला दिनमा राजनीतिक भेटघाट पनि अर्यालकै नेतृत्वमा भइरहेका छन् । त्यसैले, वाग्ले  असन्तुष्ट भइरहेका छन् । कार्यवाहक नदिएपनि राजनीतिक भेटघाटमा सहभागी गराउनुपर्ने वाग्लेको धारणा रहेको बताइन्छ । अर्यालले यसबीचमा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकसहितका विभिन्न राजनीतिक व्यक्तिलाई भेटेका थिए । ती भेटमा अर्यालले प्रमुख सचेतक सन्तोष परियारलाई साथ लिएका थिए, वाग्लेलाई उक्त भेटबारे जानकारी गराएका थिएनन् ।  

 

अहिले अर्यालको समूहमा परियारसहित केही नेताहरु रहेका छन् । पछिल्ला दिनमा मौनजस्तै रहेकी सोविता गौतम पनि सक्रिय भएकी छिन् । अनि बाहिर भने चर्को रुपमा मनिष झा पनि देखिएका छन् । विराजभक्त श्रेष्ठ पनि देखिएका छन् । तर, वाग्लेको समूहमा भने सुमना श्रेष्ठ, तोसिमा कार्की, शिशिर खनालसहितका नेताहरु सक्रिय रहेका छन् । कतिपयले झालाई पनि वाग्लेकै समूहमा राख्ने गरेका छन् । हुन त विगतमा परियारलाई पनि वाग्ले समूहको रुपमा टिप्पणी हुने गरेको थियो । तर, वाग्लेको अतिमहत्वकांक्षालाई नियन्त्रण गर्नुपर्नेभन्दै लामिछानेको ग्रिनसिग्नलपछि नै अर्यालले स्पेस कम दिएको पनि बताइन्छ । त्यसैले, वाग्लेहरु आन्दोलनको अग्रमोर्चामा कम देखिएको पनि बताइन्छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६) 
 

प्रतिकृया दिनुहोस