• शुक्रबार-कार्तिक-३०-२०८१

रिपोर्टरको कोटामा राष्ट्रपतिका सल्लाहकार र अध्यक्ष बाकु उडेपछि राससमा खैलाबैला

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप २९ मा सहभागी हुन अजरबैजान जाने टोलीमा असम्बन्धित व्यक्तिहरु परेको भनेर आलोचना भइरहेका बेला राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल समेत विवादमा तानिएका छन् । 


सरकारले मन्त्रिपरिषदबाट टुंगो लगाएको राष्ट्रपतिको भ्रमण दलमा नपरेका पोखरेल मिडियाकर्मी (रिपोर्टर)को कोटामा सरकारी भत्ता खाएर बाकु उडेपछि समेत खैलाबैला मच्चिएको हाे । 


राष्ट्रपतिका जलवायु मामिला विज्ञ परमेश्वर पोखरेल सरकारी भ्रमण दलमा परेपछि पोखरेलको कोटा थिएन । तर सरकारको खर्चमा बाकु घुम्न जाने रहरले राज्यमन्त्री सरहका राष्ट्रपतिका संचार विज्ञ पोखरेल सरकारी सन्चारमाध्यमका रिपोर्टरको कोटामा उडेको परराष्ट्र स्रोतले जनाएको छ । 


राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनको कोटामा तीन जनाको नाम मिडियाको कोटाबाट भ्रमण जाने स्वीकृत सरकारले गरेको थियो । त्यसमा नेपाल टेलिभिजनका क्यामेरा पर्सन उत्तम सिलवाल परेका छन् । राससबाट कार्यकारी अध्यक्ष धमेन्द्र झा आफैं बाकु उडेको राससमा समेत खैलाबैला र असन्तुष्टि  सिर्जना  गरेकाे छ । 


राससका सम्बन्धित बिटको समाचारदाता जानुपर्ने कार्यक्रममा अध्यक्ष आफैंले लोभ गरेको र रिपोर्टरको कोटामा राष्ट्रपतिको प्रेस सल्लाहकार जस्तो व्यक्ति जानुले पदको गरिमाकै बेइज्जत भएको टिप्पणी भइरहेको छ । यसअघि कोपमा जहिले पनि सम्बन्धित बिटका रिपोर्टर पठाउने चलन थियो । 


बाकु जाने राष्ट्रपतिको टोलीमा प्रथम महिला सबिता पौडेल, विज्ञ परमेश्वर पोखरेल, सचिव नारायण प्रसाद दुवाडी, प्रमुख स्वकीय सचिव छोरी अवज्ञा पौडेल, निजी चिकित्सक निरज बम, अंगरक्षक मनोज बैदवार, मेजर हरिवहादुर श्रेष्ठ समेत सम्मिलित छन् ।

(तस्बिरः राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रथम महिला सविता पौडेलका साथ, २०८१ कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको कोप–२९ सम्मेलनमा सहभागी नेपाली टोली । तस्बिरः धर्मेन्द्र झा/रासस)

प्रतिकृया दिनुहोस