• शुक्रबार-कार्तिक-३०-२०८१

“नैतिक ज्ञान र बौद्धिकताको विकास'': दुई दिने महत्वपूर्ण अन्तराष्ट्रिय सम्मेलन सुरु

 

२९ कार्तिक, काठमाडौं:  जेजुइट संस्थाद्वारा संचालित उच्च शिक्षा संस्था, सेन्ट् जेभियर्स कलेजले विज्ञान, नैतिकता  र समसामयिक मुद्दाहरूमा केन्द्रित दोस्रो महत्वपूर्ण  अन्तर्राष्ट्रिय सम्मेलन (आई.सि.एस.एक्स.सी- २०२४) सुरु गरेको छ। विश्वभरका विद्वानहरू, अनुसन्धानकर्ताहरू, विकास कार्यकर्ताहरू र शिक्षाविद्हरू सहभागी सो सम्मेलन २०८१ कात्तिक २९ गते  बिहीवारदेखि कलेजमा सुरु भएको हो । 

“नैतिक ज्ञान र बौद्धिकताको विकास: 


अन्तरविषय अभ्यास र अनुसन्धान” विषयक सो सम्मेलनमार्फत् विश्वव्यापी चुनौतीहरूको आलोचनात्मक संवाद सुरुगर्ने लक्ष्य लिएको छ। सम्मेलनका प्रमुख अतिथि स्लोभाकियास्थित ट्रान्भा विश्वविद्यालयका प्रा.थलिक मिलोस लिचनर एस.जेले यस प्रयासले नैतिक सिद्धान्तको आलोचनात्मक वहस सृजना गर्न, पूर्वीय र पश्चिमा दृष्टिकोणको प्रवर्द्धन र विश्वव्यापी संवादका निम्ति माध्यम सिर्जना गरेको बताएका थिए । 

सम्मेलनका मूल वक्ता अमेरिकास्थित सान फ्रान्सिस्को  विश्वविद्यालयका प्रा. डा. रिचर्ड काल्हानले सम्मेलनको महत्व संवादमा मात्र सीमित नहुने बताएका छन् । बरु ज्ञान वा मान्यतालाई चुनौती दिएर होस् वा पठनपाठनबाट होस्, ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा कुरामा जोड दिएका थिए ।

 

  सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कलेजका प्राचार्य फादर डा. अगस्टिन थोमस एस.जेले सम्मेलन शैक्षिक ज्ञान आदानप्रदानको मात्र नभई यसले सामाजिक, प्राविधिक, प्राकृतिक विज्ञान, र मानविकीलगायतका अभ्यासहरूमा नैतिक सुधार गर्न सक्ने र भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको बताएका छन् । विश्वभर छरिएर रहेका विद्वानहरुलाई साझा मंच उपलब्ध गराएर आई.सि.एस.एक्स.सी- २०२४ एक अभियानको रुपमा अघि बढेको उनको भनाई रहेकाे थियाे ।  

 

दुई दिने सो सम्मेलनमा  रिचुमेकान विश्वविद्यालय जापानकी प्रा. डा. मिवा हिरोनो, सेन्ट जेभियर्स इन्स्टिच्युट अफ एजुकेशन, भारतका प्रा. डा. विनी सेवास्टियन, त्रिभुवन विश्वविद्यालय, नेपालका प्रा. डा. रामेश्वर अधिकारी,  क्युसु युनिभर्सिटी, जापानका प्रा. डा. शास्वत श्रेष्ठमली र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले आफ्नो प्रस्तुति दिंदैछन्।  

 

सम्मेलनको पूर्ण सत्रपछि विभिन्न तीन सभाकक्षमा नेपाल, अमेरिका, भारत, फिलिपिन्स, स्लोभाकिया, जापान तथा दक्षिण अफ्रिकाका ५० अनुसन्धान पत्र प्रस्तुत कार्यक्रम जारी रहने छ । सन् २०२२ पछि कलेजले आयोजना गरेको यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो ।

प्रतिकृया दिनुहोस