• सोमबार-कार्तिक-१२-२०८१

रवि थुनिएपछि पार्टीभित्र गुटबन्दी सुरु

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र आन्तरिक असन्तुष्टिका संकेतहरु देखिन थालेका छन् । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणका पक्राउ परेसँगै त्यसको संकेतहरु देखिन थालेका हुन् । रास्वपाभित्र वैचारिक अभिमत र राजनीतिक मत राख्न सक्नेको एउटा समूह रहेको थियो भने अर्को समूह चाहिँ लामिछानेका हरेक कदमको समर्थन गर्ने खालेको समूह थियो । 
त्यसबाहेक विभिन्न वैचारिक धरातलबाट पार्टीमा आएका कारण पनि विभिन्न समूह र उपगुटहरु देखिन थालेका थिए । त्यो अहिले झन् प्रष्ट देखिएको चर्चा पनि हुन थालेको छ ।


लामिछाने पक्राउ भएपछि रास्वपाका केही नेताहरुको अस्वभाविक सक्रियतालाई पनि आशंकाका रुपमा हेरिएको छ । पार्टीभित्र निकै महत्वकांक्षी नेताको रुपमा रहेका उपसभापति स्वर्णिम वाग्लेको भूमिकालाई लिएर पनि अहिले आशंका गर्न थालिएको छ । वाग्लेमात्र होइन, प्रवक्ताको भूमिका रहेका मनिष झा, सांसद शिशिर खनाल, तोसिमा कार्कीसहितका केही नेता र सांसदहरुले अतिसक्रियता देखाइरहेका छन् । उनीहरु चर्को अभिव्यक्तिसहित आन्दोलनको अग्रपंक्तिमा देखिएका छन् । 


त्यसैले, रास्वपाभित्र अहिले पूर्वकांग्रेसीहरुको अस्वभाविक सक्रियता भएको भन्दै चर्चा हुन थालेको छ । वाग्ले, झा, खनाललगायतका नेताहरु कांग्रेसबाट रास्वपामा आएका हुन् । उनीहरु नै अहिले सबैभन्दा बढी सक्रिय रहेका छन् । वाग्ले उपसभापति भएका कारणले कार्यवाहक सभापतिको आशामा पनि रहेका छन् । पक्राउ परेका लामिछानेले कार्यवाहकको भूमिका दुई उपसभापतिमध्ये कसैलाई पनि दिएका छैनन् । 


 डिपी अर्याल सभापति लामिछानेका विश्वासपात्र हुन् । उनलाई सभापति लामिछानेले कार्यबाहक दिन भ्याएका छैनन् । रास्वपाको विधान अनुसार जेष्ठ उपसभापतिले कार्यवाहक पाउने व्यवस्था रहेको छ । अर्यालभन्दा वाग्ले ६ महिना जेठो भएको बताइएको छ । त्यसैले, कार्यवाहकको आशामा वाग्ले अस्वभाविक रुपमा सक्रिय देखिएको पनि बताइन्छ । अर्कातिर खनाल भने संसदीय छानबिन समितिमा सदस्य समेत हुन् । उक्त समितिको प्रतिवेदनमा हस्ताक्षर गरेर खनालले लामिछानेलाई पक्राउ गर्ने वातावरण बनाएको आरोप लागेको छ । 


खनालले वाग्लेकै सुझावका आधारमा उक्त प्रतिवेदनमा हस्ताक्षर गरेको चर्चा भइरहेको छ । किनभने सहकारीको ठगीमा लामिछाने जोडिएको र कारबाही गर्नुपर्ने प्रतिवेदनको निष्कर्षमा खनालले हस्ताक्षर गरेपछि रास्वपाभित्रै पनि आशंका भएको थियो । झा भने विगतमा कांग्रेस महामन्त्री गगन थापानिकट भएर काम गरेका व्यक्ति हुन् । हुन त, वाग्ले र खनाल पनि गगन थापाकै टीमका सहयोगी हुन् । अहिले रास्वपाबाट नेता भएका उनीहरु पार्टीको नेतृत्वमा आएर तिनै थापासहित कांग्रेसलाई देखाईदिने मनोविज्ञानले पनि काम गरेको बताइन्छ । त्यसैले, अहिले पूर्व कांग्रेसीहरुको चर्को स्वर सुनिएको चर्चा रास्वपाभित्रै हुँदैछ ।  


पूर्वकांग्रेसको सक्रियता व्यापक देखिएको बेलामा पूर्व एमालेपृष्ठभूमिका नेताहरु कम सक्रिय देखिएका छन् । प्रमुख सचेतकसमेत रहेका सन्तोष परियारदेखि हरि ढकालसम्मको आवाजक कम सुनिएको छ । उनीहरु पनि आन्दोलनमा सक्रिय भएपनि पूर्वकांग्रेसी झैं चर्को रुपमा देखिएका छैनन् । त्यसैले, रास्वपाभित्र अहिले गुट–उपगुटहरुका देखिन थालेको पनि बताइन्छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक १२) 
 

प्रतिकृया दिनुहोस