• सोमबार-कार्तिक-१२-२०८१

‘रवि पक्राउलगत्तै नाराबाजी र आन्दोलन न्यायमाथिको अवरोध हो’

 

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले रवि लामिछाने प्रक्राउ हुने वित्तिकै नाराबाजी र आन्दोलन गर्नु विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैंमा पनि अपराध भएको बताएका छन् । 

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अनुसन्धानको प्रक्रिया बल्ल सुरु हुँदा अदालतले फैसला गरे जसरी हुल गरेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै न्याय माथिको अवरोध मान्य हुन नसक्ने बताए । 

उनले भने, ‘एउटा मुद्दामा धेरै प्रकारको प्रक्रिया हुन्छ, त्यसैले कसैलाई फसाउन, कसैलाई बदनाम गर्न सरकारले चाहेर हुँदैन । विधि र कानुन अनुसार हुन्छ । तर अनुसन्धानको प्रक्रिया बल्ल सुरु हुँदै छ, अदालतले फैसला गरे जसरी हुल, नाराबाजी, आन्दोलन गरेर फलानो व्यक्ति निर्दोष छ किन समाएको, किन राजनीतिक प्रतिशोध राखियो भन्नु जायज होइन । लोकतन्त्रमा विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैमा पनि अपराध हो । न्याय माथिको अवरोध मान्य हुन सक्दैन् ।’

 

यस्तै, उनले सरकार सुशासन प्रवर्द्धन गर्नका लागि कानून बमोजिम काम गर्ने भन्दै कसैको अनुहार हेरेर र कुन राजनीतिक पार्टीसँगको आबद्ध छ भनेर कानूनले काम नगर्ने बताए । उनले भने, ‘सहकारीको कुरा देशको आजको एउटा गम्भीर वहसको विषय हो । केन्द्रीय बहसको विषय पहिलैदेखि नै हो तर एकजना कोही आरोपित वा आशंकित व्यक्तिलाई समाउने वित्तिकै यस्तो गतिविधि ठिक होइन । सरकार सुशासन प्रवर्द्धन गर्नका लागि कानूनीबमोजिम काम गर्छ, अनुहार हेरेर होइन । कुन राजनीतिक पार्टीसँग को आबद्ध छ भनेर होइन् । कानूनले कसलाई कसरी पछ्याउँछ, कानूनले के भन्छ । त्यसको आधारमा राज्यको अनुसन्धान गर्ने निकायहरुलाई सरकारले प्रभावित गर्दैन् ।’ सांसद एवं पूर्वगृहमन्त्री जस्तो भइसकेको मान्छेले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने पनि उनको भनाइ छ । 

 

 

प्रतिकृया दिनुहोस