• शनिबार-कार्तिक-१०-२०८१

लुम्बिनी विकास कोषमा लफडै लफडा : ल्हारक्याल लामाले अत्तो थाप्दा कर्मचारी रुष्ट

 

काठमाडौं । लुम्बिनीलाई बिश्वकै बौद्धमार्गीहरुको आस्थाको केन्द्र मानिन्छ । तर, यतिखेर कोषको गतिविधि नियाल्दा भने लफडै लफडाको संकेत मिलेको छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) र सदस्य सचिव सानुराजा शाक्य लामो समयदेखि तलव र भत्ता बिना नै काम गर्न बिवश रहेको बताइन्छ । उनीहरुले तलव र भत्ता सुविधा दिन कोषले निर्णय त परै जावोस कुनै पहल नगरी पन्छिदै आएको गुनासोे छ । 


जसका कारण कोष उपाध्यक्ष ल्हारक्याल लामाको कार्यशैलीप्रति उनीहरुले तीव्र असन्तुष्टि जनाएका छन् । उपाध्यक्ष लामाले आफूले भने तलव, अन्य सुविधा लिने तर कोषाध्यक्ष भट्टराई र सदस्य सचिव शाक्यलाई दिलाउन निर्णय नगरी पन्छिदै आएको स्रोत बताउछ ।


ल्हारक्याल लामाका कारणले कोषमा कुनै पनि बेला दुर्घटना हुनसक्ने कोषमा कार्यरत कर्मचारीहरूले आशंका गरेका छन् । कोषका कोषाध्यक्ष भट्टराई नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेतासमेत हुन् । सदस्य सचिव शाक्य एमाले निकट मानिन्छन् । शाक्य बौद्ध दर्शन सम्बन्धी गहिरो अध्येता एव विद्वान मानिन्छन् । उनलाई तत्कालीन सरकारले २०७७ असोज २५ मा सदस्य सचिवमा नियुक्ति गरेको थियो । शाक्यले लुम्बिनी गुरुयोजना समयमै सक्ने र स्मार्ट लुम्बिनी बनाउन आफूले योजनाबद्ध रुपमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।


तर, उनको कार्यकालमा यी दुबै प्रतिवद्धता पूरा नहुने पक्कापक्की जस्तै देखिन्छ । उपाध्यक्ष लामा भने माओवादी केन्द्रका केन्द्रीय सदस्य र तीब्बतियन मूलका नेपाली नागरिक मानिन्छन् । उनले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाबाट नेपाली नागरिकता लिएको र एमाले र माओवादी केन्द्रका नेताहरूलाई करोडांै रूपैयाँ चन्दा दिएर विगतमा सविधानसभा सदस्य र अर्थ राज्यमन्त्री बनेको आरोप लाग्दै आएको छ ।


२०८१ असोज ८ गते राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनी महिलवारस्थित फाइभ इलेमेन्ट होटलमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा समितिका सभापति सोनाम गेल्जेन शेर्पा, समितिका सदस्यहरू र कोषका उपाध्यक्ष लामालगायतको उपस्थितिमा कार्यक्रम भइरहेको थियो । सोही बखत निर्माण व्यवसायीहरूको २० जनाको समूहले होहल्ला गर्दै कोषाध्यक्ष भट्टराई र सदस्य सचिव शाक्यलाई हातपात गरेका थिए । हातपातबाट कोषाध्यक्ष भट्टराईलाई सामान्य र सदस्य सचिव शाक्यको मुखमा चोट लागेको थियो ।


लामो समयदेखि गुरूयोजना निर्माण कार्यको रनिङ बिलको ४९ करोड भुक्तानी नपाएको भन्दै व्यवसायीहरूले कोषाध्यक्ष भट्टराई र सदस्य सचिव शाक्यलाई हातपात गरेका थिए । बजेट भएर पनि कमिशनको दररेट नमिलेको कारण नियतबस नै सम्पन्न भैसकेको रनिङ बिलको रकम भुक्तानी रोकेको व्यवसायीहरूले आरोप लगाएका थिए । समयमा कोषमा निर्माण सम्बन्धी कार्य गरिरहेका चारवटा जेभी कम्पनीहरूले रनिङ बिल बापतको रकम भुक्तानी पाउनुपर्ने माग पटक पटक गर्दै आएका थिए । तर, समयमा सम्वोधन नहुँदा अप्रिय घटना हुन पुगेको बताइएको छ ।


बैठक स्थलमा मजदूरहरू आक्रोशित भई धकेलाधकेल गर्दा उक्त घटना हुन पुगेको र कोषाध्यक्ष भट्टराईले निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गरी समाधान गर्न आफू लागिरहेको दावी गर्दै आएका छन् । आफूले पहल गर्दागर्दै हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको भन्दै उनले दुःख मनाउ गरेका छन् । उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरी आक्रमण भएको भन्दै दोषीमाथि कडा कारबाहीको मागसमेत गरेका छन । उनले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय उजुरीसमेत दिएका बताइएको छ । तर, दोषीलाई कारवाही गर्न उपाध्यक्ष लामाले कुनै पहल नगरेको जानाकार स्रोतले बताएको छ ।


रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराई २०७८ माघ २५ गते कोषको कोषाध्यक्षमा नियुक्त भएका थिए । भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिज्ममा स्नात्तकोत्तर गरेका छन् । समाजशास्त्रमा स्नात्तकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारिता क्षेत्रमा पनि आवद्ध छन । कोषाध्य नियुक्ति हुन अघि उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज रहेका थिए ।


उनले नियुक्ति पाएसँगै आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए । तर, उनैका पालामा लुम्बिनी विकास कोषबाट हुने ठेक्का सम्झौता अपारदर्शी र मिलेमतोमा हुने गरेको आरोप लागेको छ । कोषाध्यक्ष भट्टराईले लुम्बिनीको पुरातात्विक माटो सुटुक्क बिक्री गरेको आरोप पनि खेप्दै आएका छन् । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५–११) 

प्रतिकृया दिनुहोस