• शुक्रबार-कार्तिक-९-२०८१

महानिर्देशक राजन पौडेलज्यू, राजमार्गका होटेलको लुट कसले हेर्ने ?

 

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले मुख्य चाड पर्वको समयमा प्रभावकारी रूपमा बजार अनुगमन गर्न नसकेको गुनासो बढेको छ । जसले गर्दा व्यवसायीहरुले यतिखेर बजारमा वास्तविक भन्दा कृतिम रुपमा मूल्य बढाएर आम उपभोक्ताहरुलाई आर्थिक मारमा पारेर ठगी गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । विभागले आवश्यक स्रोतसाधन, जनशक्ति र बजेट अभाव देखाउँदै प्रभावकारी रूपमा बजार अनुगमन गर्नै सकिरहेको छैन । दैनिक तीनवटा टोली खटाएर संघीय राजधानी उपत्यकाभित्र नाम मात्रको बजार अनुगमन गर्दै आएको छ ।


तर, मुख्यतया चाडपर्वको समयमा राजमार्ग केन्द्रित यात्रुहरु बढी ठगी हुनेतर्फ भने बिभागको ध्यान जान सकेको छैन । पृथ्वी राजमार्ग, महेन्द्र राजमार्ग, वीपी राजमार्गतर्फका होटल व्यवसायीहरूले सामान्य आधा प्लेट चना र आलुको १०० रूपैयाँ लिएर यात्रुहरुलाई दिन दहाडै ठगिरहेका छन् । सामान्य खाजाको १ सय ८० देखि २ सय ५०, सादा खानाको तीन सय, मासु सहितको खानाको ४ सय ५० रूपैयाँ लिएर हरेक दिन यात्रुलाई ठगिरहेका छन् । यी होटलहरूको लुटमा भने विभागको अनुगमनता परै जावोस् ध्यानसमेत जान सकेको पाइँदैन । 


स्थानीय प्रशासन र स्थानीय सरकारले पनि राजमार्गका होटलहरूको खाजा, खानाको गुणस्तर, मूल्य निर्धारण र अनुगमनतर्फ पटक्कै ध्यान दिएका छैनन् । राजमार्गका होटलहरूले चाडपर्वमा घर जान लागेका र घरबाट फर्किएका यात्रुलाई व्यापक रूपमा ठगि गर्दा पनि अनुगमनको जिम्मेवारी लिएर बसेको विभागको नेतृत्व टुलुटुलु हेरेर बसेको आरोप पीडितहरुले लगाएका छन । चाडपर्वको समयमा प्रभावकारी रुपमा बजार अनुगमन गर्नुपर्ने मुख्य समाय दशैं अगाडि बजार अनुगमन शाखाका निर्देशक डीकबहादुर कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेको थियो । 


सरुवा भए लगत्तै आफन्तको मृत्यू भएपछि उनी विदामा बसेका थिए । त्यसबखत प्रशासन शाखाका निर्देशक आनन्द प्रसाद पोखरेलले बजार अनुगमन शाखाको पनि जिम्मेवारी पाएका थिए । अनुगमन शाखाका अधिकृत लोकराज सुवेदी र टेक्सटायल इन्जिनियर रहेका अधिकृत अमित झाले उद्योगी, व्यापारीसँग लेनदेन गरे मिलेमतो गरेको आरोप बिभागका कर्मचारीले लगाएका छन ।

 

उनीहरुले बजार अनुगमन फितलो गरेर काला व्यापारी, मुनाफाखोर र बढी मूल्य लिएर उपभोक्ता ठगी गर्नेहरूलाई कारवाही भन्दा पनि आर्थिक लाभ लिएर उपभोक्ता ठगी गर्न छुट दिएको बिभागस्रोतले बताएको छ । व्यवसायीलाई चाडपर्वका बेला मूल्य नबढाउन मन्त्रालयको आग्रह गरेको छ । तर, खुद्रा बजारमा अहिले आटा र मैदा प्रति किलो ८० देखि ९०, १०० रूपैयाँ मूल्य पुगेको छ । बजारमा आटा र मैदाको अभाव भने छैन । तर,  मूल्य वृद्धि भने भएको छ । चाडबाडको समयमा बजारमा विना कारण मूल्य वृद्वि भएपनि विभागले बजार अनुगमन गरी कारवाही गर्न सकिरहेको छैन ।


बजारमा चिनीको अभाव नभए पनि दशैं, आउँदो तिहार र छठ पर्वमा भने उपभोक्ताले महंगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको छ । दशैं अगाडि सरकारले साल्ट टेडिङ कर्पाेरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्सार छुटको १५–१५ हजार मेट्रिक टन चिनी भारतबाट आयात गर्न अनुमति दिएको थियो । साल्ट ट्रेडिङले भने तोकिएको परिमाणमा चिनी आयात गरिसकेको बताइन्छ । खाद्य व्यवस्थाले भने अझै चिनी आयात गर्न सकिरहेको छैन ।


खाद्य व्यवस्था कम्पनीले आफ्नो सुपथ मूल्यका पसलमा साल्ट ट्रेडिङबाट चिनी खरिद गरेर प्रति किलो दुई रूपैयाँ छुट दिएर उपभोक्तालाई बिक्री आएको बताइन्छ । मुलुक भित्रै नयाँ धान उत्पादन भई बजारमा आइरहेको छ । ठिक यही समयमा धान र चामल आयात गर्न विभागले निजी व्यापारीहरूलाई अनुमति दिन लागेको छ । भारतबाट सस्तो धान र चामल आयात भएमा नेपाली किसानले उत्पादन गरेको नयाँ धान बिक्री हुँदैन । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५–११)

प्रतिकृया दिनुहोस