• शुक्रबार-कार्तिक-९-२०८१

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग


काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली एकता मंचले बाढीपहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ । मंचले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो । 


मंचका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचीव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको हो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अखिल भारत नेपाली एकता मंचलाई धन्यवाद दिए । नेपालमा पटक-पटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए । 


बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासका पार्टी कमिटीहरुले पनि योगदान गरेकोमा प्रशंसा गरे ।

 
उनले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहतकोष स्थापना गरिएको, विज्ञहरुको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेकोे पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा बिपक्षी दलहरुको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।  


मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी कमिटीहरुले यसपटक दसैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताए ।
 

 

प्रतिकृया दिनुहोस