• शुक्रबार-कार्तिक-९-२०८१

एसपी तानिए, उद्योगीलाई आतंकित पार्ने सीडीओ चाहिं किन तानिएनन् ? 

 

 काठमाडौं । गृहमन्त्रालयको निर्देशनमा नेपाल प्रहरीले आर्थिक अनियमिततामा मुछिएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख(एसपी) नवराज कार्कीलाई ८ महिनामै हेडक्वार्टर तानेको छ । तर मोरङका उद्योग ब्यवसायीलाई हदै सास्ती दिएर आर्थिक संकलन गर्दैआएको आरोप खेपेका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टरार्ईलाई भने ज्वाइँको सम्मान दिएर राखिएको चर्चा गृहमा हुने गरेको छ । 


गृहमन्त्री रमेश लेखकले उद्योगी ब्यापारीलाई दुःख दिने, आतंकित बनाउने प्रजिअ भट्टराईलाई सरुवा नगरेकोमा आश्चर्य मानिएको हो । उद्योगी ब्यवसायीहरु त्यसै पनि आर्थिक मन्दीको शिकार भइरहेको बेला प्रजिअ भट्टराईले थप पीडा दिने काम गरेको आरोप छ । 


प्रजिअ भट्टराईले परिवारका सदस्य र आफन्तहरुलाई रक्सौलबाट ब्यक्तिगत सामान खरिद गर्न लगाउने, उद्योग प्रतिष्ठानबाट विभिन्न नेता र मन्त्रीका नाममा आर्थिक सहयोग माग्ने, नदिए अनेक निहुँ बनाएर दुःख दिने कार्य गरेको दुखेसो प्रधानमन्त्री कार्र्यालयसम्म पुगेको स्रोत बताउछ । स्रोतका अनुसार, कांग्रेस नेता शेखर कोइरालाको निगाहमा मोरङको प्रजिअ बन्न सफल भएका भट्टराईले उनको नाममा समेत असुली गर्ने गरेको आरोप छ । भन्सारका कर्मचारीसँग समेत प्रजिअ भट्टराईले आफन्तहरुको माग पूरा गराउन दबाब दिने गरेको आरोप छ ।


अहिले डा. कोइरालाकै शक्तिमा उनी मोरङमा टिक्न खोजिरहेका छन् । थुप्रै प्रजिअको सरुवा हुँदासमेत उनी कोइरालाको आडभरोसा पाएर टिकिरहेको स्रोत बताउछ । डा. कोइरालाले यस्ता विवादित सिडिओ भट्टराईलाई संरक्षण गरेकोमा उद्योगी ब्यवसायी आश्चर्यमा परेका छन् । उल्टै कोइरालाले भट्टराईजस्ता काबिल प्रजिअ मोरङले कहिल्यै पनि नपाएको भनेर निकटस्थत कार्यकर्ताहरुसँग भनेर जगहँसाउने कार्य गरेको चर्चा हुने गरेको छ । 


चाकडीमा माहिर भट्टराईले जागिरका अधिकांश समय आकर्षक कार्यालयमा बिताउँदैआएका छन् । सहसचिवमा बढुवा भएपछि लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सचिव, प्रदेशसभाको सचिव हुँदै लामो समय ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका थिए । ललितपुरका मेयर चिरीबाबु महर्जनलाई प्रभावमा पारी उनी त्यहाँ सरुवा भएका थिए । लामो समय ललितपुर महानगरमा बस्दा सप्लायर्स, ठेकेदार, उद्योगी ब्यापारीहरुमार्फत् असुली रमाएको आरोप लागेको थियो ।

 

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापामार्फत् हालकी परराष्ट्रमन्त्री आरजु राणासँग कनेक्सन मिलाएका सहसचिव भट्टराईले सोही सम्बन्धका कारण भक्तपुरको प्रमुख जिल्ला अधिकारी बने । आरजुलाई नै खुसी पारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बने । उनी महानिर्देशक रहेसम्म परेका उजुरी नासु प्रकाश सापकोटा र प्रहरी निरीक्षक दानसिंह मडैमार्फत् सेटिङ गरी चलखेलमा सबै तामेलीमा हालेको आरोप लागेको थियो । 


 विभागको इतिहासमै उनको कार्यकालमा सबैभन्दा कम मुद्दा दर्ता भएको थियो । सबैभन्दा बढी उजुरी पनि तामेलीमा राखिएको थियो । प्रत्येक उजुरी तामेलीमा राख्दा मोलमोलाईका आधारमा करोडौं असुली गरिएको विभागमा कार्यरत त्यतिबेलाका एक उपसचिव बताउँछन् । बिचौलिया रामचन्द्र भट्ट ‘चन्दने’मार्फत् कबोल गरेको रकम नब्ुझाएपछि बुढानीलकन्ठ दरबारमा उनी कालोसूचीमा परेको चर्चा थियो । त्यसपछि डा. शेखर कोइराला क्याम्पमा छिरेका भट्टराई डा. शेखरमार्फत् मोरङको प्रजिअ बन्न सफल भए । अहिले सकेसम्म ललितपुर, नपाए मोरङमै टिक्न उनी डा. शेखरको दिनरात चाकडी गरिरहेको कोइराला निवास स्रोत बताउछ । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५–११) 
 

प्रतिकृया दिनुहोस