• शुक्रबार-कार्तिक-९-२०८१

सचिवको कार्यशैलीका कारण हैरान 

कृषि सचिव डा. गोविन्द प्रसाद शर्मा आचार्य

 

काठमाडौं । कृषि सचिव डा. गोविन्द प्रसाद शर्मा आचार्यको कार्यशैलीका कारण कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी हैरान हुँदै आएको समाचार छ । सचिव शर्मा केही महिना अघि मात्र वन तथा वातावरणबाट सो मन्त्रालयमा सरूवा भएर भित्रिएका थिए । पटक–पटक विदेश भ्रमणमा रमाउने, मन्त्रालयका काम र कारवाहीलाई प्राथमिकता नदिएपछि वनमन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रिपरिषद बैठकमार्फत शर्मालाई कृषिमा लखेटेका थिए । उनी कृषि मन्त्रालयमा सरूवा भएपछि पनि वन मन्त्रालयमा आएको विदेश भ्रमणको निम्तोलाई पुन कृषि तथा पशुपन्छी मन्त्रालयमा सार्न एनजीओ र आइएनजीओका अधिकारीलाई आग्रह गर्दै चलखेलमा लागेको स्रोतले दावी गरेको छ ।


आगामी नोवेम्वर २३ देखि ३० अर्थात २०८१ मंसिर ८ देखि १५ गतेसम्म कोलम्वियाको कालीमा जलबायु परिवर्तन सम्वन्धी अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना हुँदैछ । यूनडीपीको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा वन मन्त्रालयको सचिवलाई निमन्त्रणा गरिएको थियो । उनी वनबाट कृषि मन्त्रालयमा सरुवा हुँदासमेत सोही निमन्त्रणामा जानको लागि जोडबल लगाउँदै आएको मन्त्रालय स्र्रोतले जानकारी दिएको छ । उनी महिनाको  १५ दिन विदेश भ्रमण र आधा समय मात्र देशमा बिताउने गरेको कर्मचारीले गुनासो गर्दै आएका छन् ।


सचिव शर्माको विदेश भ्रमण मोहले गर्दा मन्त्रालयले सम्पादन गर्नुपर्ने महत्वपूर्ण कार्यहरु समयमा हुन नसकेको बताइन्छ । कृषि विभाग, आयोजनालगायत निकायहरूबाट सम्पादन गर्नुपर्ने काममा नीतिगत, प्रकृयागत र संरचनागत समस्या समाधान गर्न ढिलासुस्ती हुँदै आएको चर्चा बाहिर आएको छ । जसले गर्दा मन्त्री अधिकारीले निर्णय गरेका कतिपय फाइलहरू कार्यान्वयनमा आउन नसकेको बताइएको छ ।


तत्कालीन वन तथा वातावरण सचिव डा. पेम नारायण कँडेलले पनि यसरी नै विदेश भ्रमण गरेर दातृ निकायको हितमा काम गर्दै आएको गुनासो कर्मचारीहरुले गर्दै आएका छन् । सोही कारण वन मन्त्रालयमा हुँदा दातृ निकाय र संस्थाहरूलाई खुसी पारेका पूर्व सचिव कंडेल यतिखेर मासिक ५ लाख तलव बुझ्ने गरी इसिमोडमा जागिरे भएको खबर छ । अहिले त्यही रोग कृषि सचिव शर्मामा सरेको चर्चा मन्त्रालयमा चल्ने गरेको छ ।

 

सचिव शर्मा पनि अवकासपछि विदेशी आईएनजीओमा मासिक रुपमा लाखौ तलव पाउने जागिर सुनिश्चित गर्न यतिखेर विदेशी दातृ निकायको हितमा काम गर्ने गरेको आरोप उनी माथि लाग्ने गरेको छ । यही भएर उनी बारम्बार राष्ट्रको हित नहुने र उपलब्धिहीन विदेश भ्रमणमा रमाउँदै आएका छन् । नेपाल फर्किंदा बैंककको बुकेट र पतैयामा बसेर मस्ती मारेर फर्किने र अमेरिकी डलरमा भत्ता बुझेर विदेशी सहयोग रकमको दुरुपयोग गरेको चर्चा मन्त्रालयभित्र चल्ने गरेको स्रोतले बताएको छ । यी सचिवको कार्यशैली प्रति यसअघिका मन्त्रीहरु महिन्द्र राय यादव र डा. बेदुराम भुषालले असन्तुष्टि जनाए पनि सरुवा गर्ने हिम्मत भने गर्न सकेका थिएनन् ।


तर, नेकपा एमालेको तर्फबाट सो मन्त्रालयको नेतृत्व गरेकी तत्कालीन मन्त्री ज्वाला कुमारी शाहले भने उनलाई वन मन्त्रालयमा सरुवा गरेर आफू अनुकूलको सचिवलाई मन्त्रालयमा भित्र्याएकी थिइन । वन मन्त्रालयमा सरुवा भएको ६ महिना नबित्दै उनी पुन कृषिमा फर्किएका हुन् । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५–११) 
 

प्रतिकृया दिनुहोस