• बुधबार-कार्तिक-७-२०८१

रास्वपा : किर्ते नागरिकतादेखि सहकारी ठगीसम्म, दलदलमा भासिँदै वैकल्पिक शक्ति

 

काठमाडौं । २०८१ कात्तिक २ गते शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा लगिसकेको छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणसहित चारवटा आरोपमा अनुसन्धान शुरु भइसकेको छ । पक्राउ परेसँगै प्रहरीले लामिछनेलाई ६० दिनसम्म थुनामा राखेर छानबिन गर्न सक्नेछ । सहकारी ठगीमा छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा अब लामिछानेमाथि कारबाही अघि बढ्ने छ । 


रास्वपा पार्टी कार्यालयबाटै सिआइबीको टोलीले पक्राउ गरी पोखरा लगेर लामिछानेसँग बयान लिन शुरु भइसकेको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ अनुमति दिए अनुरुप सिआइवीले पक्राउ गरेको हो । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा सहकारीको करोडौं रकम लगेर अपचलन गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

 

संसदीय छानबिन समितिले जिवी राई, पूर्व डिआइजी छविलाल जोशी र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा सूर्यदर्शनसहित पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख रूपैयाँ अवैध तरिकाले लगेको ठहर गरिसकेको छ । ती सहकारीबाट रकम लैजाने र खर्च गर्नेक्रममा लामिछाने गोर्खा मिडिया नेटवर्कका प्रबन्ध सञ्चालकको भूमिकामा थिए । यसअघि पक्राउ परेका पूर्व डिआइजी जोशीले सहकारीको रकम ल्याएर अपचलन गर्ने र मिडिया खोल्ने भूमिकामा लामिछाने नै मुख्य पात्र रहेको बताउँदै प्रहरी बयानमा पोलेको  बताइन्छ ।

 

सहकारी रकम अपचलन आरोपमा पक्राउ परी प्रहरी हिरासतमा लिइएका पूर्व डिआइजी जोशीले गोर्खा मिडियामा आउने रकमबारे जीबी राई वा रवि लामिछानेलाई थाहा हुने भन्दै छनबिनमा पोलेका हुन् । यसरी, सांसद सूर्य बहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको सहकारी रकम अपचलन प्रकरणमा लामिछानेमाथि कारबाहीको ठेगान गरिसकेको छ । गोर्खा मिडियामा सूर्यदर्शन, सुप्रिम, सहारा, स्वर्ण लक्ष्मी र सानो पाइला सहकारीसहित विभिन्न सहकारीबाट रकम संकलन भएको ठहरपछि लामिछाने संकटतर्फ धकेलिएका हुन् । 

 

गोरखा मिडियाको हिसाबकिताबमा जीबी राई, जोशी र लामिछानेको संयुक्त बैंक खाता सञ्चालन भई प्रत्यक्ष सहभागी रहेका कारण पनि कानूनी रुपबाट पार पाउन अप्ठ्यारो अवस्था देखिएको छ । यही फेरोमा सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले लामिछानेलाई पक्राउ गर्न माग गर्दै पोखरामा यतिबेला सडक आन्दोलन चर्काइरहेका छन् । लामिछाने आफै र पार्टीका अन्य जिम्मेवार नेताहरुकै अवाञ्चित क्रियाकलापका कारण छोटो समयमै संसदीय राजनीतिमा उदाएर चौथो शक्ति बन्न सफल रास्वपा एक पछि अर्को विवादको चपेटामा पिल्सिन पुगेको छ । 


लामिछाने मात्र नभै रास्वपाका उपसभापति डीपी अर्याल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारी विवादमा मुछिएका छन् । अर्याल र बुर्लाकोटी माथि पनि हाम्रो नयाँ कृषि सहकारी संस्थाको बचत अपचलनमा सर्वसाधारण पीडितले ठगीको आरोप लगाएका छन् । पीडितले दिएको जाहेरी प्रारम्भिक अनुसन्धानको क्रममा छ । यो अनुसन्धान निश्कर्षमा पुग्दा अर्याल र बुर्लाकोटीको स्थिति पनि यसै भन्न नसकिने अवस्था रहेको बताइन्छ । रवि, डीपी र कवीन्द्र प्रकरणपछि पार्टीका नेता एवम् सांसद ढाकाकुमार श्रेष्ठको दुई करोडको डिल बाहिरियो । श्रेष्ठले २०७९ साल चैत ६ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोडको बार्गेनिङ गरेको अडियो बाहिरिए लगत्तै रास्वपाको कारबाहीमा परे । 


  कारबाहीपछि  समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले राजनीतिबाटै हात धुनुप¥यो । श्रेष्ठ र प्रसाईंबिचको अडियो संवादमा तत्कालीन सांसद रहेका श्रेष्ठले मन्त्री बन्नका लागि रविको कोर टीमलाई दिने नाममा प्रसाईँसँग २ करोड रुपैयाँ अफर गरेका थिए । आफू स्वास्थ्य मन्त्री बन्न लागेका कारण पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने र मन्त्री बनेपछि मेडिकल कलेज सञ्चालनका लागि सहजिकरण गरिदिने आश्वासन दिँदै श्रेष्ठले बार्गेनिङ गरेका थिए । समानुपातिक सांसद हुनुअघि पनि श्रेष्ठमाथि पोखराको एक सहकारीको रकम हिनामिना गरेको विषयमा प्रश्न उठिरहेको थियो ।

 

पोखरास्थित साथी किसान सहकारी संस्थाको अध्यक्षबाट हट्दै गर्दा झण्डै एक करोड रुपैयाँ हिसाबकिताब नबुझाई जिम्मेवारीबाट बाहिरिएको आरोप श्रेष्ठमाथि लागिरहेको थियो । ठिक त्यही बेला उनी रास्वपा छिरेर एकाएक समानुपातिक सांसद बन्न सफल भएका थिए । रास्वपाको पहिरो यत्तिमै थामिएन । यसपछि पनि रास्वपाबाटै उपसभामुख बनेकी इन्दिरा राना मगर विवादको भुंग्रोमा परिन् । रानाले भिसा सिफारिसका लागि अमेरिकी दूतावासलाई २५ फेब्रुअरी २०२३ मा लेखेको पत्र सार्वजनिक भयो । संयुक्त राष्ट्र सङ्घको संयन्त्र कमिसन अन द स्ट्याटस अफ वुमनको ६७औँ सत्रका लागि न्यूयोर्कमा हुने कार्यक्रममा लैजाने भनेर चार पुरुष र एक महिलालाई भिसाको अन्तर्वार्ता मिति छिटो बनाइदिन अनुरोध गर्दै अमेरिकी दुतावासलाई पत्र लेखेपछि विवाद छताछुल्ल भयो ।

 

महिला अधिकारको अभियानसँग असम्बन्धित व्यक्तिको अन्तर्वार्ताका लागि किन दूतावासलाई पत्र लेखिन् ? घटना प्रकरण यसै पनि रहस्यपूर्ण छ । अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि रकम लेनदेनका विषय समेत बाहिर चर्चामा आयो । बैना लिएको रकम विचैमा फिर्ता भएपछि रास्वपाभित्रै विवाद दबाउने काम भएको चर्चामा आएको छ । 

 

अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख पदको दुरुपयोग गरेको लाञ्छनासहित संसदमा राजीनामा समेत माग भयो । तर उपसभामुख राना भने सबै आरोप र लाञ्छना पचाएर रोइकराई गर्दै पदमा आसिन रहेकी छिन् । रानाको शंकास्पद क्रियाकलापका कारण अति सम्मानित हुनुपर्ने उपसभामुख पदका प्रतिष्ठा, मर्यादा, गरिमा एकाएक रसातलमा चुर्लुम्म भयो । 

 

त्यसपछि पनि रास्वपाभित्रका घटना परिघटना रोकिएनन् । पार्टीभित्र सानाठूला पराकम्प गइ नै रहे । रास्वपा स्थापना गर्दाखेरी रविका दाहिने हात रहेका पूर्व महामन्त्री मुकुल ढकाल पार्टीबाटै बर्खास्त भए । पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासनमा परे ।  इलाम उपनिर्वाचन लगत्तै ३२ जिल्ला दौडाहा गरेर मुकुलले पार्टीको समीक्षा–यात्रा तय गरेका थिए । देश दौडाहा गरेर सुझाव सङ्कलन गर्दै काठमाडौँ फर्किएपछि उनले प्रतिवेदनको ठेली नै तयार पारेका थिए । विडम्वना, त्यो प्रतिवेदनलाई पार्टीमा छलफलमा लैजाँदैगर्दा रविको कोपभाजनमा परे र बर्खास्तमा परे । महामन्त्री र प्रवक्ता दुबै पद खोसियो । अन्ततः पार्टी राजनीतिमै पूर्ण विराम लाग्यो । मुकुलले प्रतिवेदनमा औंल्याएको रवि लामिछानेको ‘क्लब’ बाट पार्टीलाई मुक्त गराउनुपर्ने सुझाव कार्यान्वयनमा गएको भए सायद रास्वपाको यतिविघ्न दुर्दशा नहुन सक्थ्यो कि ? 

 

एकपछि अर्काे विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टी सहमहामन्त्री सुमना श्रेष्ठ मन्त्री बनेपछि अर्को आरोपसँगै प्रश्न उठ्यो । श्रेष्ठको राष्ट्रियताको विषयमा प्रश्न उठ्यो । सुमनाले विदेशीसँग विवाह गरेका कारण नागरिकताको प्रश्नमा उनी घेरिएकी हुन् । पोल्यान्डका नागरिक पाबल स्वविन्ससँग विवाह गरेको तथ्य सार्वजनिक भएपछि मन्त्री हुँदै उनी विवादमा तानिएकी थिइन् । यसरी, पुराना ठूला दलको विकल्पमा सुशासन र भ्रष्टाचारमुक्त समाजको लोकप्रिय एजेन्डा बोकेर उदाएको एउटा नयाँ पार्टी यति बेला आफ्नै सभापतिको किर्ते नागरिकता र राहदानी हुँदै सहकारी ठगी प्रकरणको पक्राउसम्म आइपुग्दा काण्डै काण्डको जंजालमा फसेर अस्तित्वको सकसमा छ । आफ्नै दुष्कर्मको शिकार बन्दै वैकल्पिक शक्ति हुने सपना दुई तीन वर्षमै गल्र्याम्गुर्लुम्म हुने छाँटकाँट देखिँदै छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५–११) 
 

प्रतिकृया दिनुहोस