• मंगलबार-कार्तिक-६-२०८१

बेकामको पर्यटन बोर्ड किन खारेज नगर्ने ?

 

काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक बर्षको ६ महिना कटिसक्दा पनि नयाँ बजेट ल्याउन सकेको छैन । सरकारले जेठ १५ मा बजेट ल्याएर नयाँ बजेट निर्माणको बाटो खुला गरेको र नयाँ आर्थिक बर्ष साउनबाट सुरु भइसक्दा समेत बोर्डले भने बजेट बनाउन सकेको छैन । बोर्डले बजेट निर्माण सम्बन्धी उपसमिति गठन गरेको छ । उक्त उपसमितिले बजेट निर्माणको कार्यलाई टुंगो लगाएको भनिएपनि अहिलेसम्म बजेट पारित गर्न बोर्डको बैठक बसेको छैन । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव बोर्डको अध्यक्ष हुने व्यवस्था रहेको छ । तर, बोर्ड अध्यक्ष गणेशप्रसाद पाण्डेयले बैठक बोलाउन चासो दिएका छैनन् । २०८१कार्तिक महिनाको दोस्रो हप्ता लाग्न लाग्दासमेत बोर्डको बजेट पारित नभएपछि बोर्डले कहिले र कसरी काम गर्छ ? भन्ने प्रश्न उठ्न थालेको छ । २०८१ भदौमा बोर्डमा नयाँ सीईओ आएका छन् । नयाँ सीईओमा पूर्व सीईओ दीपकराज जोशी आएका हुन् । तर, जोशीले पनि बजेट छिटो ल्याउने विषयमा सक्रियता देखाउन सकेका छैनन् । त्यसो त, मन्त्री बद्रीप्रसाद पाण्डे पनि बजेट छिटो ल्याउने र बोर्डलाई चलायमान बनाउनका लागि चासो दिइरहेको छैनन् । 


नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग केही समय द्वन्द्वमा रमाएका मन्त्री पाण्डे बोर्ड र नेपाल वायुसेवा निगम सुधार भने प्रयास गरिरहेका छैनन् । अधिकारीसँग लाइन मिलाएर मन्त्री पाण्डेले विवाद टुंगो लगाएको स्रोतको दाबी छ । स्रोतका अनुसार, पर्यटन व्यवसायी भोला थापाले यी दुईवीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए र अहिले उनीहरुको विवाद सल्टिसकेको छ । अब मन्त्री पाण्डे प्राधिकरणका महानिर्देशक अधिकारीलाई कारबाही गर्ने पक्षबाट पछाडि हटिसकेको स्रोत बताउछ । 


त्यसैले, उनको ध्यान बोर्डमा नपरेका कारण सचिव पाण्डेयको ध्यान पनि बोर्डको बजेटमा नपरेको चर्चा गरिन्छ । हुन त, सचिव पाण्डेयले पहिलादेखि नै बोर्डको विषयमा धेरै चासो नदिएको मन्त्रालयमा अधिकारीहरु बताउँछन् । काम गर्न भन्दा झगडा गर्ने मनोवृत्ति विकास भएका कारण बोर्डमा पछिल्ला दिनमा कुनै पनि काम नै हुन छाडेको छ । कर्मचारीमा विदेश जानका लागि बार्गेनिङ गर्ने र बजेट नै खर्च गर्न नमान्ने प्रवृत्तिको विकास भइरहेको बेलामा बेलैमा बजेट नआउँदा बेकामे बोर्डको औचित्यमाथि थप प्रश्न उठ्न थालेको छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५–११)

प्रतिकृया दिनुहोस