• सोमबार-कार्तिक-५-२०८१

राजनीतिक वृत्तमा विद्या भण्डारी तरंग

 

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनले दशैंको छेको पारेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । एमाले अध्यक्ष केपी ओलीसँग सम्बन्ध बिग्रिएपछि माओवादीका नेताहरु भण्डारीसँग भेट गरेका हुन् । दशैंको मुखमा दुई नेताहरुले भण्डारीसँग गरेको भेटघाटलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । 


दशैंअघि विद्यादेवी भण्ण्डारीले आफू एमाले अध्यक्ष हुने बाटो अझै बन्द नभएको आशयसहितको अन्तर्वार्ता दिएकी थिइन् । एमालेको सक्रिय राजनीतिमा भण्डारी आउन सक्ने चर्चाका वीच आएको अन्तर्वार्ताले एमालेमा तरंग पैदा गरेर थप चर्चाको विषय बनाईदिएको छ । 


एमालेभित्रमात्र होइन, बाहिर राजनीतिक वृत्तमा पनि चर्चा भइरहेको कारणले भण्डारीका अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको हो । एमालेभित्र पनि भण्डारीनिकट भनिएका नेताहरुलाई अध्यक्ष केपी ओलीले अवसरबाट वञ्चित गराउने र साइजमा राख्ने प्रयास गरिरहेका छन् । एमालेभित्र यो विषय चर्चामा भइरहेका बेलामा अन्तर्वार्ता आएको हो । अनि, पूर्व राष्ट्रपति भण्डारीको त्यो अन्तर्वार्ता आएकै समयमा माओवादी केन्द्रमा नेताद्वय उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव पुनसँगको भेटघाटलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । 


हुन त, उनीहरुको भेटलाई राजनीतिक सन्देशको रुपमा पनि व्याख्या गर्न खोजिएको छ । कपितयले नेकपा ब्युँत्याउने प्रयाससँग जोडेर हेरेका छन् भने अर्को सरकारमा माओवादीको प्रवेशसँग पनि जोडिएको छ । कांग्रेसलाई सत्ताबाट बाहिर राखेर माओवादीको इन्ट्रीको अवसरको खोजीको प्रयासको रुपमा व्याख्या भएको छ । कांग्रेसलाई विदा गरेर माओवादीको इन्ट्री सजिलो भने छैन । संख्याको हिसाबले नै निकै सानो भएकोले पनि समस्या देखिन्छ । त्यसका लागि रास्वपालाई पनि साथ लिनुपर्ने हुन्छ तर रास्वपाका सभापति रवि लामिछानेलाई २०८१ कात्तिक २ गते पक्राउ गरिएपछि परिस्थिति बिग्रिसकेको छ । 


स्रोतहरुका अनुसार, माओवादी नेताहरुले राजनीतिक सन्देश र देउवालाई दबाबमा राख्ने रणनीतिसँग जोडिएको छ । पुन र श्रेष्ठले नेकपा ब्यँुत्याउने र ०८४ को चुनावमा एकसाथ जाने परिस्थिति निर्माणका लागि अहिलेको भेटघाटको वातावरण बनाउने रणनीतिसँग जोडिएको छ । स्रोतको विश्लेषणमा उक्त प्रसंग उठेको भएपनि तत्काल समीकरण परिवर्तन हुने संभावना भने देखिएको छैन । एमालेभित्र त्यो खाले परिस्थितिको पक्षमा माहोल पनि बनेको छैन । अहिले सकेसम्म माओवादीभित्र विवाद सिर्जना गर्ने र सके त विभाजन नै गराउने रणनीति एमाले अध्यक्ष ओली रहेको चर्चा नि सुनिन्छ ।

 
पछिल्ला दिनमा पुनले नयाँ गठबन्धनको प्रयासका लागि भेटघाट बढाउन खोजिरहेका छन् । विद्या भण्डारीसँग भेट गरेका पुनले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटका लागि प्रयास गरेका थिए । तर, देउवाले पुनसँग भेट गर्न भने मानिरहेका छैनन् । स्रोतका अनुसार, सभापति देउवा अहिले सबैभन्दा बढी रुष्ट प्रचण्डसँग भएका कारणले देउवा सहजै माओवादी नेताहरुलाई भेटघाट गर्न चाहिरहेका छैनन् ।

 

यता, पुन र श्रेष्ठले एमालेसँग भेटघाट गर्ने माहोल मिलाइरहेका बेलामा जनार्दन शर्मा चाहिँ एकीकृत समाजवादीदेखि नेत्रविक्रम चन्द विप्लवसम्मलाई भेटघाट गरिहेका छन् । दशैंको बेलामा कपिलवस्तुमा विप्लवलाई भेटेका शर्माले काठमाडौं आएलगत्तै एसका महासचिव घनश्याम भुसालसँग भेट गरेका छन् । शर्माको उक्त भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शर्माले विप्लवलाई भेटेको केही दिनअघि भुसाल र विप्लववीच कपिलवस्तुमा भेट भएको थियो । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५–११)
 

प्रतिकृया दिनुहोस