🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रम्पका विशेषदूत पनि काठमाडौं आउँदै : अमेरिकी–चिनिया बढ्दाे कूटनीतिक दौड

सरकारले कूटनीतिक सन्तुलन गुमाए जोखिम, कुशलता देखाए अवसर...

काठमाडौं । नेपाल फेरि एकपटक शक्तिराष्ट्रहरूको भूराजनीतिक चासोको केन्द्रमा देखिन थालेको छ । नयाँ राजनीतिक परिस्थितिमा काठमाडौंमा अमेरिकी र चिनियाँ कूटनीतिक गतिविधि अस्वाभाविक रूपमा बाक्लिँदै गएको छ । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमणलगत्तै चिनियाँ विशेष प्रतिनिधि काओ जिङ २०८३ वैशाख ७ गते साेमबार काठमाडौं आएर सरकारी प्रतिनिधिहरूसँग अनौपचारिक भेटघाटमा सक्रिय भएपछि राजनीतिक तथा कूटनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको थियाे ।

अमेरिकी सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमणलाई औपचारिक रूपमा नेपाल–अमेरिका सम्बन्ध, विकास साझेदारी र क्षेत्रीय सहकार्यका रूपमा व्याख्या गरिए पनि त्यसको भित्री कूटनीतिक सन्देश अझ फराकिलो रहेको बुझाइ कूटनीतिक वृत्तमा छ । नेपालमा नयाँ सरकार बनेपछि वासिङ्टनले काठमाडौंसँग प्रत्यक्ष संवाद बढाउन खोजेको, क्षेत्रीय सुरक्षा, लोकतान्त्रिक साझेदारी, लगानी र रणनीतिक उपस्थिति बलियो बनाउने संकेत दिएको रूपमा यो भ्रमणलाई लिइएको छ ।

तर, कपुरको भ्रमण सकिन नपाउँदै चिनियाँ विशेष प्रतिनिधि काओ जिङ काठमाडौं आइपुग्नुले विषयलाई अझ संवेदनशील बनाएको छ । २०८३ वैशाख ७ गते नेपाल आएकी काओले सरकारी प्रतिनिधिहरूसँग अनौपचारिक भेटघाट गर्दै नेपालभित्र ‘फ्री तिब्बत मुभमेन्ट’, तिब्बती शरणार्थीको गतिविधि, नेपालमा चीनविरोधी सम्भावित अभियान र बाह्य शक्तिको सक्रियताबारे चिनियाँ सरोकार स्पष्ट रूपमा राखेको बताइन्छ ।

तिब्बत मामिलामा चीनको कडा चासो

चीनका लागि नेपाल केवल छिमेकी मुलुक मात्र होइन, तिब्बत सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील भूभाग हो । त्यसैले नेपालमा तिब्बती शरणार्थी, दलाई लामासम्बद्ध गतिविधि, मानवअधिकारका नाममा हुने राजनीतिक अभियान र विदेशी प्रतिनिधिहरूको भेटघाटलाई बेइजिङले निकै नजिकबाट हेर्ने गरेको कूटनीतिक स्राेत बताउछ ।

काओ जिङको काठमाडौं सक्रियतालाई पनि यही पृष्ठभूमिमा बुझ्नुपर्ने कूटनीतिक क्षेत्रको विश्लेषण छ । अमेरिकी अधिकारीको भ्रमणपछि चीनले ‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धता व्यवहारमै देखिनुपर्ने सन्देश दिन खोजेको देखिन्छ । चीनको मुख्य चासो स्पष्ट छ-नेपालको भूमि चीनविरोधी गतिविधिका लागि प्रयोग नहोस्, तिब्बत मामिलामा बाह्य हस्तक्षेपलाई ठाउँ नदिइयोस् र काठमाडौंले सन्तुलनका नाममा संवेदनशील सुरक्षा विषयमा दोहोरो व्यवहार नगरोस् ।

अमेरिका के खोज्दैछ ?

अर्कोतिर, अमेरिकाले नेपाललाई दक्षिण एसियाली रणनीतिक भू-राजनीतिक नक्सामा महत्त्वपूर्ण बिन्दुका रूपमा हेर्न थालेको विश्लेषकहरू बताउछन् । भारत र चीनबीच अवस्थित नेपालमा लोकतन्त्र, विकास, पूर्वाधार, प्रविधि, सुरक्षा सहकार्य र नागरिक समाजका नाममा अमेरिकी सक्रियता बढिरहेको वर्तमान अवस्था छ । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको भ्रमण त्यसैको निरन्तरता मानिएको थियाे ।

कपुरको भ्रमणका क्रममा विकास साझेदारी, लगानी, क्षेत्रीय स्थिरता, मानवअधिकार, शरणार्थी, प्रविधि र लोकतान्त्रिक संस्थाको मजबुतीजस्ता विषयले प्राथमिकता पाएको बताइन्छ । तर, काठमाडौंका कूटनीतिक विश्लेषकहरू भन्छन्-अमेरिकी शब्दावली विकास र लोकतन्त्र भए पनि यसको भित्री अर्थ चीनको बढ्दो प्रभाव सन्तुलन गर्ने रणनीतिसँग जोडिएको छ ।

अब सर्जियो गोरको पालो

काठमाडाैंमा यही कूटनीतिक तापक्रम बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने विशेषदूत सर्जियो गोर काठमाडौं आउने कार्यक्रम तय भएको बताइन्छ । सर्जियो गोर ट्रम्पको पहिलो कार्यकालमा अतिस विश्वसनीय रूपमा निकट भएर काम गरेका गोर हाल नयाँ दिल्लीमा अमेरिकी राजदूतका रूपमा सक्रिय छन् । उनलाई ट्रम्प प्रशासनको दक्षिण एसिया नीति बुझ्ने प्रभावशाली दूतका रूपमा लिइन्छ ।

नयाँ दिल्लीबाट काठमाडौंतर्फ हुन लागेको गोरको भ्रमणलाई सामान्य शिष्टाचार भ्रमण मात्र मान्न कठिन छ । अमेरिकी सहायक विदेशमन्त्रीको भ्रमण, त्यसपछि चिनियाँ विशेष प्रतिनिधिको सक्रियता र लगत्तै गोरको सम्भावित काठमाडौं यात्रा-यी तीन घटनाले नेपालमा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा नयाँ चरणमा प्रवेश गरेको संकेत गर्छ ।

गोरको भ्रमणमा नेपाल–अमेरिका सम्बन्ध, नयाँ सरकारसँगको सहकार्य, क्षेत्रीय सुरक्षा, भारत–नेपाल–अमेरिका कूटनीतिक समन्वय, चीनको बढ्दो चासाे र तिब्बत मामिलासँग जोडिएका संवेदनशील विषयहरू अप्रत्यक्ष रूपमा उठ्न सक्ने अनुमान गरिएको छ ।

काठमाडौं फेरि कूटनीतिक केन्द्र

नेपालको भूगोल नै यसको शक्ति र चुनौती दुवै हो । उत्तरमा चीनको तिब्बत, दक्षिणमा भारत र विश्व राजनीति पुनः ध्रुवीकृत हुँदै गएको अवस्थामा नेपाल सानो भए पनि रणनीतिक रूपमा ठूलो महत्वको देश बनेको छ । चीन नेपालबाट तिब्बत सुरक्षाको ग्यारेन्टी चाहन्छ । अमेरिका नेपालमा आफ्नो प्रभाव घट्न नदिन सक्रिय छ । भारत नेपालमा कुनै पनि बाह्य शक्तिको अत्यधिक प्रभावलाई सजिलै स्वीकार्ने पक्षमा देखिँदैन ।

यसैले काठमाडौंमा हुने प्रत्येक उच्चस्तरीय कूटनीतिक भ्रमण, प्रत्येक अनौपचारिक भेटघाट र प्रत्येक मौन कूटनीतिक सन्देशको आफ्नै अर्थ रहन्छ र रहँदै आएकाे छ । पछिल्लो वाह्य र शक्ति राष्ट्रहरूकाे गतिविधिले नेपालमा कूटनीतिक दबाब बढेको मात्र होइन, नयाँ सरकारको परराष्ट्र सन्तुलन क्षमताको परीक्षा सुरु भएको संकेत पनि दिएको छ ।

सरकारका लागि कठिन परीक्षा

बालेन्द्र शाह नेतृत्वको सरकारका लागि यो पहिलो गम्भीर भूराजनीतिक चुनौती हो । आन्तरिक रूपमा सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सम्पत्ति संरक्षण र प्रशासनिक सुधारको दबाबमा रहेको सरकार अब बाह्य शक्तिहरूको कूटनीतिक दबाबसँग पनि जुध्नुपर्ने अवस्थामा पुगेको छ ।

नेपालले औपचारिक रूपमा ‘एक चीन नीति’ मान्दै आएको छ । त्यस्तै, अमेरिकासँग लामो विकास साझेदारी र राजनीतिक सम्बन्ध पनि छ । भारतसँग खुला सीमा, आर्थिक निर्भरता, सुरक्षा सम्बन्ध र ऐतिहासिक निकटता छ । यी तीनै शक्ति सन्तुलनमा राख्नु सहज काम होइन । अझ तिब्बत, बीआरआई, एमसीसी, सुरक्षा सहकार्य, प्रविधि, ऊर्जा, पूर्वाधार र क्षेत्रीय रणनीति एकैसाथ जोडिएपछि सरकारको प्रत्येक कदम संवेदनशील बन्ने देखिन्छ ।

कूटनीतिक सन्तुलन गुमे जोखिम, कुशलता देखाए अवसर

नेपालले भूराजनीतिक प्रतिस्पर्धालाई अवसरमा बदल्न सक्यो भने पूर्वाधार, लगानी, कूटनीतिक हैसियत र क्षेत्रीय भूमिका बलियो बनाउन सक्छ । तर, कुनै एक शक्तिको दबाबमा झुकेको आभास मात्र दिए पनि अर्को शक्ति असन्तुष्ट हुने अवस्था छ । यही कारण नयाँ सरकारका लागि परराष्ट्र नीति भावनाबाट होइन, परिपक्वता, धैर्य र राष्ट्रिय हितको स्पष्ट रेखाबाट चल्नुपर्ने अवस्था आएको छ ।

काठमाडौंमा अहिले भइरहेको विशेषदूतहरूकाे दौडधुप केवल भ्रमणको श्रृंखला होइन, सन्देशको आदान–प्रदान मानिएकाे छ । अमेरिका आफ्नो उपस्थितिलाई सक्रिय बनाउन चाहन्छ । चीन आफ्नो सुरक्षा चासोमा कुनै सम्झौता नहोस् भन्ने सुनिश्चित गर्न चाहन्छ । भारत नजिकबाट सबै गतिविधि नियालिरहेको छ ।

निष्कर्ष

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको भ्रमण, त्यसलगत्तै चिनियाँ विशेष प्रतिनिधि काओ जिङको सक्रियता र अब ट्रम्पका विशेषदूत सर्जियो गोरको प्रस्तावित काठमाडौं यात्रा—यी सबै घटनाले नेपाल फेरि शक्तिराष्ट्रहरूको रणनीतिक दृष्टिमा परेको स्पष्ट संकेत गर्छ ।

अब प्रश्न एउटै छ-नेपालले यो कूटनीतिक तानातानमा आफ्नो राष्ट्रिय हित जोगाउँदै सन्तुलन कायम गर्न सक्छ कि शक्तिराष्ट्रहरूको खेलमैदान मात्र बन्छ ? आगामी केही साता काठमाडौंको कूटनीतिक चालचलनले त्यसैको उत्तर दिन्छ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *