काठमाडौं । नेपाल प्रहरीका लागि आवश्यक डीएमएस बुट खरिदमा कुस्ता कमाउने दाउ हेरेर बसेकाहरूको चाहना दोस्रोपटक पनि पूरा नहुने भएको छ । टेन्डरमा सहभागी अयोग्य कम्पनीलाई ठेक्का दिलाउने खेलमा कतिपय प्रहरी अधिकारी लागे पनि यसलाई रद्द गराएर पुनः टेन्डर आह्वान गरिएको छ ।
नेपाल प्रहरीका लागि आवश्यक २४ हजार ६ सय ४६ जोर डीएमएस बुट आवश्यक छ । र, ती जुत्ता यसै आर्थिक वर्षभित्र खरिद खरीसक्नुपर्ने बाध्यता छ । यसका लागि प्रबन्ध निर्देशनालयले २ महिनाअघि नै २०७७ माघ २९ गते टेण्डर आह्वान गरेको थियो । तर भइदियो के भने गुणस्तरीय जुत्ता खरिद गर्नेतिर भन्दा कसरी कुस्ता कमिसन चप्काउने भन्नेतिर प्रहरी अधिकृतको ध्यान गयो ।
यही अभीष्ट निम्ति टेन्डर आह्वानका क्रममा ऐनको परिपालना गर्नुपर्नेमा मिच्ने काम भयो । प्रबन्ध निर्देशनालयका डीआइजी पुरुषोत्तम कँडेल र एसपी प्रेम बस्नेतले आपूर्तिकर्ता राजमान मिश्रसँग सेटिङ गरी डीएमएस बुट आपूर्तिको तानाबाना बुनेका थिए भन्ने आरोप छ । यसका लागि चालू आर्थिक वर्ष सकिएपछि आउने गरी १२० दिनको म्याद दिन पनि उनीहरू राजी देखिएका थिए ।
श्रोतका अनुसार, डीएमएस बुटको ठेक्का आवरणमा विराट थापाको डीएमएस बुट कम्पनीलाई दिइए पनि वास्तविक ठेकेदार मिश्र थिए । तर मिश्रले गुणस्तर रिपोर्ट कीर्ते गरेर पेश गरेको पाइएपछि आईजीपी शैलेश थापाको निर्देशनमा टेण्डर रद्द गरियो ।
डीएमएस बुट कम्पनीले भारतको चेन्नईस्थित एसजीएस कम्पनीबाट गुणस्तर परीक्षणमा पास भएको रिपोर्ट पेस गरेको थियो । जुन रिपोर्ट मूल्यांकनका क्रममा नक्कली पुष्टि भएको थियो । गुणस्तर रिपोर्ट कीर्ते पेस गर्ने डीएमएस बुट कम्पनीको बैंक ग्यारेन्टी बापतको रकम २०७७ फागुन १३ गते प्रहरीले जफत गरेको थियो । श्रोतका अनुसार, डीएमएस बुट कम्पनीलाई कालोसूचीमा राख्न प्रहरीले २०७७ फागुन १४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलमा लेखी पठाएको छ ।
यस अघि गुणस्तर रिपोर्ट कीर्ते गर्ने क्राउन टेक्सटायलका सञ्चालक पिताम्बर मुन्कालाई पक्राउ गरी २६ दिन थुनामा राखेर मुद्दा चलाएको प्रहरीले डीएमएस बुट कम्पनीका सञ्चालक विराट थापालाई पक्राउ नगरी उन्मुक्ति दिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीको निर्देशनमा मुन्कालाई सीआईबीले पक्राउ गरी २६ दिन थुनामा राखेर मुद्दा चलाएको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंले कमजोर प्रमाण भएकाले मुद्दा चलाए पनि अदालतबाट छुटकारा पाउने भन्दाभन्दै प्रहरीको प्रतिष्ठाको सवाल छ भन्दै सीआईबीले जबर्जस्ती गरेपछि दायर गरिएको थियो । तर विराट थापालाई भने कीर्ते रिपोर्ट पेश गर्दा पनि प्रहरीले उन्मुक्ति दिएको छ ।
पहिलो पटक डीएमएस बुट खरिद गर्न गरिएको टेन्डर आह्वानमा चलखेल र बेइमानीको गुञ्जायस भेटिएपछि टेन्डर रद्द गरेर दोस्रो पटक टेन्डर आह्वान गरियो । जसमा ३ वटा कम्पनी प्लस पोइन्ट, न्यू उषा र एसियन फुटवेयर सहभागी भएका थिए । यीमध्ये प्लस पोइन्टले प्रतिजोर ३०३५ का दरले जम्मा ७ करोड ४८ लाखको बोलपत्र पेश गरेको थियो ।
न्यू उषाले प्रतिजोर ३१५५ का दरले ७ करोड ७८ लाखमा आपूर्ति गर्नेगरी प्रस्ताव ग¥यो । एसियन फुटवेयरले १९६५ का दरले ४ करोड ८४ लाखमा बोलपत्र पेश ग¥यो । यी तीनवटै कम्पनीले गुणस्तरको लागि राखिएको ४० प्यारामिटरको नमूना पेश नगरेको श्रोत बताउँछ ।
कसैको चारवटा प्यारामिटर त कसैको पाँच र कुनैको दसवटा प्यारामिटर नपुगेको प्लस पोइन्ट वा एसियन फुटवेयरमध्ये एकलाई दिनेगरी प्रबन्धका डीआईजी कँडेलले तारतम्य मिलाइसकेको चर्चा ठेकेदारहरू बिच चलेको थियो ।
प्लसपोइन्ट वीरेन्द्र जोशीको नाममा दर्ता भएको कम्पनी हो । प्लसपोइन्ट वीरेन्द्र जोशीको नाममा भए पनि त्यसका पछाडि श्रवण अग्रवाललगायत रहेको श्रोतको दाबी छ । अग्रवालले दिल्लीमा गएर नमूना पास गरेर ल्याएकाले उनीहरूको सेटिङ भएको आशंका गरिएको थियो । तर नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीको सुझबुझका कारण गुणस्तरहीन डीएमएस जुत्ता खरिद गर्ने दोस्रो प्रयास पनि विफल भएको छ ।
निर्देशनालयले अघिल्लो टेन्डर रद्द गर्दै पुनः सोही परिणाम र परिमाणमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको छ । उसले २०७८ वैशाख १० भित्र आवेदन बुझाउने गरी डीएमएसहित २० हजार युनिट मस्क्विटो नेट खरिद गर्न २०७७ चैत २६ गते टेन्डर आह्वान गरेको हो । महानिरीक्षक थापा क्षेत्रीको सुझबुझका कारण विगतजस्तो गुणस्तरहीन जुत्ता खरिदको सम्भावना क्षीण बने पनि समयमै आवश्यक सामग्री सप्लाई हुने अवस्था भने छैन ।
पुनः टेन्डर आह्वानकाे सूचना
https://www.nepalpolice.gov.np/images/documents/tender/tender-notice-2077-12-26.pdf



