काठमाडौं । २०७७ माघ ११ गतेबसेको न्यायपरिषद वैठकले उच्च अदालतको मुख्य न्यायाधीशका लागि नृपध्वज निरौलासहित तीनजनाको नाम सिफारिस ग¥यो । परिषदको सिफारिसपछि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार रहेका निरौला उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा नियुक्तिसमेत लिए । निरौलालाई कलिलै उमेरमा प्रशासनबाट ठाडै मुख्य न्यायाधीशमा ‘जम्प’ गर्ने सौभाग्य मिलेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकै प्रस्ताव मुताविक निरौला मुख्य न्यायाधीशमा सिफारिस हुन सफल भएको परिषद श्रोतले जनाएको छ । निरौलासँगै उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेल र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित पनि मुख्य न्यायाधीशमा सिफारिस भएका थिए । सिफारिसको निर्णयपछि गजुरेल र दीक्षितलाई आफूकार्यरत रहेकै उच्च अदालतमा नियुक्ति गरियो । उनीहरू वरिष्ठताका आधारमा उच्चको न्यायाधीशबाटै मुख्य बनेका हुन् । निरौलाको पहिलो पोष्टिङ उच्च अदालत दिपायल भइसकेको छ ।
निरौला न्याय परिषदमा सचिव रहेका बेला तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमन भएको थियो । निरौलाले नै उमेर हद तोकेर घर पठाउन पराजुलीलाई पत्र थमाएका थिए । त्यो पत्र नथमाएको भए पराजुलीले थप तीन महिना प्रधानन्यायाधीशमा बस्न पाउने थिए । त्यसपछि झन् शक्तिशाली बनेका निरौलालाई प्रधानन्यायाधीश राणाले नै मुख्य रजिष्ट्रारमा नियुक्त गरेका हुन् । राणा अध्यक्ष रहेको न्याय सेवा आयोगले वरिष्ठता र कार्यकुशलता हेरी २०७५ साल माघ ९ गते मुख्य रजिष्ट्रारमा बढुवा गरेको थियो ।
निरौलाको प्रगति हेर्दा बर्षेनी फलिफाप भएको देखिन्छ । २०२८ माघ २५ गते खोटाङ जिल्लाको एैँसेलुखर्कमा जन्मिएका निरौलाले २०५२ साल मङ्सिर २४ गते शाखा अधिकृतबाट न्याय सेवा शुरु गरेका थिए । २०६० सालमा आएर सर्वोच्चको उपरजिष्ट्रारमा नियुक्त भए । त्यसपछि उनको प्रगति झन् उकालो लाग्यो । २०६५ सालमा आएर खुल्लातर्फबाट सहरजिष्ट्रार बने । २०७३ साल माघ ६ गते सर्वोच्च अदालतको रजिष्ट्रार बने । त्यसको दुई बर्षमै निरौला मुख्य रजिष्ट्रार सौभाग्य प्राप्त भयो । त्यसको दुई बर्ष वित्दानवित्दै फेरि अहिले उच्चको मुख्य न्यायाधीश बन्ने सफलतापाएका छन् । यही हिसावले अघि बढ्दै जाने हो भने अबको पाँच बर्षपछि नै निरौला सर्वोच्चको न्यायाधीश भएर आउने संभावना छ ।
न्यायपरिषद ऐन, २०७३ ले पाँच बर्ष उच्चको न्यायाधीश वा मुख्य न्यायाधीश नभएसम्म सर्वोच्चमा आउन पाईन्न । पाँच बर्ष मुख्य न्यायाधीश भएपछि मात्र सर्वोच्चको न्यायाधीशमा नियुक्त हुन योग्यतापुग्ने कानुनी व्यवस्था छ । पाँच बर्षपछि सर्वोच्चमै आए पनिअहिले भर्खर ५० बर्षमा टेकेका निरौला ५५ बर्षमै फड्को मार्नेछन् । त्यसलगत्तै प्रधानन्यायाधीशको रोलक्रममा बस्ने छन् । निरौलालाई अहिलेदेखि नै भविष्यका प्रधानन्यायाधीशका रुपमासमेत चर्चा गर्न थालिएको छ । यता निरौलाको ठाउँमा सर्वोच्चका रजिष्ट्रारलालबहादुर कुँवरलाई कामु मुख्य रजिष्ट्रारमुकरर गरिएको छ ।



