(कोरोना भाइरसको महामारीको चपेटामा परेको गाडीलाइन अहिलेसम्म सुधारिन सकेको छैन । अहिले गाडी त खुलेका छन् तर पूर्णरुपले चलाउन पाएका छैनन् । जोरविजोर प्रणालीले न त कोरोना रोकेको छ नै न त गाडीले आम्दानी गर्न पाएका छन् । यस्तोमा गाडी साहुलाई राहु लागेजस्तै भएको छ । तीन तीन वटा गाडीका मालिक एवं स्वरोजगार सडक पाइलट शिव घिमिरेको हालत त्यस्तै छ । ३४ वर्षीय रामेछापका यी युवालाई अहिले छट्पटी भइरहेको छ । त्यसपछि सरकारको बेवास्ता र बैंकको ताकेताले सही नसक्नु भएको छ । बा ३ ख ८३८९ नम्बरको गाडी चलाइरहँदा भेटिएका घिमिरेले यसरी आफ्नो पीडा खोलेका छन् सडक पाइलटसँगको अन्तरंगमा साँघु प्रतिनिधिसँग–सम्पादक)
० गाडीलाइनमा लागेको कति भयो ?
–१० वर्षदेखि गाडी चलाइरहेको छु ।
० ढोकामा बस्न परेन ?
–ढोकामा बसिएन । सीधै गाडी चलाएको हुँ ।
० कसरी मौका मिल्यो त यो लाइनमा ?
–एयरपोर्टको भन्सार कार्यालयमा सामना लोड गर्ने मेसिन चलाएँमैले । राम्रो काम थियो । त्यहीँबाट हात बस्यो । त्यति नै बेला गाडी किनेको थिएँ । तर चालकले राम्रो चलाएन अनि बाध्य भएर आफैले चलाउनआएँ ।
० एयरपोर्टको जागिर छाडेर ?
–बाध्य भइयो । गाडीमा लगानी थियो । लगानीको माया लाग्यो ।
० के भयो र त्यस्तो आफ्नै चिनेको चालक त होला नि ?
–चालकले राम्रो चलाएन । ड्राइभरले नै गाडी खाइदेला भनेजस्तो भयो । अनि बाध्य भएँ । हेर्दा साहुलाईगाडी छ जस्तो हुन्छ । उनीहरूआफूलाई पूरा गरेपछि मात्र साहुलाई दिने हुन् ।
० कहाँ चलाउनु हुन्छ ?
–धुलिखेल रत्नपार्क, मूलपानी रत्नपार्क, रिङरोड धेरै ठाउँको लिएको छु । जता चलाए पनि हुने ।
० कस्तो छ त आम्दानी ?
–लकडाउनभन्दा अगाडि राम्रो थियो । लकडाउनले थला पारिरहेको छ ।
० चलाउनु भयो लकडाउनमा ?
–लकडाउनका बेलामा चलाउनै पाइएन । कसैकसैले टिप पाए । एक दुई टिप त गरेंँ त्यसले त केही हुने कुरै भएन । पैसा कम आउने भयो । भोलेन्टियरी जस्तो भयो । बिचौलियाले खायो । नगरौं भने गाडी खाली । गरौं भने बिचौलिया । अनि गर्न मन लागेन ।
० लकडाउनपछि त ठीकै होला नि ?
–कसरी ठीक हुनु । सरकारले जोरविजोरको नियम लगाएको छ । यही नियमले गर्दा कामै छैन ।
० सिट क्षमताभन्दा त बढी नै चढेका छन् त यात्रु ?
–त्यही त सिटमा भन्दा बढी मान्छे चढ्छ । यसरी मान्छे चढ्दा त सरकारले जोरविजोर हटाउनु पर्ने नि । यसमा सरकारको नियत के हो भन्ने नै बुझ्न सकिएन । खुल्नुपर्ने हो ।
० कोरोना रोक्न खोजेको हो कि ?
–कसरी रोकिन्छ कोरोना । जोरविजोर भएपछि त गाडी झन् कम चल्ने भए । अनि मान्छे भरेर चलाउनु पर्ने भयो । यात्रु पनि धेरै समय कुरेको हुन्छ । अनि वाध्य भएर हुलमुलमै चढ्छ । सबै गाडी खुले त मान्छे पनि पाइन्थे । अनि सीटभन्दा बढी पनि चढ्ने थिएनन् । अहिले त जवरजस्ती चढ्छन् । जोरविजोर खुले त मान्छे सजिलै चढ्छन् । हामीलाई पनि रोजगारी मिल्थ्यो ।
० बैंक ऋण त छैन होला, लकडाउनमा समस्या भएन नि ?
–बैंक ऋण छ । बैंक नभई गाडी चलाउन सकिँदैन । बैंक र इन्स्युरेन्स त हुनैपर्छ । लकडाउनका बेलामा किस्ता हालिएको छैन । बैंकले फोन गरेको ग¥यै छ । बैंकहरू सुविधा नदिने हामीले पैसा कसरी तिर्ने । ऋण खाएपछि तिर्नैपर्छ तर हामीलाई टाइम दिनुप¥यो ।
० अब त तिर्न सकिन्छ होला नि ?
–अहिले पनि पूर्णरुपमागाडी चलेको छैन । महिनाको १५ दिन चलेको मात्र न हो ।
० कोरोनाको डर पनि त हुने भयो नि ?
–मान्छे नराखौं आम्दानी हुँदैन । मान्छे त राख्नै प¥यो । डराइडराई भए पनि मान्छे बोक्नु परेको छ ।
० यसरी बाहिर निस्कदा घरमा समस्या हुँदैन ?
–समस्या छ । मान्छे नबोकी भएन । त्यसैले घरमा छुट्टै बस्छु । समस्या त छ नि ।
० साहुलाई त गाह्रो पा¥यो है ?
–त्यही त । समस्या पूरै प¥यो । दिनकै आम्दानी हुने भए पो हुन्थ्यो । यही काम गर्छु भनेर लागिसकेपछि अलपत्र परियो ।
० के छ त अबको योजना ?
–मेरा तीन वटा बस छन् । मालबाहक ट्रक एउटा भएको भए राम्रो हुन्थ्यो । स्टाफ पाल्नुप¥यो । पालिएन भने भोलिदेखि उनीहरू आउँदैनन् ।
० सरकारले सुविधा दिएको होला नि ?
–सरकारले करसमेतछुट दिएको छैन । पहिले भन्दा बढी पो कर लिएको छ झन् ।
० कसरी बढी लियो नि ?
–सरकारले कर छुट दिनुपर्नेमा अहिले एक प्रतिशत बढायो । १६ हजार तिर्नुपर्नेमा १७ हजार तिर्न परिरहेको छ । लाइसेन्स पनि दुई हजार तिर्दा पुग्थ्यो अहिले ३ हजार तिर्नुपरेको छ । अन्याय भयो नि ।
० सरकारले राहत दिएन ?
–सरकारले राहत दिन्छौं भन्यो केही दिएन । सरकारले यातायात क्षेत्रलाई हेरेको छैन । हेर्दैन जस्तो लाग्छ ।
० बालबच्चा कति छन् ? पढाई कसरी भयो ?
–एउटा छोरा, ७ वर्षको । पढाइ त अनलाइनबाट भन्छ । एक घण्टामात्र पढाउँछ । बल्ल भदौदेखि सुरु गरेको हो । ठूलो कक्षामा त पहिलेदेखि चलाएको रहेछ ।
० अब विद्यालय पठाउने कि नपठाउने ?
–स्कूलले कस्तो गर्छ हेरेर कक्षा हेरेर पढाउने हो । त्यत्तिकै पठाउने कुरा भएन ।
० गाडीलाइन कस्तो छ ?
–यो लाइन पहिले ठीक थियो अहिले त चेञ्ज गरौं जस्तो छ । यो लाइन नै धरासायी बन्ला कि जस्तो छ । बैंकले कालोसूचिमा राख्ला भन्ने त्रास पनि छ । अब टिक्ने अवस्था नभएपछि धेरै गाडी छन् भनेर के गर्ने ।



