काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको e-Government Procurement System (e-GP) मा अनधिकृत पहुँच पुर्याएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोले थप दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो प्रहरीका अनुसार आर्थिक प्रस्ताव खोलिनुअघि नै प्रस्तावसम्बन्धी डकुमेन्ट परिवर्तन गरिएको उजुरीपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो । सोही क्रममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर ब्यूरोको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सिरहा लहान–९ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षीय स्वदेश पोखरेल छन् । उनी ईन्कोन प्रा.लि.का शेयरधनी तथा लेखापाल रहेको नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)ले जनाएको छ । उनलाई २०८३ वैशाख १२ गते काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।
त्यस्तै, नुवाकोट ककनी–३ घर भई हाल काठमाडौं बालाजु बस्ने ४१ वर्षीय प्रकाश ढुंगाना पनि पक्राउ परेका छन् । उनी कल्पवृक्ष बिल्डर्स प्रा.लि.का सञ्चालक हुन् । उनलाई २०८३ वैशाख १३ गते बालाजुबाट पक्राउ गरिएको हो ।
ठेक्काको आर्थिक प्रस्ताव खुल्नुअघि नै डकुमेन्ट हेरफेर हुनु सामान्य साइबर अपराध मात्र नभई सार्वजनिक खरिद प्रणालीमाथिकै गम्भीर प्रहार मानिएको छ । यसले सरकारी ठेक्कामा प्रविधिको नाममा ‘डिजिटल सेटिङ’ चलिरहेको आशंकालाई थप बल दिएको छ ।
हाल पक्राउ परेकामाथि संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



