मनाङ । सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालय, हुम्दे, माथिल्लो मनाङमा उच्च हिमाली खोज तथा उद्धारसम्बन्धी विशेष तालिम सञ्चालन गरिएको छ ।

तालिमअन्तर्गत SN 2 High Altitude Search and Rescue (Advance) Course मा सहभागी प्रशिक्षार्थीहरूले काङ्ला पास ५,३२० मिटर उचाइ पारिको हिमनदी क्षेत्रमा Ice Craft and High Mountain Rescue अभ्यास गरेका हुन् ।

हिमाली भू–भागमा हुने दुर्घटना, हिमपहिरो, हिमनदीमा फस्ने अवस्था, चिप्लो बरफमा हिँडडुल, डोरी प्रयोग, उद्धार उपकरणको परिचालन र घाइतेको सुरक्षित उद्धारजस्ता विषयमा प्रशिक्षार्थीहरूलाई व्यवहारिक अभ्यास गराइएको जनाइएको छ ।
नेपालको हिमाली क्षेत्रमा पदयात्री, आरोही तथा स्थानीय बासिन्दा दुर्घटनामा पर्ने जोखिम उच्च रहने भएकाले यस्तो तालिमलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । विशेषगरी मनाङ, मुस्ताङ, सोलुखुम्बु, दोलखा, रसुवा लगायतका उच्च हिमाली क्षेत्रमा उद्धार दक्ष जनशक्ति आवश्यक हुने भएकाले सशस्त्र प्रहरी बलले पर्वतीय उद्धार क्षमताको विकासलाई प्राथमिकतामा राख्दै आएको छ ।
हिमनदीमाथि कठोर चिसो, बाक्लो हिउँ, तेज घाम र कठिन भूगोलबीच गरिएको अभ्यासले प्रशिक्षार्थीहरूको आत्मविश्वास र व्यावसायिक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । तालिममा सहभागी सुरक्षाकर्मीहरू पूर्ण उद्धार पोसाक, हेल्मेट, आइस एक्स, क्र्याम्पोन, डोरी तथा अन्य पर्वतीय उद्धार सामग्रीसहित अभ्यासमा सहभागी भएका थिए ।
सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय, हुम्दे, माथिल्लो मनाङले उच्च हिमाली क्षेत्रमा हुने सम्भावित विपद्, दुर्घटना र उद्धार कार्यका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
(तस्बिरमा : काङ्ला पास पारिको हिमनदी क्षेत्रमा आइस क्राफ्ट तथा हाई माउन्टेन रेस्क्यु अभ्यास गर्दै सशस्त्र प्रहरी बलका प्रशिक्षार्थीहरू ।)



