काठमाडौं । सशस्त्र प्रहरी बलमा हाल ७ जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त रहेको छ । रिक्त पदमा बढुवाको लागि गृह मन्त्रालयका सचिवकाे नेतृत्वमा रहने बढुवा समितिले अहिलेसम्म बढुवा प्रक्रिया अगाडि बढाएको छैन । २०८३ वैशाख ९ गते बुधवार गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका कारणले पनि बढुवा समितिकाे बैठक बस्न नसकेकाे स्राेत बताउछ । गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले नै संहाल्दै आएका छन् । त्यसैले मन्त्रालयको नेतृत्वमा नयाँ मन्त्री नआएसम्म तत्काल बढुवा सिफारिस नहुने हाे कि भन्ने आशंका पेदा भएकाे छ ।
सशस्त्र प्रहरीमा २०८२ पुस २२ गते कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ पाँचवर्षे डीआईजीको पदावधिका कारण अनिवार्य अवकास गएका थिए । उनीहरूको चार वर्षे पदावधि पुगेर पनि एक वर्ष थप गरिएको थियो। थपिएको पदावधिसमेत पार गरेर उनीहरू अनिवार्य अवकाश गइसकेका छन् । ०८२ फागुन १ गते बराह वाहिनी इटहरीमा कार्यरत कुमार न्यौपाने सेवा अवधिका कारण अनिवार्य अवकास गएका थिए । चार वर्ष ८ महिना डीआईजी पदमा सेवा गरेर उनी अवकास गएको बताइन्छ ।
०८२ असारमा उनको चार वर्षे पदावधि सकिएता पनि तत्कालीन सरकारले बाँकी अवधिका लागि पदावधि थपको निर्णय गरेको थियो । थपिएको अवधि बाँकी रहेतापनि उनी भने ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएको संगठन स्रोतले जानकारी दिएको छ ।
डीआईजी पद रिक्त भएको महिनौं बितिसकेको छ । तर, ०८२ फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको आचारसंहिताका कारण बढुवा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहको नेतृतवमा नयाँ सरकार गठन भएको एक महिना पुग्दासमेत पनि बढुवा प्रक्रिया अगाडि बढ्न नसकेको विषयले संगठन भित्र असन्तुष्टि छाएको स्राेत बताउछ ।
यसअघि अन्तरिम सरकारले तीनजना डीआईजीको दरबन्दी थप गरेको थियो । जसमध्ये दुईवटा दरबन्दी साधारण र एउटा कानून समूहतर्फको रहेको छ । थप भएका दरबन्दीमा सयममा बढुवा हुन नसक्दा कतिपय विभागमा एसएसपी कामु प्रमुखकाे भूमिकामा रहेका छन् । यतिखेर नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत र ७ नम्वर वैद्यनाथ बाहिनी अत्तरिया कैलालीमा एसएसपीले निमित्त भएर कार्य सञ्चालन गर्दै आएको बताइएको छ ।
यस्तै, स्टाफ कलेज, सीमा सुरक्षा विभाग पनि डीआईजीको दरवन्दी रिक्त रहेको छ । मानव स्रोत र कार्य विभागमा पनि डीआईजीहरु थप गर्ने भनेपनि एक–एक जना मात्रै कार्यरत रहेका छन । साधारण समूहतर्फको बढुवामा पनि सिसं २ का एसएसपीहरू बढुवाको प्रतिस्पर्धामा रहेका छन । सिसं २ का दुई एसएसपीहरू दीपेन्द्र बहादुर कुँवर र विष्णु प्रसाद भट्ट समूहलाई उछिनेर डीआईजी भइसके ।
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले एसएसपी युवराज अर्याललाई बढुवा गर्न ०८२ मंसिर २ गते कानून महाशाखामा एक डीआईजी दरबन्दी थपको निर्णय गरेका थिए । कानून शाखाका प्रमुख एसएसपी अर्याल ओम प्रकाशका भतिजा रहेकोले उनकै बढुवा हुने निश्चित प्राय रहेको चर्चा चल्ने गरेकाे छ ।
१४ जनाको दरबन्दी रहेको कानून शाखामा डीआईजीको दरवन्दी थप गरिएसँगै तल्लो तहमा पनि तत्कालै बढुवा हुने देखिन्छ । सिसं २ का अर्याललाई डीआईजीमा बढुवा गर्न कुनै समस्या नरहेको संगठन स्रोतले दावी गरेको छ ।
विगतमा राजनीतिक पहुँच भएकाहरुलाई बढुवामा प्राथमिकता पाउँदै आएका थिए । तर, यसपटक के होला यसै भन्न सकिने अवस्था छैन । असईमा सेवा प्रवेश गरेर हाल एसएसपी रहेका प्रविण कँडेल पहिलो नम्बरमा डीआईजी हुन चाहिरहेकाे चर्चा छ । कार्यक्षमता कमजोर रहेका उनको बढुवा रोक्न केही एसएसपीहरू लागिपरेका छन् । उनीपछि बढुवाका लागि सिंस २ का एसएसपीहरु मुख्य दावेदार मानिएका छन् ।
जसमा दिग्विजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत प्रतिस्पर्धी रहेका छन् । यस्तै, माधव प्रसाद पौडेल, राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल र किरण ढुंगाना वरीयताामा अगाडि रहेको संगठन स्रोत बताउँछ ।



