ललितपुर । ललितपुर महानगरपालिका–११, चिल्ड्रेन पार्क–शंखमूल सडकखण्डमा पैदल हिँडिरहेकी एक महिलाको घाँटीबाट लकेटसहितको सुनको सिक्री लुटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ वैशाख ७ गते भएको उक्त घटनाको अनुसन्धानका क्रममा ललितपुर महानगरपालिका–२०, कुहेनी बस्ने ३२ वर्षीय रिक्की डंगोल पक्राउ परेका हुन्। उनलाई लुटिएको लकेटसहितको सुनको सिक्री तथा लुटपाटमा प्रयोग गरिएको स्कुटरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पैदलयात्री महिलामाथि स्कुटरमा आएका व्यक्तिले अचानक झम्टिएर घाँटीमा लगाएको सुनको सिक्री लुटी फरार भएका थिए। घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै संलग्न व्यक्तिसम्म पुग्न सफल भएको हो।
प्रहरीले पक्राउ परेका डंगोलको साथबाट बा ९० प ६२७८ नम्बरको एभिएटर स्कुटर एक थान र लकेटसहित २.७ तोलाको सुनको सिक्री एक थान बरामद गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका डंगोल यसअघि पनि डाँका, चोरी तथा लागूऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको खुलेको छ। यसले उनी पुरानै आपराधिक पृष्ठभूमि भएका व्यक्ति रहेको संकेत गरेको प्रहरी स्रोतको भनाइ छ।
राजधानीकै व्यस्त सडकखण्डमा दिनदहाडै झम्टिएर सुनका गरगहना लुट्ने घटना दोहोरिन थालेपछि सुरक्षाप्रति प्रश्न उठ्न थालेको छ। विशेषगरी महिलालाई लक्षित गरेर हुने यस्ता लुटपाट नियन्त्रणमा थप कडाइ आवश्यक देखिएको छ। प्रहरीले भने घटनामा थप संलग्नता, पूर्वअपराध र सम्भावित सञ्जालबारे अनुसन्धान जारी रहेको जनाएको छ।



