बाँके । नेपाली सेना रणबम गणले सैनिक अस्पतालका विशेषज्ञ डाक्टरसहितको टोली तथा राप्ती सोनारी गाउँपालिका कार्यालयसँगको सहकार्यमा बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थित शिवशक्ति माध्यमिक विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

२०८३ वैशाख ०८ गते सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरबाट करिब सात सय जना स्थानीयवासी लाभान्वित भएको जनाइएको छ। शिविरमा विभिन्न रोगको परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो।
दुर्गम तथा ग्रामीण क्षेत्रका बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। विशेषज्ञ चिकित्सकसहितको टोली गाउँमै पुगेर सेवा दिएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।
नेपाली सेनाले समयसमयमा यस्ता सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको छ। रणबम गणको यस पहलले स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यलाई समेत प्रभावकारी रूपमा अघि बढाएको देखिएको छ।



