२०४६ सालमा देशमा प्रजातन्त्र स्थापन भयो । त्यसको करीब दुई वर्षपछि सुरु भयो राजनीतिक नियुक्तिको दौड । सरकारका प्रतिनिधिहरुले आफ्नो निकटका व्यक्तिहरुलाई कारखानाको मुख्य पदमा नियुक्ति दिने प्रवृतिको सुरुवात हुन थाल्यो । एक समयमा देशैभरिमा सबैभन्दा बढि आम्दनी गर्ने जनकपुर चुरोट कारखाना राजनीतिक नियुक्तिको होडबाजीका कारण घाटामा जान थाल्यो ।

कारखानामा काम गर्ने पूर्वकर्मचारीहरुका अनुसार धनुषाकै ख्याती प्राप्त नेताहरुको राजनीतिक स्वार्थ र आसेपासेको नियुक्तिका कारण जचुकाली बन्द नै गर्नुपर्ने अवस्थामा पुग्यो ।

जनकपुर चुरोट कारखानाको जनकपुरमा मात्र ३३ विघा ६ कठ्ठा जग्गा रहेको छ भने अन्य २२ ठाउँमा पनि जग्गा रहेको छ । जनकपुरधाममा रहेको कारखाना परिसरमा चुरोट बनाउने मात्र नभएर प्रिन्टिङ प्रेस –छापा खाना), वर्क सप, पावर हाउस –विजुली उत्पादन गर्ने प्लान्ट) रहेको छ । रसियाबाट ल्याइएको मेसिनहरु आजको दिनसम्ममा कुनै खासै क्षति भएको देखिदैन ।

कारखानाका ७२ वर्षिय रिटायर कर्मचारी सेठ साहुका अनुसार प्राविधिक टोली र विज्ञहरुले प्रयास गरे चुरोटकारखाना मात्र नभई, छापा र वर्कसप पनि सुचारु गर्न मिल्ने अवस्थामा रहेको छ । उनका अनुसार बन्द हुने समयमा कुनैपनि मेसिन बिग्रिएको थिएन, सबै चालु अवस्थामा रहेको थियो ।

कतिपय मेसिनहरु ६ महिना पनि प्रयोग भएका थिएनन, देश बाहिरबाट विशेष ब्राण्डका अर्डर बनाउनका निम्ति मगाइएको थियो । ती मेसिनहरु जस्ताको त्यस्तै अवस्थामा रहेका छन् । सर्भिसिङ र इलेक्ट्रिोनिक पाटर््सहरु ममर्त गरेभने थोरै लगानीमा कारखाना फेरि सुचारु गर्न सक्ने उनले जानकारी दिए ।

कारखाना परिसरमै रहेको प्रिन्टिङ मेसिनमा पत्रपत्रिकादेखि लिएर कागजमा प्रिन्ट हुने हरेक थोक र आकारका प्रिन्टिङका कार्यहरु गर्न मिल्ने मेसिन रहेको छ । उक्त मेसिन सर्भिसिङ मात्र गर्ने हो भने कम जनशक्तिमा तत्कालै प्रयोगमा ल्याउन सक्ने देखिन्छ ।

त्यस्तै, कारखाना परिसरमै रहेको वर्कसपमा फलामसँग सम्बन्धित कार्यहरु गर्न मिल्ने लेथका मेसिनहरु प्रयोगविहीन अवस्थामा रहेका छन् । सेठ साहुका अनुसार यो वर्कसपमा मोटरसाइकल र गाडिको इन्जिनका पार्टसहरु पनि बनाउन सकिने सामानहरु उपलब्ध छ । बजारमा नपाउने फलाम र लेथका औजारहरु भरिपूर्ण रहेको छ । सरकारले ध्यान दिए यस वर्कसपबाट तत्कालै उत्पादन कार्य सुरु गर्न सकिने सेठ साहुको भनाइ छ ।

त्यस्तै, कारखाना परिसरमै रहेको पावर हाउसमा विद्युत उत्पादन गर्ने मेसिन –ईन्जन, ड्यानमो, पावर ग्रीड, कन्ट्रोलर)हरु यथा स्थितीमा रहेका छन् । यी मेसिनहरु अर्बौ रुपैयाँका रहेका छन् । खेर जानुभन्दा प्राविधिक र सम्बन्धित विज्ञबाट चेक जाँच गराएर प्रयोगमा ल्याउनसके बिजुली उत्पादन गर्न सकिने पूर्व कर्मचारी सेठ साहुको भनाई छ ।

प्रयोगविहीन अवस्थामै रह्ने हो भने यस कारखानाका मेसिनहरु एक समयपछि कबाडमा परिणत हुने निश्चय रहेको बताउँछन कारखानाका सुरक्षा ईन्चार्ज तुला खड्का ।

उनका अनुसार नीजि साझेदारीमै लगेर भएपनि यो कारखाना सुचारु भएमा सयौँले रोजगारी पाउनुका साथै राज्यको आम्दानी र राजस्व बढ्नेमा कुनै संका छैन ।

हाल सुरक्षाका निम्ति कारखानामा सात जना कर्मचारी छन्। जेनजी आन्दोलनमा सुरक्षा गार्ड बस्ने भवन र अन्य प्रवेशद्वारमा रहेको भवनमा क्षती पुगेपनि मेसिनहरुमा भने कुनै क्षती पुगेको छैन । ससाना मेसिनका पार्टसहरु चोरी भएपनि मुख्य मेसिनहरु अहिलेपनि यथास्थितीमा पुनः सुचारु हुने पर्खाइमा रहेको छ ।

अहिले बनेको रास्वपा नेतृत्वको सरकारले देशमै रोजगारी सृजना गर्ने प्रतिवद्धता जाहेर गरेको छ । धनुषावासीहरु जनकपुर चुरोट कारखाना पनि पुनः सुचारु हुने आशामा छन् ।