सरकारी सेवाबाट अवकाश पाएको करिब तीन वर्ष पुग्न लागेछ। लामो समयपश्चात् गत हप्ता व्यक्तिगत कामका सिलसिलामा सरकारी कार्यालयहरू जाँदा मलाई केही अनौठा अनुभवहरू भए। कतिपय विस्मृतिमा गइसकेका कुराहरू मानसपटलमा सजीव भएर स्मृतिमा आए।
पहिले नारायणहिटी दरबार परिसरमा रहेको राहदानी विभाग अहिले त्रिपुरेश्वर सरेछ। नवीकरणका लागि दिएको राहदानी भोलिपल्टै तयार भयो। विभागमा सेवाग्राहीहरूको निकै भीड थियो। विडम्बना, त्यही भीड केही दिनमा त्रिभुवन विमानस्थलमा सर्छ।
राहदानी नपाउन्जेल मानिसहरू खुसी देखिन्छन्, तर विमानस्थल पुगेपछि बिदाइको रुवाबासी चल्छ। विगतमा राहदानी विभागमा काम ढिलासुस्ती भयो भन्दै मन्त्रीहरू नै अनुगमनमा जान्थे, तर अहिले काम फटाफट भइरहेको देखिन्थ्यो।
विशाल भवन, सानो उपयोग :
राहदानी विभागका लागि यति विशाल भवन बनाइएको रहेछ कि त्यसको सम्भार गर्नै कठिन हुने कर्मचारीहरू बताउँथे। माथिल्ला तहका कर्मचारीका कार्यकक्ष त सानातिना खेलमैदान जत्रै रहेछन्; बाहिर ढोकाबाट हेर्दा कर्मचारी नै नदेखिने ! पछि कार्यालय विस्तार होला, तर विगतको आन्दोलनका बेला सरकारी संरचनाहरू ध्वस्त हुँदा स्वास्थ्य मन्त्रालयजस्तो महत्त्वपूर्ण निकाय सिंहदरबारभित्र ‘टिनका बक्सा’ जस्ता क्याबिनमा सञ्चालन भएको देख्दा हाम्रा सरकारी निकायहरू कार्यस्थल व्यवस्थापनमा चुकेको महसुस हुन्छ।
लुइस आई कानको छायाँ :
रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय, जहाँ बसेर मैले करिब ६ वर्ष सेवा गरेको थिएँ, त्यो भवन वास्तुकलाको एउटा उत्कृष्ट नमुना मानिन्थ्यो। विश्वप्रसिद्ध अमेरिकी वास्तुकार लुइस आई कानले डिजाइन गरेको त्यो ऐतिहासिक भवन अहिले ध्वस्त भएको देख्दा मन खिन्न भयो। लुइस आई कान एक प्रतिष्ठित वास्तुकार हुन्, जसले बंगलादेशको राष्ट्रिय संसद् भवन, अहमदाबादको आईआईएम र क्यालिफोर्नियाको साल्क इन्स्टिच्युटजस्ता संरचनामार्फत आधुनिक वास्तुकलामा इँटा, कङ्क्रिट र प्राकृतिक प्रकाशको अनौठो प्रयोग गरी विश्वव्यापी छाप छोडेका छन्।
राष्ट्रिय किताबखाना (निजामती), पुल्चोकस्थित हरिहरभवन र राष्ट्रिय परिचयपत्र लिन सिंहदरबार प्रवेश गर्दा मेरा पुराना स्मृतिहरू ब्युँतिए। हरिहरभवन चन्द्र शमशेरले छोरा शङ्कर शमशेरका लागि वि.सं. १९८२ मा बनाइदिएका थिए, जसको नाम शङ्कर शमशेरका दुई छोराहरू ‘हरि’ र ‘हर’को नामबाट राखिएको हो। वि.सं. २०७२ को भूकम्पले उक्त भवन क्षतिग्रस्त भएपछि परिसरमा ‘प्रिफ्याब’ भवनहरू बनाइएका थिए।
वि.सं. २०७३ मा म आफैँ सामान्य प्रशासन सचिव हुँदा ती भवन निर्माणमा मेरो पनि योगदान थियो। निजामती किताबखाना अहिले पनि यथावत् त्यहीँ रहेछ। चैतको महिना भए पनि त्यस दिन काठमाडौँमा ‘गोरु बेचेर राडी पाखी किनेको’ उखान चरितार्थ हुने गरी जाडो थियो। त्यहाँका कर्मचारीहरूको कार्यवातावरण निकै कष्टकर देखिए पनि उनीहरू ‘सिउसिउ’ गर्दै काममा तल्लीन थिए। मेरो काम चाँडै सम्पन्न भयो।
पुराना दरबार र नयाँ प्रशासनिक शैली
महालेखा परीक्षकको कार्यालयको नवनिर्मित भवन सिंहदरबारको उत्तरतर्फ अनामनगरमा परम्परागत र आधुनिक शैलीको प्रतीकका रूपमा उभिएको छ। भूकम्पपछि कष्टकर वातावरणमा काम गरिरहेका कर्मचारीहरूलाई व्यवस्थित कार्यथलो प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको यस संरचनाले ‘सेतो दरबार’ कालीन बन्द र केन्द्रीकृत प्रशासनिक शैलीलाई विस्थापित गरिदिएको छ।
खुला कार्यथलोको अवधारणाले कर्मचारीहरूबीचको सञ्चारलाई सहज बनाउँदै कार्यसम्पादनमा आधुनिक गति प्रदान गरेको छ। भवनको बाह्य सौन्दर्यसँगै कर्मचारीको जिम्मेवारी र मानसिक शुद्धताबीच तालमेल मिलाउन यस भवनको प्रवेशद्वारमा चाणक्यको नीति ‘अथ अर्थानुशासनम्’ लेख्न लगाइएको थियो, जसले वित्तीय अनुशासनको गरिमालाई बोध गराउँथ्यो। “यद्यपि, हाल त्यो सन्देश मेटाइएछ; हर्षकै विषय मानौँ, अब त्यो दर्शन हृदयङ्गम भइसकेछ।”
सिंहदरबारको सुनसान, कर्मचारीमा भय
सिंहदरबार प्रवेश गरेपछि माहोल अनौठो र सुनसान थियो। ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएपछि म पहिलो पटक त्यहाँ प्रवेश गर्दै थिएँ। वर्षौँसम्म बसेर काम गरेको स्थान ध्वस्त भएको देख्दा मन भारी भयो। सिंहदरबार होस् वा अन्यत्र, आगजनी भएका संरचनाहरू पुनःनिर्माण भएका छैनन्। अहिले अधिकांश काम नष्ट भएका अभिलेख वा स्रेस्ता कायम गर्नेमा सीमित रहेछ। नयाँ सरकार बनेपछि सञ्चारमाध्यमहरूको चासो अत्यधिक बढेको छ; सिंहदरबार गेटदेखि सेवाप्रवाहका कार्यालयसम्म कर्मचारीलाई समय र कामबारे प्रश्न सोधिन्छ।
कर्मचारीहरू सशङ्कित र भयभीत देखिन्थे। उनीहरूले दिनभर गरेको कामको विवरण दैनिक तयार गर्नुपर्ने रहेछ। कर्मचारीहरू ‘के काम सम्पन्न गर्ने’ भन्दा पनि ‘आज के गरेँ’ भनेर लेख्ने कुरामा बढी घोत्लिनुपरेको बताउँथे। कार्यालय समय सकिएपछि कर्मचारीहरू सिनेमा हलबाट दर्शक निस्किएझैँ हुलका हुल बाहिरिएका थिए। मानौँ, उनीहरूलाई पछाडिबाट कसैले लखेटिरहेको छ।
सिंहदरबार, बबरमहल र हरिहरभवन तीनै संरचनाहरू राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्मित नेपालका ऐतिहासिक विरासत हुन्। वि.सं. १९६० मा चन्द्र शमशेरले आफ्नो निवासका लागि निर्माण गरेको सिंहदरबारको नाम यसको मूल ढोकामा रहेका भव्य सिंहका मूर्तिहरूबाट रहन गएको हो।
यी दरबारहरूले राणाकालीन युरोपेली वास्तुकलाको प्रतिनिधित्व मात्र गर्दैनन्, बरु दशकौँदेखि नेपालको प्रशासनिक र संस्थागत स्मृतिको आधारस्तम्भका रूपमा सेवा दिइरहेका छन्। यी तीनवटै ऐतिहासिक संरचनाहरू राणाकालीन इन्जिनियर दाजुभाइ कुमार नरसिंह र किशोर नरसिंह राणाको रेखदेख र डिजाइनमा तयार भएका हुन्। उनीहरूले नै नेपालमा युरोपेली वास्तुकला, अर्थात् ‘सेतो दरबारको संस्कृति’, भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
राज्यलाई चाहिने ‘हात्ती स्मृति’
नेपालको इतिहासमा सिंहदरबार दुई पटक भीषण आगजनीको सिकार भयो। वि.सं. २०३० को आगलागीपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले “आफू बस्ने सचिवालय सुरक्षित राख्न नसकेको” भन्दै नैतिक जिम्मेवारी लिएर राजीनामा दिएका थिए, जुन राजनीतिक नैतिकताको उच्च नमुना हो।
यसको विपरीत, वि.सं. २०८२ को आगजनीमा भने प्रधानमन्त्रीले कुनै नैतिक जिम्मेवारीबोधले नभई, ‘जेनजी’ आन्दोलनको चरम दबाब र सामाजिक आक्रोशका कारण बाध्य भएर पद त्याग गर्नुपर्यो। एउटै भवन जल्दा २०३० मा ‘नैतिकता’ देखियो भने २०८२ मा ‘विवशता’। यी ऐतिहासिक धरोहरहरूसँगै संस्थागत अभिलेखहरू समेत ध्वस्त भएकामा हामी सबैलाई पक्कै पनि ठुलो दुःख लागेको छ। अब पुनः यस्ता दिन देख्न नपरोस् भन्ने कामना रहन्छ। यो घटना मानव चेतना र संस्मरणबाट सामान्यतया हट्ने छैन।
मनोवैज्ञानिक हर्मन एबिङगासका अनुसार, हामीले सिकेका कुराहरूको झन्डै ८० प्रतिशत हिस्सा २४ घण्टाभित्रै बिर्सन्छौँ। गहिरा भावनात्मक घटनाहरू जीवनभर याद रहे पनि सामान्य कुराहरू मस्तिष्कले हटाउँदै जान्छ। हामी वि.सं. २०३० को आगलागी, २०७२ को भूकम्प, कोरोना महामारी र २०८२ को Gen Z आन्दोलन कदापि बिर्सने छैनौँ।
अहिले सिंहदरबार र देशैभरिका संरचनाहरू आगजनीमा पर्दा कतिपय संस्थागत स्मृति समेत समाप्त भएको छ। प्राणी जगत्मा हात्तीलाई सबैभन्दा तीव्र स्मरणशक्ति भएको प्राणी मानिन्छ। यस्तो बेला राज्यका संयन्त्रहरूमा हात्तीको जस्तै तीव्र स्मरणशक्ति र धैर्य आवश्यक छ।




