काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको खेलकुद विकास बोर्डले दोस्रो बुढानीलकण्ठ नगर खेलकुद शिल्ड–२०८३ आयोजना गर्ने भएको छ। स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै नगरभित्र खेलकुद क्षेत्रको समग्र विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।
नगर खेलकुद विकास बोर्डका उपाध्यक्ष दिपक तामाङका अनुसार प्रतियोगिता २०८३ साल वैशाख ११, १२ र १३ गते सञ्चालन हुनेछ। प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटै वडाबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगिताअन्तर्गत फुटबल, बास्केटबल, ब्याडमिन्टन, ई–स्पोर्ट्स (पब्जी), तेक्वान्दो, कराते, फुटसल र वुसु विधामा प्रतिस्पर्धा हुनेछ। साथै, विशेष आकर्षणका रूपमा मुवा थाई र तेक्वान्दो प्रदर्शन तथा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।
उपाध्यक्ष तामाङले यस प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुका साथै नगरभित्र खेलकुदको वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार यस्ता प्रतियोगिताले युवालाई सकारात्मक दिशातर्फ अग्रसर गराउँदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत सहयोग पुर्याउनेछ।
उनले सबै खेल विधाका प्रथम, द्वितीय र तृतीय हुने विजेतालाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिने जानकारी दिए। प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ५ हजार रुपैयाँ रहेको छ, जसले खेलाडीमा थप उत्साह र प्रेरणा जगाउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टोलीहरूले २०८३ साल वैशाख ६ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा सहभागी सबै खेलाडीलाई टी–शर्ट र जर्सी समेत उपलब्ध गराइनेछ।
नगरस्तरीय यस प्रतियोगिताले खेल संस्कृतिको विकास, प्रतिभाको पहिचान तथा स्वस्थ, अनुशासित र ऊर्जाशील समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



