🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रमुख सेनानी दिवाकर खड्का प्रधानमन्त्री निवास, बालुवाटारको सुरक्षा कमाण्डरकाे बयानमा के छ ?

भदौ २३ गते म प्रधानमन्त्री निवासमै उपस्थित थिएँ र उक्त दिन सो स्थानको सुरक्षा स्थितिमा कुनै असामान्य समस्या उत्पन्न भएन। भदौ २४ गते बिहानसम्म प्रधानमन्त्री निवास क्षेत्रको अवस्था सामान्य नै थियो । यद्यपि, बाहिरी क्षेत्रमा अनियन्त्रित प्रदर्शन भइरहेका खबरहरू प्राप्त भइरहेका थिए।

करिब १४:०० बजेतिर प्रदर्शनकारीहरू बालुवाटारतर्फ अगाडि बढ्दै आएको सूचना प्राप्त भयो। करीब १४:३० बजेसम्म प्रधानमन्त्री निवासको बाहिरी घेरामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आन्दोलनकारीहरूलाई रोक्ने प्रयास गरिरहेका थिए, तर भिडको आकार र आक्रोश बढ्दै गएकाले स्थिति थप संवेदनशील बन्दै गएको जानकारी प्राप्त भयो।

यसैबीच, चेन अफ कमाण्डमार्फत सुरक्षा जोखिमको मूल्याङ्कन गर्दै १४:५५ बजे प्रधानमन्त्रीज्यूको जीवन र सुरक्षालाई उच्च प्राथमिकतामा राखी उहाँलाई नेपाली सेनाको हवाई साधन प्रयोग गरी सुरक्षित स्थानतर्फ उद्धार गर्ने निर्णय कार्यान्वयन गरियो। यो निर्णय पूर्ण रूपमा SOP, सुरक्षा कार्यविधि र माथिल्लो निकायसँगको समन्वयमा गरिएको थियो।

प्रधानमन्त्री निवासको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच आ-आफ्नो कार्यविधि अनुसार निरन्तर समन्वय र सहकार्य हुँदै आएको थियो। २४ गते पनि सबै सुरक्षा निकायले आफ्नो जिम्मेवारी अनुसार प्रधानमन्त्री निवासको मुख्य गेट, वरपरका सडक र सुरक्षा घेरामा ड्युटी सम्हालिरहेका थिए। प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीज्यू रहुञ्जेलसम्म सम्बन्धित निकायहरूले भिडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा राख्न प्रयास गरेका थिए।

प्रधानमन्त्री निवास क्षेत्रमा नेपाली सेनाबाट न अश्रुग्यास प्रयोग गरिएको थियो न त हवाई फायर नै। सेनाको भूमिकाले मुख्यतः सम्झाई-बुझाई, संयमता र भित्री घेराको सुरक्षामा केन्द्रित रही काम गरेको थियो। बाहिरी घेरामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अत्यधिक अनियन्त्रित भिडका कारण केही पछाडि हट्नुपरेको अवस्थामा प्रधानमन्त्री निवासको बाहिरी घेराको केही भागमा क्षति पुगेको हो। तथापि, प्रधानमन्त्री निवासको मुख्य संरचना, निवास भवन, नयाँ सचिवालय भवन, सवारी साधन तथा अन्य महत्वपूर्ण भौतिक संरचनाहरू पूर्ण रूपमा सुरक्षित रहेका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल करीब १४:४५ बजेतिर बाहिरी घेराबाट पछाडि हटेको देखिए तापनि, नेपाली सेनाको टोली भने प्रधानमन्त्रीज्यूको उद्धारमा संलग्न टोली बाहेक सबै आफ्नो-आफ्नो कार्यस्थलमै तैनाथ रहेका थिए। कुनै अनुशासनहीनता वा ड्युटी त्याग भएको छैन।

प्रधानमन्त्रीज्यूको उद्धारपछि पनि नेपाली सेनाले भित्री घेरामा रहेका विशिष्ट व्यक्ति, भवन, सवारी साधन र अन्य भौतिक साधनहरूको सुरक्षा निरन्तर रूपमा कायम राखेको थियो। सम्पूर्ण कारबाही चेन अफ कमाण्ड अनुसार युद्ध कार्य विभागसँग समन्वय गरी, प्राप्त निर्देशन र SOP बमोजिम सम्पन्न गरिएको हो।

भदौ २४ गतेको घटनाक्रममा तीनवटै सुरक्षा निकायबीच पूर्ण समन्वय नभएको भन्ने आरोपको सन्दर्भमा मेरो बुझाइ फरक छ। सामान्य अवस्थामा सुरक्षा निकायहरूबीच समन्वय हुँदै आएको थियो तर अत्यन्त ठूलो र अनियन्त्रित भिड बाहिरी घेराबाट भित्र छिरेपछि परिस्थिति आकस्मिक रूपमा जटिल बनेको हो, जसलाई नेपाली सेनाको टोलीले भित्री घेरामा नियन्त्रणमा लिएको थियो।

अन्त्यमा, भविष्यमा प्रधानमन्त्री निवास जस्तो अति संवेदनशील VVIP क्षेत्रको सुरक्षा अझ प्रभावकारी बनाउन एउटै सुरक्षा निकायलाई समग्र जिम्मेवारी दिने स्पष्ट व्यवस्था उपयुक्त हुने मेरो निष्कर्ष छ। विभिन्न सुरक्षा निकायका फरक-फरक SOP, हातहतियार, उपकरण र चेन अफ कमाण्डका कारण संयुक्त रूपमा कार्य सञ्चालन गर्दा व्यवहारिक कठिनाइ देखिएको अनुभवका आधारमा, एकल कमाण्ड प्रणालीले सुरक्षा व्यवस्था अझ सुदृढ र प्रभावकारी हुने विश्वास व्यक्त गर्दछु।
(२०८२ भदौ २३ र २४ गते घटनाका सम्बन्धमा गौरी वहादुर कार्की नेतृत्वमा गठित छानबिन आयोगको प्रतिवेदनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *